२०८२ असार ७ गते आइतवार

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता ः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ,पुस १२ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन ।

आज नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँग खुमलटारमा भएको भेटमा उनले यस्तो बताएका हुन ।

प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको बताए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने उनको भनाइ छ ।

‘महासङ्घ अर्थतन्त्र जोगाऔँ भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनु भयो, त्यही विषयमा तपाईँहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ,उनले भने ।’

प्रधानमन्त्री प्रचण्डले महासङ्घकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छिट्टै समस्या समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरे ।

भेटघाटमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले प्रचण्डलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवम् शुुभकामना दिए ।

गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालुपुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र अहिले देखिएको तरलता सङ्कुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने बताए ।

देशको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा उनले बताए ।

अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ्ग समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेको उनले बताए ।

गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझेर त्यही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै अहिले सङ्कुचित हुँदै बताउँदै गोल्छाले यी समस्यालाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

 

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *