२०८२ माघ २६ गते सोमवार

पल शाह प्रकरणः १५ दिनभित्र विपक्षी झिकाउन उच्च अदालतको आदेश

पोखरा ,माघ २३ । उच्च अदालत पोखराले अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा १५ दिनभित्र विपक्षी झिकाउने आदेश दिएको छ।

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय र पल शाह पक्षले पुनरावेदन गरेका कारण विपक्षी झिकाउने आदेश दिएको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले बताए।

उच्च अदालत पोखराका कामु मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको इजालसले विपक्षी झिकाउने आदेश दिएको हो।

‘दोहोरो पुनरावेदन परेको छ, नेपाल सरकार र पल शाहको तर्फबाट। दोहोरो पुनरावेदन परेको अवस्थामा एउटाको पुनरावेदन अर्कोलाई सुनाउने आदेश भएको छ’, उनले भने।

उनका अनुसार उच्च अदालतले १५ दिने सूचना जारी गर्नेछ। १५ दिनपछि पेशी तोकिने पौडेलले जानकारी दिए।

जिल्ला अदालत नवलपुरले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएर बाल यौन दुराचारको आरोपमा साढे २ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेपछि दुवै पक्ष पुनरावेदन गएका थिए।

नाबालिग बलत्कारको अभियोग लागेका शाहविरुद्ध तनहुँ र नवलपुरमा मुद्दा परेको थियो। गएको माघ ३ गते जिल्ला अदालत तनहुँले शाहलाई सफाइ दिइसकेको छ।

२०७८ फागुन ११ गते पल शाहविरुद्ध नाबालिगका अभिभावकले १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर जबरजस्ती करणीको अभियोगमा उजुरी दर्ता गराएका थिए।

उजुरी परेपछि १५ फागुनमा शाह आफै जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर अत्मसमर्पण गरेका थिए।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *