२०८० फाल्गुन १२ गते शनिवार

गोरखाका बिद्यार्थीले पढ्ढा गाउँमा पुगेर थारु परिकार बनाउन सिके


तुलसीपुर माघ ६ । स्कुल पोशाकमा झण्डै सवा दुइ सय विद्यार्थी तुलसीपुर उपमहानगरपालिका– १० पढ्ढाको गाउँको एउटा ठूलो वारीमा समुह बद्ध भएर काममा तल्लिन छन् ।

विद्यार्थीलाइ विभिन्न समुहमा विभाजन गरेर त्रिपालमा बसाइएको छ । सत्र जना विद्यार्थीको एउटा समुह छ । हरेक समुहलाई भिन्ना भिन्नै त्रिपालमा बसाइएको छ ।


कसैले चामलको पिठो मुछेर ढिक्र्रीका लोला बनाउदै छन् । कसैले अनदी चामलको पिठोको रोटी । केही तरकारी अचारको जोहो गर्न आलुगोबीमा हात चलाउँदै छन् ।
बाक्लो हुस्सुले आकाँस छोपिएको छ । तर विद्यार्थीलाई त्यसको वास्ता थिएन । थारु समुदायको परिकार बनाउन पाउँदा उनीहरु पनि मख्ख थिए ।


काल्ना मुनी कुनामा एक दर्जन जति माटोका चुलामा ढिक्र्री पकाउन बसाइएको छ । आगो बलि रह्यो र केही बेरमै ढकिया माथि वाफ उड्न थाल्यो ।

त्यो ढिक्र्री तयार हुन थालेको संकेत थियो । अर्को चुल्होमा तरकारी पाक्दै छ । अनदीका रोटी बनाउन थारु दर्जन जति महिलाले प्रशिक्षण दिइरहेका छन् । अचार भने विद्यार्थी आफ्नै तरिकाले बनाउँदै थिए । घरमा आमाबाट सिकेका होलान ।
यस्तै परिदृश्य तुलसीपुर –६ स्थित गोरखा सेकेन्डरी स्कूल कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको समाजशास्त्र विषयको ‘प्रोजेक्ट वर्क’को थियो । जुन सामाजिक विषयको परीक्षाको १०० पूर्णाङ्क मध्ये २५ अंकको अभ्यास परीक्षा थियो ।


सामाजिक अध्ययन तथा जिवन उपयोगी शिक्षाको परियोजना कार्यको व्यवस्थापकीय नेतृत्व गरिरहेका थिए, गोरखा मावि तुलसीपुरका व्यवस्थापन समुह संयोजक डम्वर डाँगीले । साथ दिइरहेका थिए सामाजिक विषयका शिक्षक पूर्णबिक्रम डांगी, एकेडमिक कोअर्डिनेटर दुर्गा केसी, गोरखा मोडल कलेजका पूर्व प्राचार्य बेदप्रसाद भट्टराइ, खेलकुद संयोजक सुरज केसी । सवै परियोजना कार्य नियालिरहेका थिए, गोरखा मामिका प्रिन्सिपल विजय जिएम । यस्तो लाग्थ्यो, परियोजना कार्य एउटा रोमाञ्चकारी वनभोज हो । बीचबिचमा सांस्कृतिक प्रस्तुतीहरुले झनै त्यस्तै झझल्को दिन्थ्यो ।


थारु समुदायमा उनीहरुको महान चाडको विदाइको तयारी भैरहंदा त्यो थारु गाउँमा करिव तीन सय जनाको एकै स्थानमा भएको उपस्थीतिले माघीको रौनक झल्काइरहेको थियो । मालुकाका टपरी भरी ढिक्र्री, छिटुवा भरी अनिदीको रोटी, पराँट भरी अचार, तरकारी र सखरखण्ड, तरुलको परिकारले माघिको पहिलो दिन भुलाइदिन्थ्यो ।
‘पहाडीया विगरियो, जांडको झोलले’ वोलको गित बज्दा वाह्र कक्षाका विद्यार्थी मस्त नाचेका थिए । अरु दिन कक्षा कोठामा मोवाइल बोक्न प्रतिवन्धित भएपनि फिल्ड वर्कमा मोवाइल वन्देज थिएन । त्यसैले पनि हरेक विद्यार्थी हातमा मोवाइलका आफ्नो प्रोजेक्ट वर्कको कैद गरि रहेका थिए ।


व्यवस्थापन संकायका संयोजक डम्वर डाँगीले विद्यार्थीलाई रटाउने मात्र नभइ ब्यबहारिक रुपमा जीवन उपयोगी शिक्षा दिनु आजको आवश्यकता भएको बताए ।

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *