लुुम्बिनी, असोज १० । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथि कुठाराघात भएको बताएका छन ।
नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ३ भैरहवामा पार्टीले स्थापना गरेको सम्पर्क कार्यालयको सोमबार यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।
संविधानको पालना गर्नु सबैको दायित्व र जिम्मेवारी भएको चर्चा गर्नुहुँदै गृहमन्त्री खाणले भने, असंवैधानिक कदम कसैले चाल्नु हुँदैन, त्यसले विधि, लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाउँछ ।”
कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहनुभएका मन्त्री खाणले राष्ट्रपतिले उठाएका कतिपय विषय संविधान संशोधनबिना परिवर्तन गर्न सम्भव नभएको बताए ।
हिमाल, पहाड र तराईमा गरी नेपालमा १ लाख ९० हजार बढीले जन्मसिद्धको आधारमा नागरिकता लिएकोमा उनीहरूको सन्तानलाई अहिले नागरिकता पाउन समस्या भएको उनको भनाइ छ ।
कोही पनि नागरिक नागरिकता विहीन हुन नहुने विश्वव्यापी मानवअधिकारको मान्यता रहेको चर्चा गर्नुहुँदै मन्त्री खाणले नेपाल मानवअधिकारको पालनामा समेत चुक्न नहुने बताए ।
लोकतान्त्रिक प्रक्रिया, देशको रक्षामा सबै लाग्नुपर्ने उनले बताए ।