दाङ,बैशाख १३ । कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।
७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए ।
सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र तोकिएको छ । काठमाडौंमा यस पटक स्वचालित (स्यान्डम) प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र तोक्ने व्यवस्था छ । तर काठमाडौंमा परीक्षणका रूपमा समितिले स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेको उनले बताए ।
हरेक विद्यालयका परीक्षार्थी संख्या र परीक्षा केन्द्रको सिट संख्याका आधारमा तथा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरका आधारमा दूरी निकालिएको थियो ।
विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो । एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ ।
एउटै सञ्चालक भएका विद्यालयमा केन्द्र नपर्ने गरी छनोट गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्कार्कोमा पनि नपर्ने गरी व्यवस्था गरिएको छ ।
यसो गर्दा एउटै विद्यालयका विद्यार्थी पनि फरक/फरक केन्द्रबाट परीक्षा दिँदै छन् । परीक्षा केन्द्र तोक्दा सेटिङ हुने गरेको समेत गुनासो थियो । निश्चित विद्यालयको केन्द्र कुनै विद्यालयमा तोक्न वा नतोक्न सेटिङ हुने गरेको भन्दै आलोचना हुने गरेको थियो ।
देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदै छन् । काठमाडौंबाट सहभागी हुने विद्यालयका विद्यार्थीको केन्द्र स्वचालित विधिबाट तोकिएको हो ।