२०८१ जेष्ठ ३० गते बुधवार

शान्तिनगरको शान्ति खलबल्याउने गरि चलेको त्यो ‘बौलाहा हावाहुण्डरी’

दाङ, फागुन २३ । तुलसीपुर बजारदेखि झन्डै १३ किलोमिटर पश्चिमको यात्रापछि आउँछ शान्तिनगरको ‘बौलाहा’ खोला । बौलाहा खोलाको पूर्वमा वडा नं. ३, ४ र ५ को सीमाना पर्छ भने ठिक पश्चिमको डाँडोमा बिष्णुपुर र सिमसुन्दरपुर गाउँ छ । त्यो शान्तिनगर – २ हो । त्यही शान्तिनगरको हालफिलको मौन शान्ति उदेग लाग्दो छ ।


बौलाखोलाको पश्चिमको शान्तिनगर – २ मा बिगत पाँच सात बर्ष यता यस्तै अमेरिकाको ‘बौलाहा’ हावा हुण्डरी चल्दै आएको छ । त्यही हावा हुन्डरीका कारण यो वडाका अधिकाँस युवा बिदेश पलायन भइ सकेका छन् । यो वडा बाट मात्रै एक तल्लो बाटो (अबैध मार्ग) हुँदै सय बढी युवा अमेरिका गइ सकेका छन् भने झन्डै चालिसको हाराहारीमा तल्लो बाटो हुँदै अमेरिका जाने बाटोमा छन् । केही घरका सबै सन्तान अमेरिका पुगेका छन् । घरमा उनीहरका परिवार बालबच्चा र बुवा आमा मात्रै छन् ।
अटे«लिया, जापान वा खाडी मुलुक जाने अन्यको संख्यापनि त्यस्तै छ ।


युवालाई हुत्याउने त्यो तीब्र बेगको हावाहुण्डरीको उद्गस्थल भने कुनै दिन रकुम थियो । त्यहाँको त्यो लहडको हावा अग्ला पहाड र बिकट भूगोल छिचोल्दै समथर दाङ उपत्यकामा आइपुग्न पटक्कै समय लागेन ।
शान्तिनगर – २ मा ८० प्रतिसत बढी रुकुमबाट झरेकाहरु छन् । जति जति रुकुमेलीहरु बसाई सर्दै आए एजेन्टहरु द्याङको बिशाल फाँटमा उनिहरुकै माध्यमबाट उति उति सक्रिय हुँदै गए ।

सुरुमा रुकुमकै मानव तस्करले बेरोजगार युवालाई अमेरिका सपना देखाउँदै लाखौं असुल्ने क्रम सुरु गरेका थिए । उनीहरुकै आफन्त तथा सन्तान बसाई सरी दाङ झरेपछि दाङमा पनि त्यो ब्यापक बन्दै गएको स्थानीय जानकारहरु बताउँछन ।
अहिले त घर घरबाटै युवा बिदेशिएका छन् भने एजेन्टपनि त्यही रुपमा छ्याप छ्याप्ती छन् ।


यो गाउँ पुग्दा जेष्ट नागरिक मात्रै भेटिन्छन् । उनीहरु मात्रै घर गृहस्थितको काम गरिरहेका हुन्छन् । यहाँका दृष्यहरुले प्राय युवाहरुको जमघट हुने स्थल पसल र चोकहरु भएको पुष्टि गथ्र्यौ । प्राय बिदेशबाट आउजाउ गर्ने युवाहरुको रबाफ यहाँ फरक देखिन्थ्यो । दिनभरी क्यारेमबोर्ड खेल्नु, तास खेल्नु वा मदिरामा रम्नु । माघको एक शनिबार बौलाखोला काटेर उकालो उक्लिनसाथ सीमसुन्दर पुरको एउटा पसलमा आधा दर्जन मोटरसाइकलहरु पार्किङ गरिएका थिए ।


अमेरिका लगाएत देशहरु बाट घर बिदामा आएका युवाहरु यहाँका पसल र चोकहरुमा जमघट हुँदा रबाफिला बन्छन् ।
खर्च उनीहरु गर्छन । स्थानीयका अनुसार उनीहरु मध्य अधिकाँस दिनभर जसो तास वा क्यारेम बोर्ड खेल्दै समय बिताउँछन् । कि, उनीहरु भट्टी पसलमा दिउँसो मदिरा सेवन गर्दै गरेको अवस्थामा भेटिन्छन् ।

संबाददाता पुगेको दिन केही उत्तर आयुस केटजमा दुई युवा बाहिरै टेबुलमा खुल्लम खुल्ला मदिरा सेवन गरि रहेका घेटिए । चुरोटको धुँवामा जस्तै आफ्ना अमेरिका सपनाहरु उडाइ रहेका थिए । ती दुई मध्य एकजना पछिल्लो समय अबैध मार्ग अर्थात तल्लोबाटो अमेरिका पठाउने मध्यका एक एजेण्ट रहेको कुराकानीको क्रममा पत्ता लागेको थियो ।

उनी संगै टेबल शेयर गरि बसेका अर्का युवक अमेरिका जान खुट्टा उचालेका ब्यक्ति हुन भन्ने खुल्यो । यी दुबै दाबीका साथ भनिरहेका थिए ‘ यो देश कर्मचारी र नेताले बर्बाद पारे।’ उनीहरु नेता र कर्मचारीलाई आलोपालो सराप्दै थिए । ‘यहाँ हामी जस्ता युवालाई के अबशर मिल्छ र बस्नु ?,’ एजेण्टले भनेका थिए ‘ पैंशा नभइ केही हुँदैन र यहाँ पैंशा कमाउने कुनै अवशर छैन । यो देशमा युवा बस्नु भनेको आफ्नो भविश्य बर्बाद पार्नु मात्रै हो ।’


जबकी उनीहरुका अभिभावक भने घरमा बस्तु चौपाया स्याहार सुशारदेखि घर गृहस्थितको काममा ब्यस्त थिए । गाउँमा युवा खोज्नु सिला खोजे जस्तै हुन थालेको छ । अधिकाँस घरमा महिला, बालबालिका र जेष्ट नागरिकको बाहुल्यता छ । मानिस मर्दापर्दा युवा कम बुद्धा, महिला र बालबालिका बढी देखिन्छन् । जस्ले असर खेती पातिमा पनि परेको छ । जग्गा जमिन बाँझैं पल्टिन थालेका छन् । यहाँको शान्त र परम्परागत जिवन सैलीको भविश्यमा एक प्रकारले तीब्र उछलकुदल आउने आँकलन गर्न थालिएको छ । अमेरिका गइ केही कमाएकाहरु सुख सयल खोज्दै सहर बजार तिर बस्ने क्रम तीब्र बनेको छ ।

वडाध्यक्ष सुनिल वलीका अनुसार यो वडामा बाट मात्रै हालसम्म एकसय एक जना अमेरिका पुगि सकेका छन् । ती मध्य चार जना महिला छन् । तीन चार जना बाहेक अन्य जम्मै अबैध मार्ग अर्थात तल्लो बाटो बाट ३० देखि ७५ लाखसम्म बुझाएर अमेरिका पुगेका थिए । ‘यतिखेर यो वडाका थप चालिस जना जति बाटोमा यात्रारत छन्,’ वडाध्यक्ष वलीले भने ‘ अमेरिका सपना पच्छयाउँदै गएका उनीहरु मध्य कतिपय भारतका साथै बिभिन्न देशमा पुगेका छौं भनेर कुरा गर्छन ।’ वडाध्यक्ष वलीका अनुसार यो वडामा गत स्थानीय तहको निर्वाचनमा तीन हजार पाँचसय जति मतदाता थिए । जनसंख्या बढेर यतिखेर लगभग ७ हजार जति पुगेको उनले अनुमान गरे ।


अमेरिका बाहेक जापान, अष्ट्रेलिया, मलेसिया, साउदी अरब जानेहरुको संख्यापनि उत्तिकै रहेको वडाध्यक्ष वलीले बताउँछन । ‘ पैंशा खर्च गर्न सक्नेहरु अमेरिका र पैंशा खर्च गर्न नसक्नेहरु अन्य मुलुकमा गएका छन्,’ वडाध्यक्ष वलीले भने ‘ गाउँमा युवा पाउनै मुस्लिक छ र यहाँका घर घरमा महिला, बालबालिका र जेष्ट नागरिक मात्रै भेटिन थालेका छन् ।’


त्यसले सामाजिक कार्यमा युवाको अभाव खड्किन थालेको उनी ठान्छन् । ‘ बिदेश पलायन हुने क्रम नरोकिदा गाउँ घरमा मानिस मर्दापनि मलामी जाने महिला र जेष्ट नागरिक मात्रै हुने गर्छन,’ वडाध्यक्ष वलीले भने ‘ युवा पलायनले गाउँ घरको बिशिष्ट पहिचान र शक्ति भुत्ते बन्दै गएको सत्य हो ।’


गाउँ ठाउँका साथी भाइ एक पछि अर्कौ धमाधम अमेरिका जान थालेपछि परिवारका एक्ला छोरा वडाध्यक्ष वलीपनि अमेरिका जाने मनस्थितिमा थिए । घर परिवार र माउली खलकले ‘के नपुग छ र, किन अमेरिका जानु प¥यो’ जान हुँदैन भनेपछि आँफु रोकिएको वडाध्यक्ष वलीले स्वीकार गरे ।

गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित हुँदा वडाध्यक्ष वलीलाई अमेरिका गएका युवाहरुले पठाएको पैंशाको बलले चुनाव जित्यो भन्ने आरोपपनि लाग्यो । वडाध्यक्ष वलीका दर्जनौं साथी संगी अहिलेपनि अमेरिका छन् । उम्मेदवार बनेको बखत आँफुले नमागेपनि धेरै साथी भाइले अमेरिकाबाट दश लाख बढी चुनाबी खर्च स्वस्फूर्त रुपमा पठाइ दिएको वडाध्यक्ष वली स्वीकार गर्छन ।
‘मैले अमेरिका लगाएत अन्य देशमा पुगेका कुनैपनि साथीलाई कहिलै मोवाइल जस्ता बस्तु वा कुनै सहयोग मागेको रेकर्ड छैन र साथीहरु संग कुरागर्दा मैले उनीहरुको अवस्था र कामको सजिलो अप्ठेरोबारे मात्रै सोध्ने गर्छु,’ वडाध्यक्ष वलीले भने ‘ तर, उनीहरुले म चुनावमा उम्मेदवार बनेको थाहाँ पाएपछि मैले नमागेपनि स्वस्फूर्त रुपमा झन्डै दश लाख जति पैंशा पठाएको साँचो हो ।’

वडाध्यक्ष वलीका साथीहरु मध्य अहिले तल्लोबाटो अमेरिका पुगेका मध्य कतिले काम पाउनै मुस्किल हुन थालेको तथा बेरोजगार बन्नु परेको कुराहरु आँफुसंग गर्ने गरेको पनि बताए । तर, राम्रो गरि रहेका र कमाएकाहरुले स्वदेश फर्किने कुरा नगरेपनि माध्यमहरु खोजेर केही उद्यममा लगानी गर्ने कुराहरु गर्ने गरेको बताए ।

‘कतिपयले साथी भाइले तिमी अग्रसर बन र हामी लगानी पठाइदिन्छौं भन्ने सम्मका कुरा गर्छन,’ वडाध्यक्ष वलीले थपे ‘ मैले उनीहरुलाई पाँच बर्षसम्म केही उद्योग ब्यापारमा हात नहाल्ने र जनताको मात्रै सेवामा बिताउन चाहेको कुरा स्पष्ट पारी दिन्छु ।’
त्यस्तै उनले अमेरिका पुगेका केही युवा मिलेर तुलसीपुर बसपार्कको पिपल बोट उकालो नजिकै ‘साइनो मार्ट’ स्थापना गरेको तथा त्यसबाट स्थानीय स्तरमा केही युवाले रोजगारी प्राप्त गरेको कुरा आँफुले सुनेको हुँदा बिदेशमा दुःख गरि आर्जन गरेको पैंशा वा सीप नेपालमा खर्चनु सकारात्मक मान्नु पर्ने बताए ।

वडाध्यक्षका रुपमा आँफुले रातदिन नभनी जनताको सेवामा बिताउने गरेको कुरापनि राजनीतिक आग्रह वा पूर्वाहका कारण काम गर्न अप्ठेरो भइ रहेको गुाणासो गरे । ‘ म स्वतन्त्र रुपमा जितेको हुँदा स्वतन्त्र रुपमा कुनै स्वार्थ नराखी जनताको सेवामा खटिन चाहेको हुन्छ,’ वडाध्यक्ष वलीले भने ‘ त्यस्तो बेला पुराना राजनीतिक दलहरुले यति राजनीतिक रुपमा षडेन्त्र गर्छन कि सोच अनुरुप जनताको चाहाना अनुरुप बिकास निर्माणको काम गर्न सकि रहेको छैन ।’

पुराना पाटीबाट बढी ‘पेलिएको तथा हेपिएको’ बताउने उनले एउटा बिद्युतको पोल ल्याउन खोज्दा र एउटा गतिलो शिक्षक ल्याउन खोज्दासमेत उनीहरुले रोक्ने गरेको गुनासो गरे । ‘ हेर्नुस यो मेरो घर र काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीको घर ५० मिटरको दुरीमा छ र गाउँपालिकामा काँग्रेसकै युवा प्रमोद बस्नेतले जित्नु भएको छ,’ वडाध्यक्षले भने ‘स्वतन्त्र रुपमा जनताको काम गर्न खोज्नु भन्दापनि यहाँका जनप्रतिनिधिले पार्टीका नेताहरुको निर्देशन अनुसार काम गर्ने प्रबृतिले कसरी यहाँका युवा उहाँप्रति आकर्षित होलान।’


हाल तल्लो बाटो हुँदै अमेरिका पुगेका मध्य कतिपय पढे लेखेका युवाले गाउँ घरमै बसेर केहीगर्न चाहेपनि अबशर दिने सवालमा फोहरी राजनीति हाबी हुँदा पलायन हुन बाध्य भएको दाबी पनि उनले गरे ।


‘ एक जना डिग्री गरेका दाजु पियन हुन खोज्दापनि राजनीतिक पूर्वाग्रहका कारण हुन दिएनन्,’ वडाध्यक्ष वलीले भने ‘ त्यसपछि उहाँ अपमानित महसुश गरि हार मानेर लाखौं खर्च गरि ज्यानको बाजी लगाउँदै अमेरिका भासिनु भएको सत्य हो ।’

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *