दाङ, जेठ ४ । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद विद्यापीठका नवनियुक्त डीन प्रा. डा. चन्द्रप्रसाद भुसालले पदभार ग्रहण गरेका छन ।
गत बैशाख ३० गते कार्यकारी परिषद्बाट नियुक्त हुनु भएका प्रा. डा. भुसालले डीनको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा, उपकुलपति कार्यालयका योजना, कार्यक्रम तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरजकुमार लामा, उपकुलपति कार्यालयका शाखा प्रमुख विनयकुमार पोख्रेललगायतका कर्मचारीहरुको उपस्थितिमा नवनियुक्त डीन प्रा.डा. भुसालले पदभार सम्हालेका हुन ।
पदभार ग्रहण गर्दै प्रा।डा। भुसालले सबैको साथ र सहयोगबाट आयुर्वेद विद्यापीठका गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
आफु एक्लैको प्रयासले आयुर्वेद विद्यापीठका गतिविधि अगाडि बढाउन नसक्ने भन्दै उनले भने, ‘मेरो एक्लो प्रयासले यो संस्थालाई अगाडि बढाउने भन्दा सबैको साथ, सहयोग र सामुहिक कार्यको आवश्यकता पर्दछ । यसका लागि मैले सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’
उक्त अवसरमा शिक्षाध्यक्ष प्रा.डा.खतिवडाले आयुर्वेद विद्यापीठ विश्वविद्यालयको महत्त्वपूर्ण अङ्ग भएकाले यसको महिमालाई उचो राख्ने गरी काम गर्न नव नियुक्त डीनलाई निर्देशन दिए ।