२०८१ जेष्ठ ११ गते शुक्रवार

राजपुरमा स्थानीय पाठ्यक्रम लागु

दाङ, पुस १३ । दाङको राजपुर गाउँपालिका वडा नं. ५ गंगदीको साधारण माध्यामिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागु भएको छ ।

गाउँपालिकाको संक्षिप्त चिनारीअन्तर्गत भौगोलिक अवस्थादेखि धार्मिकस्थल, कृषि, सामाजिक विषयवस्तुसंगै जीवनोपयोगी शिक्षाका कुराहरु स्थानीय पाठ्य क्रममा समेटिएको छ ।

कक्षा ८ मा अध्यनरत सुनिता चौधरी र कक्षा ८ मै अध्ययनरत संकल्प केसीले स्थानीय पाठ्यक्रम लागु भएकोमा खुसी ब्यक्त गरे ।

कहिलै नदेखेका र सधैँ किताबमा लेखिएका बाहिरका विषयवस्तु मात्र पढिरहनु भन्दा आँफैले देखेका चिनेका, जानेका कुराहरु पाठ्क्रममा पढ्न पाउँदा मन रमाउने गरेको उनीहरुले प्रतिक्रिया दिए ।
गाउँपालिकाको भौगोलिक अवस्था, खेतीपाती, धार्मिक स्थलसँगै सामाजिक समस्या र सवालका बारेमा अध्ययन गर्न पाउँदा खुसी लाग्ने गरेको केसीले बताए ।

गाउँपालिकाले यस वर्षको नयाँ शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको हो ।

स्थानीय हुनुको नाताले गाउँपालिका भित्रको धेरै विषयवस्तुको जानकारी पहिले नै हुने हुँदा हप्तामा एक दिन मात्रै पढाई हुने भएपनि त्यसले पढाइमा रुची बढाउने गरेको केसीले बताए ।

विद्यालयका स्थानीय विषय शिक्षक इन्द्रबहादुर भण्डारीले पनि स्थानीय पाठ्यक्रमको अध्ययनका लागि विद्यार्थी उत्साहित तथा जिज्ञाशु बन्ने गरेको प्रतिक्रिया दिए ।

तर, उनले पढाउने गरेको पुस्तक तयार नुहँदा केही समस्या रहेको स्वीकार गरे । त्यस्तै प्रयोगत्मक कक्षाको लागि आवश्यक तयारी गर्न जरुरी रहेको औंल्याए ।

शिक्षक भण्डारीका अनुसार स्थानीय पाठ्क्रमअन्तर्गत वडा, स्थानीय सामाजिक संस्था र गाउँपालिकाको सामान्य जानकारी, राजपुर गाउँपालिकाको भौगोलिक, सामाजिक र सांस्कृतिक अवस्थाको बारेमा जानकारी पढाइ हुने गरेको छ ।

त्यस्तै असल आनीबानी, व्यवहार र आचरणको पहिचान गरी अनुशरण गर्ने बानीको अभ्यास, आफ्नो वरपरका वातावरणमा भएका वस्तुहरूको पहिचान, महत्वबोध तथा बालबगैँचा निर्माण जस्ताकुरा पढाउने गरिएको छ ।

त्यस्तै सरसफाईमा सहयोग, स्थानीय प्रविधि, अन्य बाली, फलपूmल, पशुपंक्षी पालनको पहिचान, उपयोग, विपद्को परिचयका साथै प्राकृतिक र मानव सिर्जित विपदका जोखिमका लागि सावधानीसँगै राजपुर गाउँपालिकामा भएका स्थानीय पेसा, व्यवसाय, प्रविधिको पहिचान, उपयोग र संरक्षणका बारेमा पढाउने गरेको शिक्षक भण्डारीले बताए ।

विद्यालयमा स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ कक्षासम्म करिब ७ सय बढी विद्यार्थीले अध्ययन गरिरहेका छन ।

नयाँ शैक्षिकसत्रदेखि गाउँपालिकाका ३२ वटा विद्यालयमा लागू गरेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले जानकारी दिए ।

स्थानीय पाठ्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि गाउँपालिकाले हिउँदे अधिवेशनबाट विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागू गर्न थालेको उनले बताए ।

 

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *