तुलसीपुर, जेठ ८ । तुलसीपुर मेट्रो कलेज विएएलएलबी अध्ययनरत विद्यार्थीले संविधान निर्माण प्रक्रिया र यसको कार्यान्वयनका अवस्थाका बारेमा छलफल गरेका छन् ।
संविधानविद् खिमलाल देवकोटासँग विद्यार्थीले संविधानको परिपालनामा देखिएको समस्याका बारेमा छलफल गरेका हुन । विद्यार्थी प्रकाश वलीले त्यसक्रमा संविधानले मौलिक हकका बारेमा उल्लेख गरेको भएपनि किन कार्यान्वयन भएको छैन, के संविधानमा लेखेर मात्रै अधिकार प्राप्त हुन्छ ? भनेर प्रश्न गरेका थिए ।
संविधानले राज्यलाई जिम्मेवार बनाउनुका साथै जनताका आवश्यकता पुरा गर्ने हैसियतमा लैजाने वताउँदै संविधानविद् देवकोटाले संवैधानिक अधिकारको ग्यारेन्टी गराउनका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
राज्यले संविधानमा उल्लेख गरेका कुराहरु नागरिकलाई उपलब्ध गराउनका लागि हैसियत वढाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।
सानो देशलाई संघीयतामा लगेर खर्चिलो बनाएको भन्ने कतिपयको गुनासो सुन्न पाइन्छ नि ? नेर बिद्यार्थी समिर पोखरेलको जिज्ञासाको जवाफ दिदै संविधानविद् देवकोटाले संघीयता देशको आधार र जनसंख्याका आधारमा मापन नहुने जबाफ दिएका थिए ।
उनले विश्वका ठूला ठूला मुलुकमा पनि संघीयता नभएको तर अत्यन्त साना मुलुकमा पनि संघीयता भएको उदाहरणहरु दिएका थिए । ‘हामीले संघीयतालाई कत्तिको अधिकार सम्पन्न बनाएर लैजान्छौ भन्ने कुरा महत्वपूर्ण हो ’ संविधानविद् देवकोटाले भने ।
स्थानीय तहमा कानुनी अधिकार भन्दा पनि मेलमिलापको अधिकार दिइएको भन्दै उनले स्थानीय तहका पदाधिकारीहरुले सोही अनुसार कार्यसम्पादन गर्नुपर्ने जोड दिएका थिए ।
‘स्थानीय तहले मेलमिलाप गराउने हो तर यहाँ कानुनी काम पनि भइरहेको छ यसले जनतामा भ्रम फैलदै गएको छ ’ संविधानविद् देवकोटाले भने ।