२०८१ मङ्सिर १७ गते सोमवार

कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्यो – पोखरेल

काठमाण्डौ,बैशाख १३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन ।

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव पोखरेलले कांग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताए ।

उनले पालिका चुनावमा सत्तारुढ दलहरूले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले देशको सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको जिकिर गरे ।
उनले सत्तारुढ दलहरूले पालिका चुनावमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताए ।

महासचिव पोखरेलले भने, ‘नेकपा एमालेसँग सत्तारुढ दलहरूले एक्लै चुनाव लड्ने आँट गरेनन् । नेपालको सबैभन्दा पुरानो पार्टी भन्ने नेपाली कांग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ । उसले चुनाव लड्नका लागि पनि अरूको सहारा खोज्नुपर्छ भन्ने कुरा स्पष्ट भएको छ । अब नेपालमा सबैभन्दा ठूलो पार्टीको रूपमा, राष्ट्रिय शक्तिको रूपमा एमाले आएको छ भन्ने कुरा यो चुनावले स्थापित गरेको छ ।’

महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लङ्घन गर्ने नेताका रूपमा माधवकुमार नेपाल रहेको टिप्पणीसमेत गरे । उनले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि बताए ।

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *