तुलसीपुर, बैशाख २० । तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएका बसहरूबाट डिजेल चोरी आरोपमा पक्राउ परेका कारधनीसहित तीन जना धरौटीमा छुटेका छन ।
बुधबार जिल्ला अदालते उनीहरुलाई जनही २० हजार धरौटीमा छोड्न आदेश दिए संगै उनीहरु धरौटी बुझाएर छुटेका हुन ।
चैत २२ गते बिहान २ बजे बसपार्कमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका १८ वर्षकै विशाल रावतलाई तेल चोरी गर्दागर्दै डिउटीको प्रहरीले नियन्त्रणमा लिएको थियो।
ना ४ च ५७८७ नम्बरको कारमा आएका उनीहरूले तुलसीपुरको बसपार्कमा पार्किङ गरिराखेको ना ४ ख ६४९५ नम्बरको बसबाट डिजेल चोरी गरिरहेको समयमा पक्राउ परेका थिए ।
उनीहरुको बयानका आधारमा उक्त कार तुलसीपुर – ८ का दिलीप विकको रहेको खुलेको थियो। विक कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन ।
पक्राउ परेका दुई युवाको बयानका आधारमा करिब दुई हप्ता पहिले कारधनी विकलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
कारधनीसहित तीनै जनालाई जनही २० हजार धरौटीमा छोड्न अदालतले आदेश दिएपछि तोकेका धरौटी बुझाएर उनीहरु छुटेका हुन ।