दंगीशरण , भदौ ३ । दंगीशरण गाउँपालिकाले स्थानीयलाई प्रविधिमैत्री बनाउने अभियानको सुरुवात गरेको छ ।
मोबाइल बैंकिङ, अनलाइन बिल भुक्तानी, डिजिटल सेवा प्रणाली जस्ता कार्यहरु प्रविधिहरूको प्रयोग गर्न कक्षाहरु संचालन गर्न थालेको छ ।
मंगलबार वडा नं. १ का वडाध्यक्ष रमेश भण्डारीको अध्यक्षता र गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा डिजिटल साक्षरता कक्षाको उद्घाटन गरिएको छ ।
समुन्नति परियोजना र गाउँपालिकाको साझेदारीमा डिजिटल साक्षरता सम्बन्धि कक्षा संचालन गर्ने बारे सहमति भएपछि कक्षाहरु संचालन गर्ने तयारी भएको छ ।
जस अन्तरगत १ नम्बर वडामा ४ वटा र २ नम्बर वडामा २ वटा कक्षाहरु संचालनमा आउने भएका छन् ।
बिजुली, खानेपानी, र मोबाइल सेवाका बिलहरू अनलाइनमार्फत तिर्ने, बैंकिङ कारोबार मोबाइल एपको सहायताबाट गर्ने, सरकारी सेवा तथा सूचना डिजिटल माध्यमबाट प्राप्त गर्नका लागि स्थानीयलाई सिकाइने छ ।
प्रशिक्षकको रूपमा सरिता चौधरी र जानकी वली तोकिएका छन् । प्रविधिको तीव्र विकास र डिजिटल प्रणालीको विस्तारका लागि सात वटै वडामा कक्षाहरु संचालन गरिने भएको छ ।
