दाङ,माघ २ । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा सत्तारुढ दलबाट मनोनयन दर्ता भएको छ।
प्रदेश सभा सचिवको कार्यकक्षमा सभामुखको मनोनयन दर्ता भएको हो।
सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको हो।
सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन्।
यस्तै, उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन्।
मनोनयन दर्ताको समय बेलुका ५ बजे सम्मलाई दिइएको छ। नेपाली कांग्रेसले भने सभामुख र उपसभामुखको लागि अझै मनोनयन दर्ता गरेको छैन।
भोलि सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए।