२०८१ बैशाख ११ गते मङ्गलवार

तुलसीपुरमा युवाहरुले थाले चारलेन मर्मत

तुलसीपुर, माघ ६ । सडक स्तरोन्नती गर्नुको साटो जताततै भताभुङ र लथालिंग पारेपछि बाध्य भएर तुलसीपुरमा क्रियाशिल युवा व्यवसायीहरुले उपमहानगरपालिका क्षेत्र भित्रको सडक मर्मतको काम विहिवारदेखि थालेका छन् ।

ती युवाहरुले तुलसीपुर उपमहानगरपालिका संगको समन्वयमा आफ्नै लगानीमा सडक किनारा एवं बीच बीचमा परेका खाडलहरु पुर्न थालेका हुन् ।

तुलसीपुर— घोराही खाडल मर्मत अभियान नाम दिएर त्यस यस क्षेत्रमा क्रियाशिल युवा व्यवसायीहरुले पवन कुमार योगिको नेतृत्वमा यो अभियान थालेका हुन् । काम थाल्नु अघि युवाहरुले तुलसीपुर उपमहानगरपालिकामा निवेदन दिएर ती खाडलहरु पुर्नकालागी पायक पर्ने खोलाहरुबाट ग्राभेल निकाल्न अनुमति मागेका थिए ।

खाडलहरु पुर्नकालागी उपमहानगरपालिकाले प्रारम्भिक वातावरणिय मुल्यांकन भैसकेका स्थानहरुबाट ग्राभेल निकाल्न अनुमति दिएपछि खाडल पुर्ने काम सुरु भएको युवा अभियानका अभियन्ता पवन कुमार योगीले बताएका छन् ।

यस क्षेत्रका कम्तिमा डेढ दर्जन बढि व्यवसायीहरुले ५ थान टिप्पर, १ थान रोलर, र २ वटा व्याकुहोलोडर प्रयोग गरेर खाडल पुरीरहेका छन् ।

‘दैनिक यात्रा निकै कष्टकर भएकाले सामाजिक अभियान अन्तर्गत यो काम थालेका हौं, सडक पुरै स्तरोन्नती नभएपछि यो मर्मतले केहि महिनाकालागी यातायात सेवा केहि सहज हुने छ, र दुर्घटना न्युनिकरणमा पनि हाम्रो अभियानले सहयोग पु¥याउने छ’, अर्का युवा अभियन्ता कृष्ण खड्काले भने ।

उनीहरुले ग्रावेल वाहेकका सवै काम आफैले आर्थिक व्यवस्थापन गरेर गरीरहेको बताएका छन् । उनीहरुले खाडल र फाटेका किनाराहरुमा ग्रावेलसंगै आवस्यकता अनुसार माटो र पानी हालेर रोलरले दवाउंदै सडकमा खाडल पुर्न थालेका छन् ।

विहिवार तुलसीपुरको हात्तिखौवादेखि काम सुरु भएको छ । ती युवाहरुले तुलसीपुर उपमहानगरपालिकाको मज्गै सम्मका खाडलहरु पुर्ने योजना बनाएका छन् ।

त्यसकालागी कम्तिमा एक साता लाग्न सक्ने भन्दै सोहि अवधिको ग्रावेल बोक्ने चलान पुर्जिको समेत अनुमति संबन्धित तहहरुबाट लिएका छन् ।

यस अघि जिल्ला समन्वय समितिको समन्वयमा बसेको बैठकमा चारलेन परियोजनाको निर्माण कम्पनीले पनि आफ्ना श्रोत साधन लगाएर खाडल पुरे पनि अविरल बर्षातका कारण एक महिना पनि टिक्न सकेन ।

त्यो वेला पनि घोराही र तुलसीपुर उपमहानगरपालिकाले आ-आफ्नो पायक पर्ने क्षेत्रबाट नदिजन्य पदार्थ उठाउन अनुमति दिएका थिए ।

निमर्माण कम्पनीले समयमा काम नगरी सडक भत्काएर अलपत्र पारीदिंदा कम्तिमा ७ मिटर कालोपत्रे सडक पनि अहिले रहन सकेन । दुवै किनाराबाट फाट्दै अहिले मस्कीलले ३ मिटरमा खुम्चिएको छ ।

झरीमा पानी ओतलाग्ने सडक किनाराका प्रतिक्षालयहरु भत्काइएका छन् । गर्मिमा बस कुदा सितल लिने रुखहरु काटिएका छन् । सडक किनाराका धरापमा परेका विद्युतका पोलहरु ढल्ने प्रतिक्षामा छन् ।

तर चारलेन सडक निर्माणको जिम्मा लिएको भारतको मुम्वै स्थीत तथ्य इन्जिनियरीङ एण्ड इन्फा्र प्रोजेक्ट प्रालिले पेटि ठेकेदार फेरेको फेर्यै छ । सरकारबाट विना सर्त ४ पटक म्याद थापाएको पनि छ । तर काम गराउने सरकार निर्लज्ज भएर म्याद थप गरेको गर्यौ छ ।

२८ दशमलव १९ किमि सडकको स्तरोन्नती गर्नकालागी नेपाल सरकार सडक विभाग माताहतको रोड इम्प्रुभमेन्ट प्रोजेक्ट माताहतमा काम हुने गरी घोराहीको कुइरेपानी देखि तुलसीपुरको हात्तिखौवा सम्म कतै चारलेन त कतै दुइलेन बनाउने गरी निर्माण सम्झौता भएको चार बर्ष नाघि सकेको छ ।

सुरुमा ३३ महिनामा काम सक्ने गरी परीयोजनासंग निर्माण सम्झौता भएको होे । सुरुको संझौता भएको सन २०१९ जनवरी २८ मा । तर तीन पटक म्याद थप गर्दा पनि अहिले सम्म सडक स्तरोन्नतीको कामको भौतिक प्रगति जम्मा ९ प्रतिसत मात्रै छ ।

तथ्यले सुरुमा यहिकै अनुप पाण्डे, जनक डांगी र जविन रानालाइ आधिकारीक प्रतिनिधिका रुपमा खटाएको थियो ।

उनीहरुबाट काम हुन नसके पछि तथ्य इन्जिनियरीङकै प्रवन्ध निर्देशक प्रविण ब्रम्हदेव पाण्डे दाङमै आएर भिग्रेली होटलको दक्षिण तर्फको चौरमा त्रिपाल टागी मन्च बनाएरै त्यहि बाट यी तिनै जनालाइ हटाएर नयां प्रतिनिधि एकेन्द्र खड्कालाइ नियुक्त गरेको पत्र परीयोजना कार्यालयमा तथ्यले पठायो ।

एकेन्द्र बाट पनि काम सुन्य प्राय भएपछि विजय पाठकलाइ नियुक्त गरेको उद्घोष गरे । विजय पाठक प्रतिनिधि भैरहेका वेला नेपाल सरकार परीयोजना कार्यालयले ठेक्का रद्धको सुचना निकालेपछि तथ्य इन्जिनियरीङले श्रेष्ठ कन्सट्रक्शनका सन्चालक रोशन श्रेष्ठलाइ प्रतिनिधिक रुपमा नियुक्त गरेको जानकारी दियो ।

स्थानिय सरकारको वसमा छैन
चारलेन स्तरोन्नतीको काम नत स्थानिय सरकारको वसमा छ, नत यहांको डिभिजन सडक कार्यालयको नै । यहि कारण स्थानिय सरकार र प्रदेश सरकारले पनि यो ठेक्काका सन्दर्भमा अर्थपुर्ण अभिव्यक्ति दिएका छैनन् ।

संघिय माताहतमा रहेको भारतीय सहयोग संग जोडिएको यो परीयोजना सन्चालनमा ल्याउन संघिय सरकारलेनै पहल गर्नुपर्ने स्थानिय सरकारका प्रमुखहरुले बताउंदै आएका छन् ।

‘यति ठुलो परीयोजनालाइ तोकिएको गुणस्तरमा हामीले आंक्न सक्दैनौं, हामीले काम चलाउ मर्मत पनि बाध्य भएपछि मात्रै गर्ने हो’, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले भने ।

त्यसैगरी घोराही उपमहानगरपालिकाले पनि सडक चाडै स्तरोन्नती गर्न आफुले प्रदेश र संघिय सरकारसम्मै आग्रह गरेपनि निर्माण कम्पनीले कामै गर्न नसकेको बताएको छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संघिय परीयोजनालाइ समयमा सम्पन्न गर्न संघिय सरकार र संघिय सांसदहरुको भुमिका अपरीहार्य हुने बताएका छन् ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *