२०८२ माघ २६ गते सोमवार

कपिलवस्तु अस्पताल मुलुककै सर्वोत्कृष्ट

कपिलवस्तु,माघ ७ । कपिलवस्तु सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा देशभरकै अस्पतालमध्येमा सर्वोत्कृष्ट बन्न सफल भएको छ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको न्यूनतम सेवा मापदण्ड (एमएसएस-मिनिमम सर्भिस स्ट्यान्डर) स्रोत व्यक्तिको प्रतिनिधिका रूपमा गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. उत्तम पच्याले कपिलवस्तु अस्पताललाई ९६ प्रतिशत अङ्कसहित सर्वोत्कृष्ट अस्पताल घोषणा गरेका हुन ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले अस्पतालमा आयोजना गरेको कार्यक्रममा कपिलवस्तु अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अङ्क ल्याएको स्रोत व्यक्ति पच्याले बताए ।

निर्देशनालयले दुई दिन अस्पतालको सबै पक्षको अनुगमन र मूल्याङ्कन गरी स्वास्थ्य मन्त्रालयले अस्पतालबाट प्रदान हुने सेवा, जनशक्ति, सुशासन, पारदर्शितालगायतका विषय समेटेर मूल्याङ्कन गरेको हो।

अस्पतालले आर्थिक वर्ष २०७९/८० मा देशभरका सेकेन्डरी समूह ‘ए’अन्तर्गतका अस्पतालमा राम्रो सेवा दिइरहेकाले नेपालको सर्वोत्कृष्ट अस्पताल बनेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका एमएसएस फोकल पर्सन कौशल भण्डारीले बताए ।

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले अझै केही कुरामा सुधार गर्न बाँकी रहेको बताए ।

“हामी ती सबै कुरा सुधार गरेर आगामी वर्ष शतप्रतिशत लक्ष्य हासिल गर्ने लक्ष्यमा काम गरिरहेका छौँ,” उनले भने।

कार्यक्रममा कपिलवस्तु अस्पतालमा विगत लामो समयदेखि कार्यरत अहेव प्रवीणकुमार मिश्रलाई यस आर्थिक वर्षको सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरिएको थियो।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *