२०८१ असोज २४ गते बिहिवार

पछुतो


सिन्धु खड्का
वनमा दाउरा लिन गएकी म त्यो दिन सबै भन्दा अग्लो पहाड उक्लिए । जति स्वास फुलेपनि टुप्पोमा पुग्न मेरा गोडाहरु निकै आतुर थिए । संगै गएका गाउँले केही मुन्तिरै थिए । टुप्पामा पुगेपछि मैले समथर दाङ उपत्यका नियाले । गलैंचा जस्तै पँहेलपुर तोरीले मन रोमाञ्चित बन्यो । मन माहुरी जस्तै ती फूलहरुमा बिचरण गर्न थाल्यो ।

बालापन ताजगी बन्यो । मम्मी लुगा धुन बबई नदी जाँदा छेउछाउ किनारमा म डुबल्की लगाइ रहेकी थिए । मम्मी भन्नु हुन्थ्यो ‘नानी बाहिरै बाट नुहाउन, त डुबी हालिस भने ?’ मम्मी दौडिएर मलाई पाखा तान्थिन ।

अपबाद बाहेक संसारमा सञ्तानका लागि आमा जत्ति माहान को नै छ र ?
एक दिन बगरमा दौडिदा ‘निलकाँडा’ मेरो खुट्टामा बिझ्दा उहाँ कत्ति आत्तिनु भएको थियो । मलाई काखमा राखेर एक कदमपनि अगाडि सार्न दिनुभएन । माछा मार्न गएकालाई ‘बेलको काँडा’ ल्याउन लगाई मेरो पैंतालाको काँडा झिकेर मात्रै उहाँले लामो स्वाँस फेर्नु भएको थियो । मानौं त्यो काँडा मलाई हैन उहाँलाई नै बिझेको थियो ।


काँडा झिकेर सकेपछि उहाँले ध्वार्रै आफ्नो धोतिको सप्को च्यात्नु भाथ्यो । मेरा खुट्टा त्यसैले बाँध्नु भाथ्यो । मलाई पैदल हिड्नसम्म दिनु भएन । धोएका कपडा र भाँडा वर्तन संगै काँधमा बोकेर मलाई घर पु¥याउनु भएको थियो ।

घरमा मुखले फुफू गर्दै तेल, बेसारको लेप लगाएपछि बोकिरहनु भयो । त्यो दिन भर उहाँले मलाई पिठ्यूमा बोकेरे सम्पूर्ण काम गर्नु भएको भुलेकी छैन ।


दाउरा, गुइठाको आगो नबलेर पुत्याएको धुँवाले निसास्निे र आँखा पीरा भइ सक्दापनि मम्मीको प्यार र जिद्दीको अगाडि मेरो केही उपाय थिएन । बाबा र दादाले पनि उत्तिकै माया गर्थे । म संसारकै भाग्यमानी छु, भनिठान्थे ।


सबैको लाड प्यारले पुल्पुलियएकी मलाई त्यो काँडा बिझेपछि तीन दिन विद्यालय नै जान दिइएन । नाम चलकै बोर्डिङ स्कूलमा हामी पढ्थिम । तर, त्यतिखेर अहिले जस्तो गाउँ गाउँमा बिद्यालयका बसहरु जाँदैन थिए । आँफै हिडेर विद्यालय पुग्नु पथ्र्यौ ।


झन्डै आधा घन्टा जस्तो बिद्यालय पुग्न लाग्थ्यो । त्यो बीचमा बाबाले भाले काट्नु भयो, घरमै लोकल कुखुराका अण्डा बनाएर दिनहुँ जसो ख्वाउनु भयो । ती तीनै दिन रातिमा सुत्दापनि मम्मीले मलाई छातिमै टाँस्नु भाथ्यो । आँफुले मुखमा चपाएर खाना खुवाउनु भो ।


भैंसीको दूध, तर, घिउ त संधै जस्तै मेरै लागि हुन्थे । स्कूल जाँदा टिफिन बक्समा पनि बढी मेरै हुन्थ्यो । कहिले काँही दादाले आरिस गथ्र्यौ । ‘संधै यस्लाई मात्रै तर दिने, म सञ्तान हैन’ भनेर ठुस्किन्थ्यो । त्यस्तोमा मैले उस्लाई अर्कौ कोठामा बोलाएर सुटुक्क एक पटक तर घुटाइ दिन्थे । त्यत्तिमा उ खुसी हुन्थ्यो । उस्को सानो कुरामा रमाउने र पुल्किने बानी जो थियो । बहिनीको तर खाइ दिइसकी ? भनेर मम्मी, बाबाले सोध्थे । तर, दादाले कसैले थाहाँ नपाउन भनेर लामो कमिज भएको सर्टको बाउलाले मुख पुछपाछ पारि सक्थ्यो ।


मध्यमबर्गीय परिवार । खानलाई पुगेर बेच्ने धान,तोरी, मसुरो, चना जस्ता अन्न तथा नगदेबाली प्रसस्तै आफ्नै जग्गामा उत्पादन हुन्थ्यो । खर्च दाजु बहिनीको पढाइ बाहेक अरुथोक थिएन । कुखुरा, खसी, बाख्रा बेचेकै पैंशाले मज्जाले स्कूले खर्च टरि हाल्थ्यो । सक्दो श्रम मम्मी बाबा दुबैले गर्नु हुन्थ्यो ।
हाम्रो सानो र सुखी परिवार हाँसी खुसी चलिरहेको थियो ।

कुनै कुराको अभाव थिएन । न धेरै ठूला सपना नै थिए । आफ्नो पौरखमा बाँच्ने बाबा, मम्मीमा उस्ले वा अन्य कसैले केही गरिदेला भन्ने कुनै आशा थिएन । कसैका प्रति कुनै आशा नभए निरासा छाउने कुरै आउँदैन थियो । उहाँहरुको सपना भनेकै हामी दाजु बहिनीलाई धेरै पढाउने र असल नागरिक बनाउने भन्दा अर्थोक थिएन ।


तर, मलाई त्यही समय जवानीको भेलले बगायो । कलिलै उमेरमा मन बरालियो । बिहेपछि आज दुर्गम गाउँमा कष्टकर जीवन बाँची रहँदा बालापनको स्मृतिले लखेटी रहन्छ ।

आज लाग्छ – मैले बाबा , मम्मीको सपना माथि मात्रै हैन मेरै भविश्यपनि अन्धकार सुरुङ भित्र धकेलेकी रहेछु । मेरो अनुभवले भन्छ – आँफु आफ्नै खुट्टामा उभिने भइ सकेपछि र परिपक्व उमेरमा मात्रै घरजम गर्नु उपयुक्त हुन्छ ।
यो लेख एक जना अन्टीले शेयर गरेको कुराका आधारमा लेखिएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *