तुलसीपुर , मंसिर ११ । दाङको बंगलाचुलीमा नेपाली काँग्रेसबाट निर्वाचित एक जना वडाध्यक्षले जंगली माहुरी घरमा ल्याइ पालेर बिगतदेखि नै राम्रो आम्दानी गर्दै आएका छन् ।
बिगत १८ बर्षदेखि जंगली माहुरी ल्याइ घरमा पाल्न थालेका बंगलाचुली गाउँपालिका – ४ का वडाध्यक्ष डाँसबहादुर डाँगीले यो बर्ष हालसम्म एक लाख २० हजार बढीको मह बिक्री गरि सकेका छन् । मंगलबार मात्रै थप एक सय केजी महको अडर उनलाई आएको छ ।
काठमाडौं लैजानका लागि घोराहीका एक ब्यापारीले मह मागेकी उनले बताए । माहुरीका लागि अलग्गै चारवटा लामा टहरा निर्माण गरि त्यसमा घार राखेर ब्यबस्थित रुपमा माहुरी पालन गर्दै आएका छन् ।
यो बर्ष उनको घरमा ५५ घार माहुरी मात्रै छन् । केही बर्ष पहिले सम्म उनको घरमा एक सय बढी घार माहुरी थिए ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएपछि उनले माहुरीको हेरचाहमा भनेजति समय दिन पाएनन् । त्यो समयमा माहुरीको संख्या ह्वात्तै घटेर ३५ घारसम्म झरेको थियो ।
एक बर्ष पहिले देखि फेरि उनी माहुरीको हेरचाह गर्न थालेपछि संख्या बढेर ५५ घार पुगेको उनले बताए । ४५ बर्षीय वडाध्यक्ष डाँगी वडाको काममा रहँदा उनकी ४३ बर्षीया श्रीमति गोमाले माहुरीको रेखदेख गर्ने गर्छिन ।
बिगतमा डाँगीले माहुरीको मह बेचेर बार्षिक ६ लाखसम्म आर्जन गर्ने गरेको बताए । उनले प्रतिकिलो एक हजार दुई सयका रुपैयाँका दरले मह बिक्री गर्दै आएका छन ।
झन्डै दुई दशकदेखि माहुरीपालन व्यवसायमा संलग्न डाँगीले स्थानीय जंगलमा पाइने सेरेना जातको माहुरीलाई घरमै व्यवस्थित रूपमा घार निर्माण गरी पाल्दै जाँदा संख्या बढेर गएको बताए ।
बिना लगानी व्यवसाय गर्न सकिने तथा त्यसबाट राम्रो आम्दानी लिन सकिने भएकाले जंगलमा माहुरी खोज्दै घरमा ल्याएर व्यवसाय सुरु गरेको उनले बताए ।
विगतमा वार्षिक कम्तिमा पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको डाँगीले बताए ।
‘एक सय बढी माहुरीका घार हुँदा राम्रो आम्दानी हुने गथ्र्यौ,’ वडा अध्यक्ष डाँगीले भने,‘तर राजनीतिसँगै जनप्रतिनिधिका रुपमा निर्वाचित भएर जनताको सेवामा लागेपछि घरमा समय दिन नपाउँदा आधा घटेको हुँदा आज आम्दानी पनि घटेको हो ।’
राजनीतिसँगै व्यवसाय पनि आवश्यक रहेकाले पछिल्लो समय जनताको सेवा गर्ने समय निकालेर घरमा समय दिने गरेको र माहुरीको घार संख्या पनि बढ्दै गएकोमा उनी खुसी सुनिए । त्यसमा उनलाई श्रीमती गोमाले पनि सघाउने गर्छिन ।
उत्पादित मह बजार खोज्न बाहिर जानु नपर्ने र घरबाटै बिक्री हुने गर्छ । घरमै आएर मह लग्ने भएका कारण बिक्रीका लागि कुनै समस्या नभएको उनले बताए । ‘मह बिक्रीका लागि कहिल्यै समस्या भएन, बरु माग धेरै हुँदा आपूर्ति गर्न गाह्रो पर्छ,’ उनले भने ,‘सवैलाई मह पु¥याउन सक्ने अवस्था छैन ।’
माहुरीपालन व्यवसायमा परिवारको साथ र सहयोगले सजिलो भएको वडाध्यक्ष डाँगीले बताए । पहाडी क्षेत्रमा तोरी खेती र चिउरी लगायतका विभिन्न फलफूलका बिरुवा प्रशस्त हुने भएकाले माहुरीको चरणको समस्या नरहेको उनले बताए । वसन्त ऋतुमा तोरी फूल्ने र गृष्म ऋतुमा चिउरी फूल्ने हुँदा वर्षभरि नै माहुरीलाई चरणको सुविधा आफ्नो गाउँठाउँमा रहेको उनले बताए ।
बंगलाचुली क्षेत्रमा माहुरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको हुँदा थप व्यवस्थित गरि विस्तार गर्न सके राम्रो आम्दानी लिन सकिने अवस्था उनले औंल्याए ।
अन्य ठाउँको तुलनामा पहाडी क्षेत्रको मह गुणस्तरीय हुने डाँगीले बताए । वडा अध्यक्ष डाँगीका अनुसार राजनीतिमा लागेका व्यक्तिले पनि कुनै न कुनै व्यवसाय गर्नु जरुरी रहेको बताउँछन् ।
‘जनताको काम गर्दा आफ्नो खर्च हुन्छ । त्योसँगै काम नगर्दा विभिन्न टिकाटिप्पणी सुन्ने गरिन्छ,’ वडा अध्यक्ष डाँगीले भने,‘सानो भएपनि व्यवसाय गर्ने आफ्नो खर्च व्यवस्थापन गर्न सके खर्च पनि उठ्ने जनताको काम गर्न समेत सहज हुन्छ ।’