काठमाडौँ,पुस १ । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सन्तोषजनक सुधार भएको छ।
पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले स्वास्थ्यमा राम्रो सुधार भएको जानकारी दिइन्।
घर्तीका अनुसार पुनको शरीरमा हाल बिलरुबिन (जण्डिशको मात्रा) २० बिन्दुमा झरेको छ।
उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो। उनका अनुसार आगामी मंगलबार नेता पुन नेपाल फर्कने सम्भावना छ। ‘डाक्टरहरुले अब तपाईं जान सक्नुहुन्छ भन्नुभएको छ’, घर्तीले भनिन्, ‘मंगलबारसम्म हामी नेपाल आउने सम्भावना छ।’
स्वास्थ्यमा सुधार भएसँगै पुन अर्को साता नेपाल आउने भएका छन्। वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।
पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका छन्। रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ।