तुलसीपुर ,माघ ७ । तुलसीपुरमा सर्वाधिक पुरस्कार राशीको अन्तर वडा कप रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले युथ्स अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा अरनिको मैदानमा प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिता यहि माघ १९ गतेदेखि २६ गतेसम्म हुने भएको हो । वडा कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गरिएको जनाएको हो ।
वडा अध्यक्ष दुजमान भण्डारी (वर्षात) ले खेलकुदको विकासका लागि प्रथम अन्तर वडा कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए ।
तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाबाट खेलाडीले सहभागीता जनाउन पाउने उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख ६६ हजार ६६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख ६६ हजार ६६६ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष भण्डारीले बताए ।
यस्तै सर्वोत्कृष्ट एक जना खेलाडीले नगद ८ हजार, उत्कृष्ट गोल्कीपर १ जनाले नगद ५ हजार, सर्वाधिक गोलकर्ता १ जनाले नगद ५ हजार, उत्कृष्ट गोल रक्षक १ जनाले ५ हजार, उत्कष्ट मध्यपंक्ति खेलाडी १ जनाले ५ हजार, उत्कृष्ट प्रशिक्षक १ जनाले ५ हजार र म्यान अफ दि म्याच प्रति खेल एक जनाले नगद १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खेल नकआउट चरणका आधारमा खेलाइने भएको छ । प्रतियोगिता संचालनका लागि १६ लाख बढी खर्च अनुमान गरिएको आयोजक वडा नम्बर ६ ले जनाएको छ ।