२०८१ साउन ९ गते बुधवार

रुकुम पश्चिममा अवरुद्ध सडक नबन्दा कैदीलाई अस्पताल र अदालत पुर्याउन समस्या

रुकुम पश्चिम ,असोज ८ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ मा रहेको खलङ्गा–कारागार–पिपलनेटा सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेको छ ।

वर्षाका कारण असार अन्तिम हप्तादेखि यो सडक खण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भइ गाडी चल्ने अवस्था नभएपछि कारागारमा रहेका कैदीहरुलाई अस्पताल र अदालत लैजान निकै समस्या भएको कारागार कार्यालयका प्रमुख अकवीर घर्तीले बताए ।

‘कैदीबन्दीहरु बिरामी हुँदा गाडीमा लैजानलाई बाटो छैन’, घर्तीले भने, ‘स्टेचरमा बोकेर अस्पताल दौडाउनुपर्ने बाध्यता छ, रातिमा बिरामी हुँदा झन् चुनौती हुने गरेको छ ।’

कैदीहरुलाई हिँडाएरै अदालत लैजानु पर्ने अवस्था छ । कारागार कार्यालयबाट रुकुम अदालत एक किलोमिटर र जिल्ला अस्पताल करिब तीन किलोमिटरको दूरीमा रहेको छ ।

हिँडाएरै लामो दूरीसम्म कैदीहरुलाई लैजानुपर्ने भएकाले सुरक्षा चुनौती रहेको प्रहरीहरु बताउँछन् । कार्यालय जाने सडक ठप्प हुँदा कारागार कार्यालयको गाडी जिल्ला प्रशासन कार्यालयमा राख्नु परेको कार्यालयले जनाएको छ ।

वर्षातमा आएको भलको कारण यस सडक खण्डमा चिरा परेको छ । मुसीकोट नगरपालिका-१ को बराहाटाकुरादेखि कारागारसम्मको बाटोमा नाला नहुँदा सडकबाटै पानीको भल बग्ने गरेको छ ।

खलङ्गा बजारको नाला समेत यही सडक खण्डमा मिसिएका कारण पैदल हिँड्न गाह्रो भइरहेको स्थानीय रविलाल नेपालीले बताए ।

सडक अवरुद्ध भएको लामो समय भइसक्दा पनि सम्बन्धित निकायले कुनै पनि चासो नदिएको नेपालीको गुनासो छ ।

सडक अवरुद्ध भएपछि खलङ्गा बजारबाट कारागार हुँदै पिपलनेटा जाने यात्रु तथा गाडी मुसीकोट नगरपालिका-५ सेरिगाउँ पुगेर घुम्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *