२०८१ बैशाख १३ गते बिहिवार

अनि शिक्षक र बिद्यार्थी मिलेर आशाको बारीको कोदो काटिदिए


दाङ, मंसिर २० । प्यूठानको झिमरुक गाउँपालिका – ३ कुटेडाँडास्थित बालज्योति आधारभूत विद्यालय कक्षा ४ मा पढ्छिन ११ बर्षीया आशाकुमारी बिक ।


आशाले बिद्यालयमा चार दिनको घर बिदा माग्दै आएकी थिइन । त्यो कुरा आँफै भन्न नसकेर उनले सहपाठी साथीहरु संग कुरा राखेकी थिइन । त्यो कुरा विद्यालयका प्रधानाध्यापक शंकरबहादुर बस्नेतसम्म पुग्यो ।
प्रअ शंकरले किन चार दिनको घर बिदा चाहिएको हो ?  भनेर आशालाई सोधे ।


आशाले कोदो काट्नलाई चार दिन जति समय लाग्ने हुँदा बिदा चाहिएको कुरा प्रअ शंकरसंग  भनिन् । उनको कुरा सुनेर प्रअ शंकरले यत्ति भने ‘तिमी भोलि बिद्यालय आउनु’ मात्रै भन्ने जबाफ दिए । आशा निराश हुँदै कक्षा कोठामा फर्किइन ।


 आशाले प्रअ शंकरलाई घरमा ८५ बर्षीया हजुर आमा तुलसी सुनार मात्रै रहेको र बारीको कोदो बाँदरले सबै खाएर स्वाहा पार्न थालेको हुँदा त्यही काट्न बिदा चाहिएकामे कुरापनि गरेकी थिइन । आशाकी आमा उनी सानै छँदा दोस्रो बिबाह गरि गएपछि बुवा सशिधर बिकले कान्छी आमा सुकुमारी बिकलाई भित्र्याएका थिए ।


सानी आमा सुकुमारी कात्तिक २२ गते दाउरा काट्न वन गएको समयमा लडेर गम्भीर घाइते भइन । सुकुमारीबाट जन्मेका आशाका तीन बर्षे भाइ छन् । घाइते भइ गम्भीर चोट पटक खेपेपछि हाल उनी भारतको चण्डीगढस्थित पिजियो हस्पिटलमा उपचाररत छिन ।


बुवा सशिधर बिक रोजगारीको सिलशिलामा भारतमै बस्दै आएका थिए ।  घाइते श्रीमतिको उपचारका लागि उतै बोलाएका हुन । आफन्तको सहयोगमा सुकुमारी त्यहाँ पुगेकी हुन । यी सबै कुरा आशाले बुधबार अर्थात मंसिर १३ गते प्रअ शंकरलाई बिदा माग्दै अबगत गराएकी थिइन ।


आशाको कुरा सुनेपछि प्रअ शंकरले उनलाई केही नभने पनि मनमनै शुक्रबारका दिन छिटो छुट्टी हुने हुँदा सोही दिन  विद्यालय समय पछि शिक्षक र बिद्यार्थी मिलेर गइ आशाको पाखो बारीको कोदो काट्ने योजना बुनेका थिए । तर, त्यो कुरा उनले कसैलाई भनेका थिएनन् ।


‘बिहीबारको दिन बिदा हुनु भन्दा पहिले लाइनमा विद्यार्थीलाई घरबाट भोलि हंसिया लिएर आउनु भनेर भन्नु पर्ला भन्ने मनमनै योजना बनाएको थिए,’ शंकरले भने ‘ त्यसैले त्यो कुरा मैले भोलि भन्छु भनेर कसैलाई भनेको थिइन ।’


प्रअ शंकरले आशालाई भोलि (बिहीबार) विद्यालय आउनु भनेको हुँदा उनी विद्यालय आएकी थिइन ।  तर, उनको मन कक्षा कोठामा थिएन । त्यसका पछाडिको कारण, तीन वटा पाखो बारीको कोदो मध्य एउटा पाटोको कोदो बाँदरले स्वाहा पारि सकेका थिए । थप दुई वटा पाटोको कोदोपनि बाँदेर लथालिंगभताभुङ जस्तै ¥याली सकेका थिए ।

त्यो दिन बाँदरले दुई पाटोको कोदोपनि स्वाहा पार्न सक्थे ।
त्यसैले बिहीबारपनि आशाले कक्षा कोठामा फेरि साथीहरुलाई चार दिनको घर बिदाको लागि प्रअ शंकर समक्ष कुरा राखिदिन प्रस्ताब गरि रहेकी थिइन । एक जना आशाकी साथीले बिहीबार पहिलो घन्टीमै  प्रअ शंकरलाई भेटिन र उनले आशा गरेको आग्रहको (बिदाका लागि पहल गरिदिन भनेको कुरा)  भनिन् ।  


त्यसपछि भने शंकरले तत्कालै आशाको समस्या समाधान गर्ने उपाय सोचे । शिक्षक शिक्षिका संग आशालाई परेको समस्या र त्यो समाधानको जुक्ति सुनाए ।


‘आजै तपाँईहरु केही बिद्यार्थी लगेर खाजा समय पछि आशाको बारीमा पुगेर कोदो काट्नुहोस र आशाको समस्या समाधान गरौं भन्ने मैले प्रस्ताब गरे,’ शंकरले अगाडि भने ‘ मेरो कुरामा सबै शिक्षक साथीहरु सहमत हुनु भयो र सोही उदेश्यले खाजा समय पछि उहाँहरु आशाको कोदो काटन् जानु भएको हो । त्यो समय मैले विद्यालयमा रहेका साना विद्यार्थी पढाई बसेको हुँ ।’


प्रअ शंकरले विद्यालयका शिक्षिकाहरु हिरा जिसी, लक्ष्मी भण्डारी र रबिना बिकको नेतृत्वमा कक्षा ४, ५ र ६ का थप ३७ बिद्यार्थीलाई आशाको पाखो बारीको कोदो काट्न (संकलन)  गर्न पठाएका थिए ।


त्यसपछि घर नजिक भएका विद्यार्थीले घर– घरबाट हँसिया र खुर्पी लिएर आए । शिक्षक बिद्यार्थीले धमाधम आशाको बारीमा पुगेर  कोदो काट्ने क्रम सुरु भएको थियो ।  १८ बर्षीया शिक्षिका रबिनाका अनुसार उनीहरु दिउँसो २ बजेतिर आशाको बारीमा पुगेका थिए ।


४० जनाले काटेपछि डेढ घन्टामै सबै काम फच्चे भयो । आशाका अनुसार नजिकै अर्कौ बारीमा पनि स्थानीय एक परिवारका सदस्यले कोदो काटिरहेका थिए । शिक्षक विद्यार्थी हंसिया र खुर्पीसहित त्यहाँ पुग्दा सुरुमा उनीहरुले के गर्ने आएको ? भनेर सोधेका थिए । रबिनाले आशाको सहयोगका लागि उनको बारीको कोदो काट्न आँफुहरु आएको भन्ने कुरा गरेपछि स्थानीय एक अभिभावकपनि उनीहरुको अभियानमा जोडिएका थिए ।


रबिनाका अनुसार आशाकी ८५ बर्षीया हजुर आमा तुलसी सुनारले शिक्षक बिद्यार्थीले मिलेर सबै कोदो संकलन गरि घरमा पु¥याइदिए पछि खुसीले गदगद भएकी थिइन ।
‘हजुर आमाले हामीलाई आर्षिबाद दिनुभयो,’ रबिनाले भनिन् ‘ खुसीका आँशु पुच्दै कोही नहुनेको दैब हुने रहेछ नानी भन्दै खुसी साट्दै हामीलाई धन्यबाद दिनु भएको थियो ।’


कक्षा कोठाको किताबी ज्ञान मात्रै प्रयाप्त नुहुने हुँदा आपत विपदमा मिलेर सहयोग गर्दा ब्यक्ति बिषेशका समस्या समाधान गर्न संभव रहेछ भन्ने ठूलो सामाजिक भावना विद्यालय परिवारले पर्दशन गरेको शिक्षिका रबिनाले बताइन ।
‘हामीले सामाजिक भावनाले गरेको कार्य गाउँ समाजले एक दमै उदाहरणिय र अनुकरणिय भनेका छन्,’ रबिनाले भनिन् ‘यो मानवताको सवाल मात्रै हैन ब्यबहारिक शिक्षाको नमुना कार्य हो भनेर आज हाम्रो तारिफ भइ रहेको छ ।’


अप्ठेरोमा परेकाहरुलाई सघाउनु पर्छ भनेर आशाको बारीको कोदो काट्न पठाउने कार्य प्रअ शंकरले नै गरेको हुँदा यस्ता सामाजिक अभियानको शिको अरु ठाउँमापनि हुन सके थुप्रैका समस्या दुर हुन सक्ने उनको तर्क थियो ।  


‘हाम्रो उदेश्य नितान्त विद्यार्थीका समस्या ब्यबहारिक रुपमा समाधान गरौं भन्ने मात्रै थियो,’ प्रअ शंकरले भने ‘सघाएको फोटो खिच्ने वा त्यसलाई सामाजिक संजालमा राखेर सस्ततो लोप्रियता बटुल्ने हाम्रो कुनै योजना थिएन ।’


शिक्षाका रबिनाले शिक्षक विद्यार्थीले मिलेर आशाको बारीको कोदो काट्दै गरेका तस्बिरहरु सुटुक्क आफ्नो मोवाइलमा कैद गरेकी थिइन । ‘ती तस्बिरहरुले सकारात्मक सन्देश प्रवाह गर्लान कि, भन्ने ठानेर मात्रै मैले मेरो सामाजिक संजाल फेसबुकमा बेलुका ती तस्बिरहरु राखेको थिए,’ प्रअ शंकरले भने ‘आशाको समस्या समाधान गर्ने त्यो हाम्रो कामको आज चौतर्फी तारिफ भइ रहेको देख्दा खुसी लागिरहेको छ ।’


यो कार्यले  आशा, उनकी हजुर आमा तुलसी मात्रै नभइ गाउँ समाजपनि खुसी बनेको र आशाको समस्या समाधान गर्न पाउँदा उनका सहपाठी साथीहरु तथा विद्यालयका शिक्षिकाहरु पनि खुसी रहेको प्रअ शंकरले बताए ।


‘विद्यार्थीको घरको वातावरण राम्रो भएमा मात्रै विद्यालयमा उनीहरुले लगनका साथ पठन पाठनमा ध्यान दिन्छन् भन्ने मलाई लाग्छ,’ शंकरले भने ‘असहाय बालबालिकालाई पढाइमा मात्रै सघाएर हुँदैन समाजमा सकारात्मक परिवर्तन ल्याउन त्यस्ता विद्यार्थीको बोझहरु संभव भएसम्म विद्यालय परिवारले मिलेर समाधान गर्न सक्नु राम्रो रहेछ ।’


प्रअ शंकरका अनुसार विगतमा पनि यो विद्यालयका शिक्षक विद्यार्थीले मिलेर धेरै पटक सामाजिक कार्यहरु गरेका छन् । विद्यालय डाँडामा रहेको हुँदा किसानको मकै खान आएका बाँदलको बथान धेरै पटक शिक्षक विद्यार्थीले मिलेर धपाउन गएको प्रअ शंकरले बताए ।

‘तर, हामीले कहिलै हामीले गरेका ती सामाजिक कार्यको प्रचार गर्न चाहेनौं, किसान काममा ब्यस्त रहेको समयमा त्यो हाम्रो कतब्र्य हो भन्ने ठानेर मात्रै त्यस्ता काम गर्दै आएका हौं,’ शंकरले भने ‘ आशालाई सघाउन कोदो काट्न पठाउँदापनि मैले कसैलाई फोटो खिच्नु र त्यो सामाजिक संजालमा राख्नु भनेर भनेकै थिइन रबिना मिसले ल्याएको फोटोहरु राम्रो लागेर राखेको थिए । त्यो चर्चा बटुल्नका लागि थिएन ।’


त्यो दिन शिक्षक र बिद्यार्थीको सहयोगले झन्डै दुई मुरी जति कोदो संकलन गर्न सफल भएको आशाले जानकारी दिइन । उनका अनुसार थप एक मुरी जति कोदो बाँदरले स्वाहा पारेका थिए ।


प्रअ शंकरको घर झिमरुक – ८ गदही हो । ४६ बर्षीय प्रअ शंकरका अनुसार २०७३ सालदेखि उनी बालज्योति आधारभूत विद्यालयमा आएका हुन । त्यसयता यो बिद्यार्थी झिमरुक गाउँपालिकामा धेरै पटक प्रथम भइ सकेको छ ।

‘परीक्षा नजितमा हामी गाउँपालिकाकै प्रथम विद्यालय हो,’ उनले भने ‘हालसम्म हामी कहिलै दृतिय भएका छैनौैं।’
झिमरुक – ३ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य मिनकुमार खत्रीले विद्यालय परिवारले गरेको सामाजिक कार्यले यतिखेर निकै सकारात्मक प्रशंशा बटुलेको भन्दै खुसी साटे ।


‘उहाँहरु हामीलाई सोधेर वा भनेर असहाय बालिकाको बारीमा कोदो काट्न भने जानु भएको होइन,’ वडाध्यक्ष मिनकुमारले भने ‘ राम्रो काम गर्न हुटहुटी सबैमा हुनुपर्छ र राम्रो कामको लागि कसैलाई सोधिरहनु पर्दैन भन्ने उदाहरण विद्यालयले परिवारले प्रस्तुत गरेको छ ।’


किताब पढेर सैधान्तिक ज्ञान हासिल भएपनि बालबालिकाले धेरै ब्यबहारिक शिक्षा प्रत्यक्ष रुपमा आँफै काममा जोडिएर हासिल गर्ने हुँदा रचनात्मक कार्यका लागि प्रअ शंकरलाई उनले धन्यबाद दिएको बताए ।


गरिब, जेहेन्दार तथा असहाय बालबालिकालाई गाउँपालिकाको नीति अनुरुप सघाउँदै आएको भएपनि बालज्योति आधारभूत विद्यलायले ब्यबहारिक रुपमा पर्दशन गरेको सहयोगको भावना मानवताको उच्चतम नमुना मान्नु पर्ने उनले अथ्र्याए ।  

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *