२०८१ चैत्र ४ गते सोमवार

विष्णु पौडेल छाडेर शंकर पोखरेलतिर लागेपछि बाबुरामले पाए टिकट

बुटवल,बैशाख ११ । राष्ट्रिय राजनीतिमै प्रभाव पार्नसक्ने बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि बाबुराम भट्टराईले एमाले उपाध्यक्ष विष्णु पौडेलको साथ छाडेर महासचिव शंकर पोखरेलको साथ लिएपछि टिकट पाएका छन् ।

यसअघि भट्टराई नेता पौडेलसँग निकट थिए । पार्टीमा महासचिव पोखरेल प्रभावशाली र उपाध्यक्ष पौडेल कमजोर बन्दै गएपछि भट्टराईले पौडेलको साथ छाडेर पोखरेलसँग नजिक भएपछि टिकट हात पार्न सफल भएको एमाले नेताहरु बताउँछन् ।

मेयरको टिकटका लागि हालका मेयर शिवराज सुवेदी, उपमेयर गोमा आचार्य, विष्णु पौडलका निकट गोपाल राना, पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसी लगायत आकांक्षी थिए । नगर समितिले यीसहित ८ जनाको नाम सिफारिस गरेको थियो ।

शिव सुवेदीको कार्यकाल सफल नभएको विश्लेषणसहित उनलाई नदोहोर्‍याउने पार्टी नेतृत्वको संकेत पाएपछि सुवेदी पनि आफूले नपाए गोपाल राना भन्दा भट्टराईको पक्षमा उभिएका थिए । सुवेदी पनि महासचिव पोखरेल खेमाका हुन् ।

विष्णु पौडेलले रानालाई टिकट दिलाउन चाहे पनि यसअघि आफ्ना स्वकीय सचिव यम पाण्डेलाई बुटवल नगर अध्यक्ष बनाउन प्रयास गर्दा असफल भएको घटनाले यसपटक रानाको पक्षमा जोडबल गर्न नसकेको एमालेका एक कार्यकर्ताले बताए ।

‘यसपटक बुटवलको मेयरको टिकट वितरणमा महासचिव शंकर पोखरेल र सचिव छविलाल विश्वकर्मा हावी भए,’ एमालेका ती कार्यकर्ता भन्छन्, ‘उपाध्यक्ष पौडेलको आफ्नै गृहनगरमा केही लागेन ।’

मेयरका उम्मेदवार भट्टराईको राजनीतिक भन्दा व्यावसायिक पहिचान फराकिलो छ । राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईका भाइ बाबुराम पारिवारिक हिसाबले भने २०३६ सालदेखि नै राजनीतिमा जोडिएको बताउँछन् ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ विर्घामा २०१७ सालमा जन्मिएका भट्टराईको परिवार उनी सानो छँदै बुटवलको कालिकानगरमा बस्न थालेको थियो । कालिकानगरमा उनको परिवारको १५ कठ्ठा जग्गासहित घर थियो । उनको घर तत्कालीन मालेका नेताहरु आएर बस्ने सेल्टर भएकाले ८ कक्षा पढ्दादेखि नै राजनीतिमा जोडिएको बाबुराम बताउँछन् । सीएमए र ब्याचलर इन नेचुरोथेरापी अध्ययन गरेका भट्टराई २०५६ सालसम्म सरकारी जागिरे समेत थिए ।

पारामेडिकल एशोसिएसन रुपन्देही अध्यक्ष, औषधि व्यवसायी संघ लुम्बिनी र केन्द्रीय अध्यक्ष भइसकेका बाबुराम निजी लगानीको क्रिमसन अस्पताल र क्रिमसन कलेजका लगानीकर्ता तथा भृकुटी विकास बैंक ९हाल एनएमबी बैंक० का संस्थापक लगानीकर्ता हुन् । उनको लगानीमा दुई वटा औषधि उद्योग पनि सञ्चालित छन् ।

२०६१ देखि ६३ सम्म लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष रहेका उनी रोटरी क्लबमा पनि आवद्ध छन् । एमाले रुपन्देहीका पूर्व जिल्ला सदस्य, एमालेको केन्द्रीय स्वास्थ्य विभागका सदस्य समेत रहेका भट्टराई अहिले पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

भट्टराईले २०६२र६३ सालको जनआन्दोलनमा बुटवलमा सात दलले स्थापना गरेको आकस्मिक राहत कोषको संयोजक भएर पनि काम गरेका थिए । ‘बाबुरामको मुख्य पहिचान व्यावसायिक नै हो, राजनीति सहायक हो,’ उनलाई नजिकबाट चिन्ने बुटवलका एक मतदाता भन्छन् ।

बुटवलको मेयर पदमा कांग्रेसले खेलराज पाण्डेलाई टिकट दिने निश्चित जस्तै छ । त्यसैले अब भट्टराईको प्रतिस्पर्धा पाण्डेसँगै हुने छ । यसअघिको निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए ।

यसअघि पनि नेपाली कांग्रेसबाट पाण्डे नै उम्मेदवार थिए । सुवेदीले पाण्डेलाई २४ सय मतान्तरले पराजित गरेका थिए ।

यसपटक एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको छ । तर एमाले विभाजित भएको र ५ दलीय गठबन्धन बनेकाले यसपटक भट्टराई र पाण्डेबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । बुटवलमा २०७४ सालको निर्वाचनयता २४ हजारभन्दा बढी मतदाता थपिएर ९० हजार ६५ मतदाता छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *