गेहेन्द्र खड्का,
दुवई, चैत २६ । दुवईमा लकडाउन सुरु भएको आज ठिक २४ दिन भयो । म एउटा बन्द कोठामा बस्दै आएको छु । मैले काम गर्ने पाँच तारे होटेल बन्द भएको हुँदा कुनै काम भएन । देश लकडाउनले पुरै सुनसान प्राय छ । रातदिन व्यस्त रहने यहाँका चोक र बजारहरुमा सन्नाटा छाएको छ । कोरोना भाइरसको त्रासद यहाँपनि उच्च छ । त्यही त्रासले मानिस घर भित्रै कैद जस्तै बनेका छन् । त्यसवाट म मात्रै उछुतो रहने कुरै भएन ।
दुवईको चर्चित पत्रिका खलिज टाइम्सका असार यहाँ कोरोना सन्क्रमितको संख्या २ हजार, ३ सय ५९ पुगिसकेको छ । १२ जनाको मृत्यु भइसकेको छ । त्यसमा एकजना नेपालीको बुटवलकी किशोरीको पनि मृत्यु भइसकेको छ । उनी होम सर्भिसमा थिइन । खुसीको कुरा कोराना भाइरस लागेका दुई नेपाली सञ्चो भइसकेका छन् ।
विश्वलाई नै हल्लाई रहेको कोरोना भाइरसको त्रास र प्रभावका कुरा शब्दमा वर्णन गर्न असंभव प्राय छ । तैपनि म विचलित भएको छैन । आत्तिएको छैन । किनकि म एक बिकसित देसमा छु भन्ने ठान्छु ।
म हालसम्म सुरक्षित नै छु । केही हुँदैन भन्ने ढुक्क छु । तैपनि मनमा शान्ति भने पटक्कै छैन । अप्ठेरोमा चरीले गुँड खोजे जस्तै भइरहेको मलाई । मेरो नाभी गाडेको माटो (नेपाल)को यादले निकै चिमोटी रहन्छ । घर परीवार, आफन्त, साथी भाईको यादले यस्तो बेला निकै लखेट्दो रहेछ ।
नेपालमा कोराना भाइरस फैलिन नदिन भइरहेका प्रयासहरु समाचारहरुमा सुन्दा मानका थोरै भएपनि सितलता मिल्छ । तर मैले हेर्ने र पढ्ने नेपाली समाचारहरुमा सुदरपश्चिममा स्वास्थ्यकर्मी, प्रहरी प्रशासन, एम्बुलेन्स चालकहरुलाई समेत आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध हुन नसकेको कुरा सुन्दा फेरि मनमा आँधुहुरी चल्छ । अनि कामना गरिरहन्छु । बरु म मरु, मेरो गाउँ ठाउँ र देशवासीलाई केही नहोस ।
घर र देशको माया तथा चिन्ता प्रदेशीलाई जति सायद अरुलाई हुन्न ।
नेपाल भारतका बीचमा खुल्ला सीमाना छ। गरिवी हाम्रो साझा दुस्मन हो । हजारौ दाजुभाई तथा दिदी बहिनी रोजगारीको खोजीमा कालापहाड जाने प्रचलन अझैंपनि त्यस्तै छ । अझ कैलाली र कञ्चनपुरमा एकै पटक तीन जनामा कोरोना भाइरसको पुष्टिको खवरले थप बेचैन भएको छु । त्यसमा भारतवाट आएका एकजना कैलालीका युवाबाट भाउजुमा समेत कोरोना फैलिएको कुरा समाचारमा पढेको छु ।
गौरीफन्टा नाकावाट ती कैलालीका युवाका साथमा दाङका दश जना युवाहरु आएको भन्ने खवरहरु पनि पढेको छु । लकडाउन सुरु भएको चैत ११ गते त्यहाँ झन्डै एक हजारको हाराहीमा नेपालीहरु स्वदेश फर्किन पाउनु पर्ने भन्दै पर्दनमा उत्रिएको कुराहरु पनि पढेको छु ।
कर्णाली प्रदेश मात्रै हैन, साविक राप्तीको दाङ, रोल्पा, प्यूठान, सल्यान, रुकुम जिल्ला जिल्लाहरुवाट पनि सयौं सर्वसाधारण भारतवाट फर्किएको पढ्न पाएको छु ।
फरककोणको एउटा खवर अनुसार दाङमा मात्रै लकडाउन पछि भारतबाट फर्किएको मानिसहरुको संख्या ३ हजार ३ सय ३६ छ भन्ने छ । यो सानो संख्या हैन । खुल्ला सीमाना भएका कारण चीन भन्दा कोरोना भाइरसको खतरा नेपाललाई भारतवाट नै छ ।
हाम्रो देशले यही कुरा गम्भीर भएर मनन् गर्न सक्नु पर्छ । लकडाउन आफ्नै सुरक्षाको लागि हो । उलंघन गर्दा बाहुदुरी ठान्नेहरु नै कोरोना भाइरसको पहिलो शिकार बन्ने खतरा हुन सक्छ । किनकि, यो आफै घर भित्र आउँदैन । बाहिर लिन गए मात्रै भित्र्न्छ । अटेरी स्वाभावले आफैलाई मृत्युको मुखमा पुगाउन सक्छ । यो लकडाउनलाई कसैलेपनि आफ्ना मागहरु पुरा गर्न सरकारका विरुद्ध कुनै पार्टीले गरेको वन्द वा हड्तालको रुपमा बुझ्नु मुर्खता हो । यो बेला हरेक व्यक्तिले धैर्यता कायम गर्न सक्नु पर्छ । आफु अनुसानमा रहेर मात्रै कोरानालाई पराजित गर्न सहज हुने छ ।
विकास र स्वास्थ्य सुविधाको दृष्टिकोणले नेपाल कति पछाडि छ ? हाम्रो देशको स्वास्थ्यको अवस्था के कस्तो छ ? भन्ने सवाल खाडी मुलुकमा लेबेर काम गरेर फर्केका जस्लाई सोधेपनि हुन्छ । यो बिकृत र भ्रष्ट राजनीतिको परीनाम नेपालले विकासमा फड्को मार्न नसकेको सत्य हो ।
खैर, यो बेला त्यो कुरा छोडौं । अप्ठेरो अवस्थामा धैर्यताका साथ मिलेर सामाना गर्ने हो । म दुबई सरकारले गरेका केही प्रयासहरुको बारेमा तपाँईहरुलाई भन्न चाहान्छु ।
लकडाउनको समयमा घर भित्रै वा कोठामा थुनिएर बसेका हरेकका लागि दुबै सरकारले निशुल्क भिडियो कल हुने ब्यबस्था मिलायको छ । जस्ले गर्दा म जस्तै कोठामा बसेकोहरुले साथी भाई र घर परिवार संग भिडियो कल गर्न सजिलो भएको छ । कुनै समस्या पर्दा तुरुन्तै राज्यका संयन्त्रसंग जोडिन सकिन्छ ।
हरेक दिन साँझ बिहान हाम्रो शरिरको तापक्रम नाप्न पनि यहाँ मानिसहरु आउने गर्छन । अलिकति तापक्रम बढी भएको प्रमाण फेला पर्नासाथ ५ मिनेटमै लिन यम्बुलेन्स आइपुग्छ । सडकमा मास्क र पञ्जा नलगाएर हिडेको भए प्रहरीले तत्कालै पक्राउ गर्छ । १००० दिराम (नेपाली झन्डै ३३ हजार जति जरिवाना गर्छ।’ त्यो न्यूनतम हो । तर लकडाउनको क्षेत्रमा हिडेको फेला पारे ४००० दिराम वा सो भन्दा माथि जतिपनि फाईन हुन सक्छ । हरेक व्लक वा रुम भित्र छिर्दा सेनिटाईजरको प्रयोग अनिवार्य गरिएको छ । अनि सार्वजनिक ठाउँमा सेनिटाईजर राखिएको छ ।
दुवईमा सर्वाधिक सञ्चालन हुने दुबै मेट्रोपनि ठप्प छ । अत्यावश्यक कामका लागि ट्याक्सी सञ्चालन गर्न दिएको छ । तर त्यसमा एक भन्दा बढी व्यक्ति चढेको पाए कारवाही गरिन्छ ।
हरेक कम्पनीमा क्वारेन्टाएन छन् । कसैलाई अलिकति मात्रैपनि स्वास्थ्य समस्या देखिना साथ अनिवार्य १४ क्वारेन्टाईन बस्नुपर्छ ।
सबै व्यवस्था भएपनि नेपालीको अवस्था देख्दा अलिकति दुःखपनि लाग्छ । कतिपय सिक्यूरीटीको काम गर्ने हाम्रा नेपाली दाजुभाईहरु अहिलेको यो महाविपत्तिको घडीमा पनि काममा खटिनु भएको देख्छु । उहाँहरुको स्वास्थ्य सुरक्षा प्रवन्ध भने राम्रो गरिएको भएपनि इच्छा नहुँदा नहुँदै पनि काममा खटिनु परेको छ ।
जे भएपनि कोरोना भाइरसको माहामारीले विश्व हल्लाई रहेको छ । मानव सभ्यता माथि नै प्रश्न चिन्ह खडा हुने संकेतहरु देखिन थालेका छन् । अत मेरो विदेशी भूमिवाट विनम्र आग्रह छ । कृपया लकडाउनको पुरै पालना गर्नुहोस । घर भित्रै बस्नुहोस । लकडाउन उलंघन गर्दा बहादुर भइन्छ भन्ने सोच मुर्खता भन्दा अरु हैन । अमेरिका जस्ता विश्व शक्ति राष्टहरुको अवस्था हेरिसक्नु भएको होला । दुबै जस्तो व्यापारिक केन्द्रमा ठूलो आर्थिक मन्दी छाई सकेको छ । कम्पनीले कर्मचारी र कामदारलाई तलव दिन सकिरहेका छैनन् । मलाई पनि खान पुग्ने जति मात्रै यो पटक तलव राखिदिएको छ । एक तारिकमा दिने तलव केही ढिला गरि दिएको छ । एउटा भाइरसले विश्व थर्कमान अवस्थामा पुगेको छ ।
पाठक बृन्द– कोराना भाइरसले छोएपछि न कसैले भेट्न पाउँछ न मृत्युपछि । त्यस्तो भनाएक र पीडादायी मृत्युलाई जित्ने एउटै माध्य आत्मअनुसान हो । लकडाउनको पूर्ण पालना हो । त्यसो भएमा मात्रै नयाँ वर्षको जनगणनामा तपाँई हाम्रो नामपनि समावेश हुने छ । अन्यथा मृत्युको लिष्टमा नाम चढ्ने छ ।