२०८१ बैशाख १३ गते बिहिवार

दिनकै १६० लिटर दूध बोकेर मोटरसाइकलमा हुँइकिन्छन् सुशील

तुलसीपुर, पुस २७ । पुसको दिनमा खपिनसक्नु जाडो छ। यस्तोमा एकाबिहानै मोटरसाइकलमा भारी राखेर यात्रा गर्नु कम्ती सकसको काम होइन।

दंगीशरण गाउँपालिका-३, एकली गाउँका ३१ वर्षीय सुशील देवकोटा यस्तै यात्रामा भेटिए। उनी बिहान पाँच बजे घरबाट मोटरसाइकलमा निस्किन्छिन्। मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएका हुन्छन् जसमा दैनिक १६० लिटरसम्म दूध हुन्छ।

अहिले जाडोमा मोटरसाइकलमा दूधको भारी केही कम भएको छ। जाडो हटेपछि दैनिक दुई सय लिटरसम्मको भारी हुन्छ। यति भारी उनी एकै खेपमा बोक्छन्।

उनको घरबाट तुलसीपुर बजार करिब २५ किलोमिटर दूरीमा छ। उनले यसरी दूधको भारी बोकेको सात वर्ष भयो। जाडो मौसममा बजारमा दही र लस्सीको खपत घट्ने भएकाले सुशीलको मोटरसाइकलमा दूधको भारी पनि कम हुने हो। सुशीलले पालेका गाईभैंसीले दैनिक ४० लिटर दूध दिन्छन्। थप दूध गाउँबाट संकलन गरेर बजार पुर्‍याउँछन्।

उनको ‘देवकोटा भैंसी फर्म’ छ। आठ वटा भैंसी, दुइटा गाई, तिनका पाडा र बाच्छाबाच्छी छन्। यीमध्ये चार भैंसी र दुई गाई दुहुना छन्। उनी करिब आधा दूध डेरी पसल र होटलहरूमा दिन्छन्। बाँकी घरघर पुर्‍याएर फुटकर बेच्छन्। सुशील आफ्नो घरबाट निस्केपछि बाटोका चोकचोकमा किसानबाट दूध संकलन गर्दै अघि बढ्छन्।’बिहान अँध्यारै घरबाट निस्किन्छु। तुलसीपुर उपमहानगरपालिका, अश्वाराको विद्युत कार्यालय नजिक पुग्दा साढे ६ बजेको हुन्छ। त्यहाँबाट १३ लिटर दूध उठाउँछु,’ उनले भने।

बजारमा ढिलोमा सात बजे पुगिसक्छन्। सबै ठाउँमा दूध पुर्‍याइसक्दा बिहानको करिब साढे नौ बज्छ। यसपछि घर फर्किन्छन्। बजारमा बिहान सात बजे दूध पुर्‍याउन बिहान तीन बजेदेखि नै काम काम गर्नुपर्छ। बुबा टीकाराम, आमा तारा र श्रीमती देवा बिहान तीन बजे उठेर काम थाल्छन्।

गाईभैंसी र तिनका बाच्छा, पाडाको स्याहारसुसार गर्ने, दुहुने र आहारा तयार गर्ने काम गर्नुपर्छ। पाँच बच्दा सुशील दूध बोकेर हिँडिसक्छन्। देवा दिउँसो स्थानीय एक निजी विद्यालयमा पढाउँछिन्। सुशील र देवाका दुई सन्तान छन्, ठूला आठ वर्षका र साना दुई वर्षका। उनीहरू सबै काम सकेर बेलुका नौ बजे सुतिसक्छन्।

सुशील भन्छन्, ‘नौ बजे नसुते बिहान अँध्यारै उठेर काम गर्न सकिँदैन।’ यही कामबाट आफूले वार्षिक आठ लाख रूपैयाँसम्म बचत गर्न सकेको उनले बताए। हालसम्म भौतिक संरचना र गाइभैंसीसहित लगानी ३० लाख रूपैयाँ पुगेको उनको भनाइ छ।

बजारमा दूधको फुटकर मूल्य प्रतिलिटर ९० रूपैयाँ छ। उनले डिलरमा बेच्दा प्रतिलिटर ८० रूपैयाँ प्राप्त हुन्छ। सुशीलका अनुसार उनी सकेसम्म फुटकर नै बेच्छन्। आफ्नो उत्पादनबाहेक गाउँको दूध संकलनबाट दैनिक सरदर एक हजार दुई सय रूपैयाँ आम्दानी गर्छन्। सबै खर्च कटाएर दैनिक दुई हजार रूपैयाँ जति बचाउँछन्।

 

सुशील यसअघि वैदेशिक रोजगारमा थिए। उनी तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा कक्षा १२ मा पढ्दै थिए। परिवारका एक्ला छोरा उनी घरको कमजोर आर्थिक अवस्था सुधार्ने विचारले २०६६ सालमा साउदी अरब पुगे। पाँच वर्षपछि घर फर्के। बिहे भयो। श्रीमती देवाले स्वदेशमै काम गर्न आग्रह गरिन्। आमाबुबाको पनि यस्तै भनाइ थियो।

गाउँघरमा प्रायः एक–दुई गाईभैंसी, बाख्रा इत्यादि पालेकै हुन्छन्। सुशीलको घरमा पनि एउटा दुहुनो भैंसी थियो। बेलुकाको दूध घरमै खान्थे, बिहानको बेचेर घरखर्च जोहो गर्थे। गाउँकै एक व्यक्ति किसानहरूबाट दूध संकलन गर्थे। सुशीलको घरबाट दैनिक पाँच लिटर लैजान्थे। संकलित दूध तुलसीपुर बजार पुर्‍‍याउँथे।

एक पटक आजभोलि भन्दाभन्दै तीन महिनासम्म सुशीलको घरमा दूधको पैसा आएन। डेरीले दिएको छैन भन्ने जवाफ पाए। एक दिन सुशील डेरीमै पुगे। कुरा बुझ्दा पैसा बाँकी नरहेको तर आफूले नपाएको थाहा पाए।

यही घटनापछि सुशील गाउँबाट दूध संकलन गरेर बजार पुर्‍याउने काममा लाग्ने निष्कर्षमा पुगे। उनले २०७२ वैशाखमा काम सुरू गरे। पहिलो दिन दस लिटर दूध बोकेर बजार पुगे। गाउँलाई प्रत्येक महिना पैसा दिने वाचा गरे। उनले हप्ता दिनमै ५० लिटर दूध संकलन गरे।

सुरूमा उनी गाउँमा प्रतिलिटर ३७ रूपैयाँमा दूध संकलन गर्थे, डेरीलाई ४२ रूपैयाँमा बेच्थे। दूध संकलन गरेर सार्वजनिक बसबाट ढुवानी गर्थे। तुलसीपुर बसपार्कबाट डेरीकै गाडी आएर लैजान्थ्यो। सुशीलको हातमा दैनिक दुई–तीन सय रूपैयाँ पर्न थाल्यो। कामको अनुभव बढ्दै गयो।

उनले दूधको व्यवसायमा राम्रो सम्भावना देखे। उनी भैंसी पाल्ने निष्कर्षमा पुगे। एक लाख ६० हजार रूपैयाँमा दुइटा दुहुना भैंसी किने। एउटा फर्म दर्ता गर्ने विचारले सरकारी नियमअनुसार चार जना छिमेकीको सहमति लिई चार किल्ला प्रमाणित गराएर वडा कार्यालयबाट सहमति लिए। करिब ५० किलोमिटर टाढाको घोराहीस्थित घरेलु उद्योग कार्यालय पुगेर निवेदन लेखाए। निवेदन तोक लगाउन जाँदा पो थाहा पाए, फर्म दर्ता हुन कम्तीमा पाँच वटा भैंसी चाहिन्छ।

 

फर्म दर्ता भएन। तत्कालै पाँच वटा भैंसी हुने सम्भावना पनि भएन। परिवारमा सल्लाह भयो। जे पर्ला भन्ने ठानेर कागजी प्रक्रिया पूरा गरे। करिब तीन महिनापछि अर्को निवेदन पेस गरेर २०७४ सालमा ुदेवकोटा भैंसी फर्मु दर्ता गराए। आम्दानी बढ्दै गयो। सुशीलको आँट पनि बढ्यो, तिमी आँट म पुर्‍याउँछु भनेजस्तै भयो।

केही महिनामै भैंसी थपेर पाँच वटा पुर्‍याए। २०७८ सालमा बर्दियाबाट चार लाख ५० हजार रुपैयाँमा मुर्रा जातका तीन वटा भैंसी किने। गत वैशाखमा बुटवलबाट दुई लाख रूपैयाँमा दुइटा जर्सी गाई ल्याए।

सुशीलले यही मंसिर २५ गतेदेखि पुस १ गतेसम्म बाँकेमा भैंसी पालनसम्बन्धी तालिम लिने अवसर पाए। भेटेरिनरी तथा पशुविज्ञ केन्द्र घोराहीले सुशीललाई उत्कृष्ट किसानका रूपमा छनोट गरेर तालिममा पठायो। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको उक्त तालिममा प्रदेशका १२ जिल्लाका १२ जना किसान सहभागी थिए। तालिम पाएपछि सुशीलको उत्साह बढेको छ। भैंसीको गोठ, आहारा, स्याहारसुसार लगायतका तरिका सिक्न पाए।

उनले भने, ‘तालिम धेरै उपलब्धिमूलक भयो। आफ्नै अनुभवले गर्दै थिएँ, केही राम्रा तरिका सिक्न पाएँ। खुसी लागेको छ।’ कामले काम सिकाउँछ भनेझैं सुशील गाईभैंसी बिरामी हुँदा कतिपय रोगका लक्षणहरू थाहा पाउँछन्। आफ्नै अनुभवअनुसार औषधि दिन्छन्। सुई आफैं लगाउँछन्।

उनी आफ्नो फर्म क्रमशः बढाउँदै जाने योजनामा छन्। मोटरसाइकलमा दूधका क्यान बोकेर कम्तीमा २५ किलोमिटर यात्रा गर्नु सजिलो काम होइन। उनी सकेसम्म चाँडै चारपांग्रे, नभए तीनपांग्रे भए पनि एउटा साधन किनेर दूध ढुवानी गर्ने विचारमा छन्।

 

सुशीलले घाँसका लागि गाउँमै एक बिघा जमिन भाडामा लिएका छन्। मौसमअनुसार घाँस लगाउँछन्। पराल र भुस गाउँमै किन्छन्। घाँस काट्ने मेसिन राखेका छन्। मोटरबाट तान्ने व्यवस्था गरेका छन्।

उनले काम लागि तलब दिएर सहयोगी पनि राखे। तीन जना काम गर्न त आए। तर टिकेनन्।’ुगाईभैंसीको स्याहार गर्ने काममा लाज मान्छन्। बिहान तीन बजेदेखि नै काम गर्नुपर्छ। यसरी काम गर्न कोही पनि तयार हुँदैन,’सुशीलले भने। अहिले परिवारका सदस्यले नै काम धानेका छन्।

आफूभन्दा पछि पशुपालन सुरू गरेका तीन जना युवक पेसा छाडेर हिँडेको उनले बताए। उनका अनुसार यसको कारण पनि पशुपालनमा पर्ने श्रम नै हो। श्रम गरेर आम्दानी गर्नु सजिलो काम होइन। सुशीलले पनि अनेक समस्या भोग्नुपर्छ। झरीको समयमा गाईभैंसीको स्याहारसुसार गर्न निकै कठिन हुन्छ। दूध ढुवानीमा पनि कठिनाइ हुन्छ। कहिलेकाहीँ अर्को साधन खोजेर पढाउनु पर्छ। अहिले बाटो कालोपत्रे भएपछि भने निकै सजिलो भएको उनले बताए।

मोटरसाइकलमा दूधका क्यान बोकेर हिँड्दा ट्राफिक प्रहरीले समाउने गरेको उनले बताए। उनले भने, ‘धेरै पटक जरिवाना तिरेको छु। मोटरसाइकलमा यसरी बोक्ने होइन, गाडी किन भन्छन्।’ सुशीलको अनुभवअनुसार मानिसहरूले किसानलाई सम्मानको नजरले हेर्दैनन्’ुबजारमा रक्सी बेच्नेलाई साहुजी भनेर बोलाउँछन्। दूध बेच्नेलाई हेपेर दूधवाला भन्छन्,’उनले भने।

किसानप्रति सम्मानको व्यवहार नभएका कारणले पनि युवाहरू कृषिमा आकर्षित हुन नसकेको उनको भनाइ छ। ुबहुराष्ट्रिय कम्पनीका मदिरा बेच्नेको सम्मान हुन्छ। आफ्नै ठाउँमा रातदिन मेहनत गरेर राष्ट्रलाई टेवा दिने हामीजस्ता किसान किन हेपिन्छौंरुु सुशीलले प्रश्न गरे।

उनले हालसम्म कतैबाट अनुदान नपाएको बताए। राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उनको धारणा छ।

 

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *