२०८१ पुष २९ गते सोमवार

महामारी जस्तै नेपाली किसानका लागि कृषि बजार निरुत्साहित गर्ने थलो बन्दै

अहिले नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ ले विश्वलाई आतंकित बनाएको हामी सबैलाई अवगत नै छ । महामारीले उग्र रुप लिदा बिश्वलाई जटिल संकटमा पारेको छ त्यसका साथसाथै मानव जातिलाई ठुलो पाठ सिकाएको छ । महामारीले लाखौ मानिसको ज्यान लगेको छ भने ७० लाख भन्दा बढी संक्रमीत छ्न। संक्रमित र मुत्यु हुनेको अङक दिनप्रतिदिन उकाली चढीरहेको छ । विश्व खाद्य सकंट र भोकमरीको उच्च जोखिममा छ ।हरेक महामारी झै यो महामारीले सिकाएको ठुलो पाठ जे जस्तो भएनी मानव जिबनको अस्तित्व कृषि मै निभर रैछ भन्दा कहिँकतै फरक नपर्ला ।

अब प्रसङ्ग कृषि उपज, बजार र यसको बजारीकरणको :
साधारण शब्दमा भन्दा बजार भन्न्नाले कुनै पनि बस्तु किनबेच वा साटासाट गर्ने ठाँउ बुझिन्छ । त्यो ठाँउ जहाँ बस्तुको मुलभाउ तोकिन्छ अनि खरिद बिक्री हुन्छ , किनबेच गर्ने ठाँउ भौतिक नै हुनुपर्छ भन्न्ने चही छैन । अहिले ईन्टरनेट अथवा घरमा बसिबसी विभिन्न अनलाइन मध्यमबाट किनबेच गर्ने गरिन्छ त्यो नि बजार हो। नेपाली किसानका लागि भने बजार निरुत्साहित गर्ने थलो बन्दै गएको बेला यो महामारीले झन् दुख र जटिलता उत्पन्न गरिदिएको छ । नेपाली किसानका लागि उत्पादित कृषि उपजको बजारीकरण समस्या कुनै नौलो नभई धेरै अगाडि देखीको बिद्यमान समस्या हो । आवश्यक मात्रामा उत्पादन नभएनि केही मात्रामा चै उत्पादन भएकै हो । सधै किसानको उपजले अनुकुल मुलभाउ नपाउनु अनि किसान नै सधै मर्कामा पर्ने समस्या नि आजको नभई धेरै पहिले देखीकै हो ।

हजारौं अबरोध र समस्याका बाबजुद कृषि उपजको उत्पादन अनि त्यही उपजले मुल्य नपाउदा किसान माझमा परेको पिडा र समस्या सायदै नेपाली शब्दकोषको कुनै शब्द अथवा राहतले परिपुर्ति गर्न सक्ला ।

राज्यको पारदर्शी र उपयुक्त नीति नियमको कमि, भएको निति नियम कार्यान्वयन नहुनु, कृषि बजारको उचित ब्यबस्थापन र स्तरोन्नोतीमा कमि, उपजको उपयुक्त मुल्य निर्धारणमा कमि, स्वदेशी उत्पादनलाई प्रोत्साहन नहुनु , बिदेशी बस्तुहरुको ठुलो मात्रामा आयात इत्यादि बिधयमान समस्याहरुले गर्दा किसान मर्कामा परेका हुन ।यो बन्दाबन्दिको बेला किसानको लाखौं करोडौ मुल्यको तरकारी बारीमा कुहियो, किसानले उपयुक्त मुल्य नपाएर दुध बाटोमै पोखे, कोरोना सार्ने भन्दै तरकारी खाल्डोमा पुरियो जस्ता समाचारहरु त हामीले पटकपटक सुन्दै आएका छौ जसले हाम्रो कृषि बजारको अबस्था प्रष्ट पार्छ ।

लकडाउनको कारण कृषि, पशुपालन, मत्स्यपालन तथा अन्य क्षेत्रमा ठुलो धक्का परेको छ । यो समयमा किसानको उत्पादनले उपयुक्त मुल्य पाउने त कुरै छाडौ बजार नपाएर अर्बौं रुपियाँ बराबरको कृषि उपज बारिमै कुहिएर, सडेर नष्ट भएर गएको छ । किसानको उत्पादन बजार सम्म नपुग्दा किसानको लगानी नि उठन सकेको छैन । यसले किसानलाई अस्थायी र स्थायी रुपले समाजिक, मानसिक र विशेषगरि आर्थिक असर गर्ने पक्कापक्की नै छ ।

बन्दाबन्दी संगसगै स्थानीय, प्रदेशिक र संघीय सरकारको ढिलासुस्ती अनि कृषि उपजको बजारीकरणमा सहजता नहुदा यो समस्या झनै जटिल भएको हो । ढिलै भएनि केहि स्थानीय तह तथा सहकारी संस्थाले किसानको कृषी उपजको बजारीकरणमा सहज होस भनेर केही नयाँ ढंगबाट (कृषि अम्बुलेन्स) जस्ता माध्यमको सुरुवात गरेको थिए। यी माध्यम नि उचित सूचना अथवा प्रचारप्रसारको कमि भनौं या ढिलासुस्ती सोचेको जस्तो प्रभावकारी नहुदा कृषि उपजको बजारीकरणको समस्यामा कमि आउन सकेको छैन ।

अब सरकार नयाँ ढंगबाट यी समस्याहरु कुनै ढिलासुस्ती नगरिकन समयमै समाधान गर्न तर्फ लाग्न जरुरि देखिन्छ । स्वदेशी उत्पादनमा वृद्धि र प्रोत्साहन, कृषि उपजको आयातमा न्यूनीकरण तथा रोकथाम, कागजको नभई सहि किसानको पहिचानको संगसगै राहत तथा अनुदान बितरण, बिउबिजन, रासायनिक मल र बिषादीमा सहुलियत र वैदेशिक रोजगारबाट फर्किएका युबा जनशक्तिलाई कृषीमा आकर्षित गर्ने सहुलियत तथा बिना ब्याजदरमा ऋण लगानी जस्ता इत्यादि कुराहरूमा सरकारको ध्यान गए यो महामारीले पारेको आर्थिक भार केही मात्रामा भएनी कम गर्न सकिन्छ । तत्कालीन अबस्थाको मध्यनजर गर्दा विभिन्न मुलुकमा रोजगारी गर्न गएका लाखौं युबाहरु कोरोनाको कारण बेरोजगार भई स्वदेश फर्किएका छन । कृषि बिकासका लागि यि युबा जनशक्तिमा राज्यले ठुलो मात्रामा लगानी गर्न जरुरी देखिन्छ ।

प्रेम प्रकाश बुढाथोकी
विद्यार्थी, कृषि बिज्ञान संकाय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय टिकापुर, कैलाली

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *