२०८२ जेष्ठ ११ गते शुक्रवार

सभामुख दर्ता गर्न समय बाँकी छ,अन्य दलसँग छलफल गरेर निष्कर्ष निकाल्छौँ ः प्रवक्ता महत

काठमाण्डौ,माघ ४ । नेपाली कांग्रेसले सहयोगी दलहरूसँग छलफल गरेर प्रतिनिधिसभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरूसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको कांग्रेस प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको पनि बताए।

बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरूका बारेमा उपस्थित नेताहरूले जानकारी गराएको र अन्य दलहरूसँगको छलफलबाट निष्कर्ष आएपछि बताइने प्रवक्ता महतको भनाइ छ।

उनले भने, ‘अझै दर्ता समय केही बाँकी छ, यो बीचमा अन्य दलहरूसँग छलफल गरेर निष्कर्ष निकाल्छौँ। हामीले अन्य दलको सहयोग लिएर उम्मेदवारी दर्ता गर्नेछौँ। व्यक्ति टुंगो लगाउने कुरामा आन्तरिक सहमति भइसकेको छ। हामीले जसपा, एकीकृत समाजवादीसँग पनि कुरा गर्छौँ, प्रधानमन्त्रीको पार्टीसँग पनि छलफल गर्नेछौँ। हामी समझदारीमा निष्कर्ष निस्कियोस् भन्ने पक्षमा छौँ, किनभने यी पदहरू संवैधानिक पद हुन्, संविधानको रक्षा गर्नुपर्ने हुन्छ।’

 

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *