तुलसीपुर,जेठ ५ । देउखुरीको फल्कापुरमा २ बस एक(आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ की ४२ वर्षीया शोभा परियार रहेकी छन्। शोभाका दुई छोरापनि दुर्घटनामा परी घाइते भएका छन्।
लमही(भालुवाङ सडकखण्डको लमही नगरपालिका-३ फल्कापुरमा बस एक आपसका ठोक्किएर दुर्घटना भएको हो।
वीरगञ्जबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस र लमहीबाट सिसहनियाँतर्फ नम्बर लिन जाँदै गरेको लु २ ख ७८५ नम्बरको माइक्रोबस शुक्रबार बिहान साढे ५ बजेको समयमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
वीरगञ्जबाट तुलसीपुर जाँदै गरेको बसमा बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किँदै गरेका मजदुर सवार रहेका थिए। लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन्।
दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन् ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ।
घाइतेहरूलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगञ्जतर्फ रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।