दाङ, असार १४। ‘सवैभन्दा बढी नालायक सरकारी सेवा छ भने त्यो विद्युत सेवा होला, नो लाइटमा नो रिसिभ, आज पनि भात पाकेन राइस कुकरमा,’ यस्तै कुरा फतफताउँदै समृद्धि राइस कुकरबाट आधा पाकेको चामल भनौकि भात प्रेसर कुकरमा खन्याउँदै थिइ ।
एकातिर भात नपाकेको समस्या, अर्कोतिर दुवै कुकर माझ्न्पर्ने समस्या । भात कतै काँचो थियो, कतै गिलो थियो, कतै आधा पाकेको…।
परार शाल किनेको यसुडा कम्पनीको राइस कुकरमा लगातार एक साताभर भात कहिल्यै पाकेको छैन । ‘पौने घण्टा सम्मपनि लगातार बत्ति आएर भात पाकेको मैले अड्कल नै गर्न सकेकि छैन’, समृद्धि एक्लै गनथन गरिरहेकी थिइ । आफ्नै परिवारका कति सदस्यको फोन नम्बर उसलाई मोवाइलमा हेर्नुपर्छ । तर, नो लाइटको फोन नम्बर कन्ठै छ । आँफै बुझ्नुहोस, उनले नो लाईटलाई कति फोन सम्पर्क गर्छिन होला ? तर, नो लाइटको फोन उड्ने भा पो …।
परार शाल विद्युत प्राधिकरणका सिईओ कुलमान घिसिङले दाङमै आएर अव नेपालमा विद्युतको समस्या छैन, लोडसेडिङको समस्या टरेको छ, विद्युत खपत कसरी बढाउने भन्ने मात्रै चिन्ता हो भनेपछि समृद्धिकै जोडवलमा एसुडा कम्पनीको राइस कुकर परिवारले किनेका थिए ।
राइस कुकर जसको तस छ । खुवै टिकेको छ, भनौं न । कारण विद्युत अनियमितताका कारण त्यसलाई धेरै प्रयोग गर्न पाउने भए पो । नखाउ ंभने दिन भरीको शिकार, खाँउ भने …को अनुहार भन्ने उक्ति जस्तै भएको छ, आज संबृद्धिलाई एसुडा प्रेसर कुकर ।
वल्ल तल्ल जोडेको वाइफाई चलेन । बत्ति गएपछि माथिल्लो तलामा अनलाइन क्लास लिंदै गेको छोरा सक्षम भतभतायो । वावा, बत्ति गयो, डाटा चलाउनका लागि पंैसा चाहियो । हो अनलाइनपनि नियमित भएको छैन । एक महिना भो वाइफाइ जोडेको, तर एक साता पनि दिनभर सेवा पाएको छैन, छोरोले । कारण बत्ति नियमित भए पो । सक्षम जस्ता कतिलाई असक्षम बनइ दिएको होला, विद्युतको अभावमा अनलाइन कक्षा नचलेर ।
विद्युतको अभावमा विद्यार्थी मात्र अनलाइन कक्षाबाट सम्पर्क विहीन हुंदैनन्। पटक÷पटक बत्ति जाँदा शिक्षकहरु समेत यही समस्याले कक्षा चलाउँदा चलाउंदै सम्पर्क विहीन हुने अवस्था आउँछ । के सरकारले सवैलाई ल्यापटप र फ्रि डाटा प्याकेज उपलव्ध गराउने हैसियत राख्न सक्छ ? सरकारले अनलाइन कक्षा चलाउनका लागि यो आर्थिक बर्ष पनि थुप्रै बजेट विनियोजन गरेको छ ।
सामुदायिक विद्यालयमा समेत अनिवार्य रुपमा अनलाइन कक्षा चलाउने सरकारको योजना छ । सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जोड्ने र कम्प्युटर उपलव्ध गराउने सरकारको योजना छ । करोडौं रुपैया यसमा विनियोजन गरेर के गर्ने ? विद्युत सेवा नियमित हुनुप¥यो नि ?
बत्ति बाल्नेले मात्रै कति बत्ति आउने जाने गर्छ भन्ने तितो यथार्थ भोगेको हुन्छ । झ्याप्प झ्याप्प …
इन्भर्टर र जेनेरेटरको विकल्प मुनिका सरकारी अधिकारीहरुलाई दुरदराजमा विद्युत कथा कस्तो छ भनेर के थाँहा ?
विद्युत खपत बढाएर इन्धन खपत घटाउन सके मुलुकको धेरै रुपैंया विदेश जाने थिएन । व्यापार घाटाको सन्तुलनमा सुधार हुन सक्थ्यो । तर, विद्युत सेवाले सरकारको आर्थिक समृद्धिको यो लक्षलाई गम्भीरतापूर्वक सम्वोधन गर्न सकेन । कमिसनको चक्करमा लाग्दा तामाको तार भनेर खरिद गरिएका विद्युतका तार एल्मुनियमका हुन्छन्, अनि अख्तियारको कारवाही सुरु हुने नै भयो ।अविरल बर्षात, अनियमित विद्युत, गड्याङगुडुङ झ्याप्प झ्याप्प, चट्याङ परेपनि झ्याप्प, पोल ढले त दूई दिन सम्मै कुर्नुपर्छ बत्ति आउनका लागि ।
जिंगटका हाँगा काट्नैका लागि दिनभर बत्ति काटिन्छ, । बत्ति कहिले आउँछ ? भनेर सोध्यो भने कहिल्यै विद्युतका रिसेप्सनिष्टले जिम्मेवारीपूर्वक जवाफ दिंदैनन् । वनावटी अर्थात रेकर्डेड जफाफ जस्तै दिन्छन्। ‘बनेपछि आउछ.’..। कँहा के समस्या भएर बत्ति गएको हो ? कति समयपछि आउँछ ? भनेर कहिल्यै विद्युत प्राधिकरणले जवाफ दिनु नपर्ने ? यो म आफैले अनुभूत गरेको विषय हो । नियमित सेवा कहिले ? योजना विहिन छ, विद्युत कार्यालय ।
नँया बोतलमा पुरानै रक्सी समान लाग्छ, विद्युत सेवा । जिल्ला विकास समितिको बार्षिक समिक्षा कार्यक्रममा होस वा जिल्ला समन्वय समितिले आयोजना गरेका बार्षिक समिक्षा कार्यक्रममा बार्षिक कार्यसम्पादन र योजनासहित उपस्थिती नजनाउने विषयगत कार्यालय भनेकै विद्युत कार्यालय हो । तैपनि यसको कारण कहिल्यै खोजिएन ।
सडकको राइटअफ वे मै विद्युत पोल गाडिन्छन् । टिप्पर र यात्रुवाहक बस पोलमै ठोकिदा विद्युत सेवा अवरुद्ध हुन पुग्छ । झिंगटको रुखमामाथिबाट तानिएका विद्युत तारलाई हरेक बर्ष हाँगाले छोई दिन्छ । विद्युत सेवा दिनभर अवरुद्ध । वगरको वालुवामा एक मिटर भन्दा पनि कम गहिराइमा गाडिएका विद्युत पोल सिमसिमे झरिले ढाली दिन्छ अनि विद्युत सेवा अवरुद्ध । वेलगामको कार्यालय, अनुत्तरदायी काम, दण्डको त्यँहा परिकल्प्नानै हुंदैन कि ? त्यसैले विद्युत क्षेत्रमा कामगर्ने ठेकेदारहरु पनि त्यस्तै प्रबृत्तिका भएका हुनुपर्छ । जहाँ जस्को जग्गा परेपनि भो, जस्को घरको छतमाथि हाइटेन्सनको तार पुगेपनि पुगोस, तर काम सकेर सम्पर्क बिहिन भइदिन्छन्, विद्युतका ठेकेदार । कार्यालयको सोझो जवाफ हुन्छ, त्यो त ठेकेदारले विगारेको हो नि ।
यस्तै प्रबृत्तिसहित चलेको विद्युत सेवाबाट सेवाग्राही आजित छन् । नागरिक समाजका यसअघिका संयोजक चन्द्रराज पन्त भन्छन्, ‘नियमित विद्युत सेवाका विषयमा अझैसम्म पनि ढुक्क हुने अवस्था रहेन, यो राज्यकै लागि दूर्भाग्यको विषय हो ।’ उनले यति भन्दा नभन्दै फेरि झ्याप्प बत्ति गयो । लेख्दालेख्दै म रोकिन बाध्य भए ।