२०८१ बैशाख १० गते सोमवार

आखिर अत्याचार कहिले सम्म ?

–विशाल गुप्ता,
ठेलागाडा चलाउनु चानचुने कुरा होइन । विहानै झिसमिसेमा उठेर साँझ अबेरसम्म सडक र गल्लीको धुलो खानु, हज्जारौ मान्छेको भीडमा आफूलाई बचाएर परिवारको हातमुख जोर्नु आफैमा कठिन कार्य हो । हो, ठेला व्यापारी एक सामान्य व्यापारी हो ।

ठेला उसको दैनिकी हो । दैनिकी उसको रोजीरोटीसंग जोडिएको हुन्छ । उसका हरेक सपनाहरु त्यही ठेलासंग जोडिएका हुन्छन् । तैपनि, उ हरेक दिन हतारमा हुन्छ । हतार हतारमा दैनिक घरबाट निस्किनु उसको बाध्यता र विवशता हो । उसलाई थाहा छैन देशको असली ठेगाना ।

उसलाई थाहा छैन विभिन्न राजनैतिक दस्तावेजका ठेलीहरु । केवल उसलाई यतिमात्र थाहा छ कि उसको रोजीरोटीमा कहीँकतैबाट दख्खल भयो भने साँझ उ भोकै बस्नु पर्नेछ । अनि उसका परिवारको आँखामा उसले आँसु देख्नु पर्नेछ ।
हरेक विहान सडकमा निस्किएर ठेला गुडाउने ठेलावाला गल्ली गल्ली खोजेर शहरको भोक वेच्छ पानीपुरी, फलफुल र सब्जीहरुको साथमा ।

आफ्नै जीन्दगीको आयतन नाप्न नसकेको ठेलावालाले कहाँको राजनैतिक घुसपैठ बुझ्न सक्ला ? तर, विडम्बना ! ठेलामाथि यहाँ राजनिती भइरहेको देखिन्छ । राजनीति समाजलाई सही दिशादिनको लागि गरिनुपर्छ । तर, समाजलाई नै अस्तव्यस्त बनाउने राजनितीले भोलिको भविष्य कतातिर जाला ?

बर्षौभयो यो सडकमा ठेला लगाउन थालेको । उसले यहाँका हरेक घरहरु नियालेको छ । उसले यहाँका हरेक मान्छेको मनलाई पढ्न सकेको छ ।

उसलाई विश्वास छ कि म ढुक्कसंग मेरो व्यापार व्यवसाय गर्न सक्छु । तर, गर्दै आएको रोजीरोटीमाथि एक्कासी कसैले लात हानिदियो भने कसरी सहन सकिएला ? भोक मेटिए पछि ग्राहकले विर्सिए जस्तो अचेल चिन्दैन यो सडकले । सडक सुनसान छ ।

ठेला व्यवसायीहरु आन्दोलित बनिरहेका छन् । कहिले गल्लीको भोक मेट्ने , कहिले महलका स्वाद मेट्ने ठेलावालालाई चिन्दैन कुनै अखवारले र समाचारले पनि । थाहा छैन उसलाई भोलिको भविष्य कस्तो हुने हो ।

वेरोजगारी र वैदेशिक रोजगारीको हेडलाइन बोकेर कति अखबार आउँछन् उसको ठेलागाडामा । तर, उसको दुखेसो कसैले सुन्न सकेको देखिदैन । उसलाई ति अखबारका पानाहरु कुनै काम लाग्दैनन् । केवल पानीपुरी र वदामका खोस्टा राख्नु सिवाए अरु कुनै काम छैन अखबारको । आफै भोकभोकै मर्नु परेपछि मात्र थाहा हुन्छ भोकको ज्वाला कति खतरनाक हुन्छ भनेर ।

एकातिर विकास र समृद्धिका नाराहरु लागिरहेका छन् अर्कोतिर रोजगारलाई वेरोजगारी बनाउन खोजिदैछ । यो कस्तो न्याय हो ? पाइतलाभरी फैलिएको सडक नै उसको घर हो ।

त्यही घर नै अचेल उसको लागि धराप बन्दै गएको छ । उसको देश भन्नु नै पाखुरीको वलमा चलाएको ठेलागाडा हो । उ त्यही ठेलामा निदाउँछ । त्यही ठेलामा विऊँझिन्छ । उसको जीन्दगीले गरेको दुखको हिसाव किताव उसले समयसंगै खोज्नु के मुर्खता हो ?

प्रसङ्ग तुलसीपुर उपमहानगरपालिकाभित्र जफत गरेर राखिएका ठेलागाडा र ठेलाव्यापारीहरुको हो । तुलसीपुर बजारका चोकचोकमा राखिएका ठेलागाडाहरुलाई उपमहानगरपालिकाले बर्षौदेखि जफत गर्ने काम गरिरहेको छ ।

एकातिर जफत गरेर आफ्नो वहादुरी देखाइरहेको नगरपालिकाले त्यसको उचित व्यवस्थापन पनि गर्न जान्नुपर्छ भन्ने कुरा विर्सिदै आएको छ । जवसम्म व्यवस्थापन हुँदैन तवसम्म यो क्रम चलिनै रहन्छ । कसैको रोजीरोटी बन्द नै गरिदिनु जायज कुरो होइन ।

उनीहरुले बर्षौदेखि गरिआएका कामहहरु एक्कासी बन्द हुँदा विरोध हुनु स्वभाविक पनि हो । तर, त्यो विरोध के का लागि भन्ने कुरा स्थानीय निकायले बुझ्न सक्नु पर्छ । कसैलाई पनि बाटो मिचेर आफ्नो व्यपार व्यवसाय गर्न रहर हुँदैन ।

सरकारले त्यसको उचित व्यवस्थापन गरेर सही निकास दिनसक्यो भने पक्कै पनि त्यो गल्ति दोहरिदैन । आलटाल र अटेरी गर्नेको ठेला जफत गरिनु पर्छ । तर, त्यो कतिदिनसम्म चल्छ ? कुनै न कुनै दिन उसले सडकमा ठेला लगाउन शुरु गर्छ । जवसम्म कानुन बनाएर त्यसलाई सहि निकास दिन सकिदैन तवसम्म उनीहरुको रोजीरोटीमाथि लात हानेको ठहर्छ । एकातिर ठेलागाडा जफत गरेर ल्याए पनि उपमहानरपालिका संग जफत गरेका ठेलागाडा राख्ने ठाउँसमेत छैन ।

तुलसीपुर बजारका चोकचोकमा राखिएका ठेलागाडालाई सामान जफत गरेको हप्तौ दिन वितिसक्दा पनि ती व्यापारीहरुलाई बोलाएर नगरपालिकाले फिर्ता दिन सकेको छैन । ठेलागाडामा भएका सुन्तला, टमाटर, प्याज लगाएत सामानहरु कुहिन थालेका छन् । अर्कोतिर , ति सामानहरुको लेखाजोखा समेत गरिएको छैन ।

उपमहानगरपालिकाले बजार कुरुप हुने गरेर गरिएका ठेला व्यवसायीलाई उचित व्यवस्थापन गर्ने भन्दै पटक पटक सामानहरु जफत गरेता पनि ठोश निर्णय र उचित व्यवस्थापन गर्न नसक्नु कहाँसम्मको लाजमर्दो कुरा हो । कुकुर विरालाको खेल खेल्दै जाँदा बन्द कोठामा थुनिएको विरालाले निकास पाउन सकेन भने बाध्य भएर जे पनि गर्नसक्छ ।

यसतर्फ सम्बन्धित निकाएको समयमै ध्यान जान सकेन भने भोलिको अवस्था विकराल वन्न सक्छ । सबैलाई चेतना भया !

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *