काठमाडौँ,जेठ ३२ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले आठ जनालाई पक्राउ गरेको जानकारी दिए।
नेपालमा कुनै पनि एपको प्रयझग गरेर सट्टेबाजी खेलाउने प्रकियालाई गैरकानुनी मानिएको छ। प्रहरीले सोही कुरालाई मध्यनजर गर्दै वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा नेपालका चर्चित कलाकारहरू समेत रहेका छन्। पक्राउ पर्नेमा ‘बल्छी ध्रुवे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ र ‘राजु मास्टर’ नामले चर्चित कलाकार राजु पौडेलसमेत पक्राउ परेको स्रोतले जनाएको छ।
यद्यपि प्रहरीले पक्राउ परेकाहरूको नाम तत्कालका लागि गोप्य राखेको छ। उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वान एक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीको भनाइ छ।
प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत् एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो।