काठमाडौं ,असार ४ । आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेपछि अदालतमै आमरण अनशन बस्न खोजेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
न्यायका लागि अब आफूसँग अदालतमै आमरण अनशन बस्नुको विकल्प नभएको बताउँदै उनी अनशन बस्न खोज्दा प्रहरीले पक्रेर लगेको हो । चलाउनेसँगै अन्य केही युवाहरू पनि पक्राउ परेका छन् ।
तीन वर्षअघि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेलाई नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय परिसरमै आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । आक्रमणमा संलग्नविरुद्ध उनले ज्यान मार्ने उद्योगमा मुद्दा दिएका थिए ।
मुद्दाको अन्तिम पेसीको दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको हो । सो मुद्दाको अन्तिम पेसी ५ असारलाई तोकिएको थियो ।
मन्त्रिपरिषद्ले गरेको मुद्दा फिर्ता लिने निर्णय आइतबार जिल्ला सरकारी वकिलको कार्यालयहुँदै जिल्ला अदालतमा दर्ता भएको छ ।
उपप्राध्यापक चलाउनेमाथि आक्रमणको आरोपमा नेविसंघका कार्यकर्ताहरू हरि आचार्य, योगेन्द्र रावललगायतविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधीन छ ।
आक्रमणबाट गम्भीर घाइते भइ चलाउने झण्डै एक महिना अस्पताल भर्ना भएका थिए । उनी लामो समय वैशाखी टेकेर हिँड्नुपरेको थियो ।
सो घटनामा आचार्य, रावलसँगै दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ र निरज रानामगर संलग्न रहेकोभन्दै चलाउनेले मुद्दा दिएका थिए ।
अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले घटनामा संलग्न विद्यार्थीको मुद्दा फिर्ता लिनेबारे आवश्यक प्रक्रिया अघि बढाएको थियो । तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुद्दा फिर्ता लिँदा कानुनको प्रतिकूल नहुने राय दिएका थिए ।
सोही आधारमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले निर्णय गरेर पठाएको फाइल कानुन मन्त्रालयमा थन्किएको थियो ।