सल्यान, असोज २७ । सल्यान कपुरकोट गाउँपालिकाका पहिरो पीडित १४ घरपरिवारलाई नेकपा एमालेले नगद राहात उपलब्ध गराएको छ ।
विहीबार एमालेबाट प्रदेशसभा निर्वाचनका लागि सल्यान (ख) बाट उम्मेदवारी दिएका गुलावजंग शाहले एक लाख १४ हजार पाँच सय रुपैंया राहत रकम उपलब्ध गराएका हुन ।
कपुरकोट, ५ सल्लाम पात्ला गाउँमा पहिरोका कारण घरवास गुमाएका र पहिरोको उच्च जोखिममा परेका घरपरिवारलाई राहत रकम उपलब्ध गराइएको थियो ।
केशर राना र बीर बहादुर रानाको परिवारलाई जनही २३ हजार २ सय ५० रुपैयाँका दरले ४६ हजार ५ सय, अन्य ४ घर परिवारलाई प्रतिपरिवार ९ हजारका दरले ३६ हजार र पहिरोका जोखिममा परेका ८ परिवारलाई प्रतिपरिवार ४ हजारका दरले ३२ हजार रुपैंया उपलब्ध गराइएको थियो ।
गत असोज २१ गते अविरल वर्षापछि आएको पहिरोले सल्लाम पात्ला गाउँमा ३ घर र ३ गोठ बगाएको थियो भने अन्य १० घर पहिरोको उच्च जोखिममा छन् ।
