२०८२ असार ४ गते बिहिवार

अझै लागू भएन जग्गा विकास कार्यक्रम

दाङ,भदौ ९ । दाङको भालुवाङ क्षेत्रमा जग्गा विकास कार्यक्रम लागू हुन सकेको छैन। भालुवाङ नगर विकास समितिको पहलमा नगर विकास समिति र आसपासका जग्गालाई समेटेर यो कार्यक्रम लागू गर्ने भनिएको थियो।

दस वर्षपहिले नगर विकास समितिको आठ कट्ठा र व्यक्तिको नाममा रहेको तीन बिघा जमिनलाई समेटेर जग्गा विकास कार्यक्रमको पहल थालेको हो।

उक्त पहल थालेको लामो समय बितिसक्दा पनि जग्गामा आधारभूत विकासका काम हुन सकेका छैनन्। भालुवाङमा बन्दै गरेको बसपार्कदेखि उत्तरपूर्व प्युठान सडक र पुरानो बजारको बीच भागको जग्गामा नगर विकास समितिले जग्गा विकास कार्यक्रम लागू गर्ने जनाएको थियो।

सो कार्यक्रमअन्तर्गत व्यक्तिको नाममा रहेको जग्गा नगर विकास समितिको नाममा ल्याउने र त्यही जग्गामा खानेपानी, विद्युत्, सडकलगायतका विकासका पूर्वाधारसहितका काम सम्पन्न गरी ६० प्रतिशत जग्गा उपभोक्तालाई फिर्ता गर्ने उद्देश्य रहेको थियो।

नगर विकास समितिले जग्गा विकास कार्यक्रम लागू नगरेपछि ४१ जना जग्गा धनीले यथाशीघ्र आफूहरूको जग्गा फिर्ता गर्न समितिसँग आग्रह गरेका छन्।
२०६९ सालमा आकर्षक सुविधा सम्पन्न घडेरीका रूपमा फिर्ता गर्ने सहमतिअनुसार जग्गा उपलब्ध गराउनुभएका राप्ती गाउँपालिका भालुवाङका जीवलाल न्यौपानेले १० वर्षसम्म कुनै पनि काम नभएको गुनासो गरे ।

उनले भने, “१३ कट्ठा जग्गा उपलब्ध गराएको हुँ त्यहाँ केही काम भएन, जग्गा विकास कार्यक्रम अलपत्र प¥यो।”

स्थानीय अगुवाले समेत नगर विकास समितिले जग्गा विकास कार्यक्रममार्फत काम गर्न नसकेको गुनासो गरेका छन्।

नगर विकास समितिको अध्यक्ष सम्बन्धित पालिकाको प्रमुख हुने नयाँ प्रावधानले केही आशा गरेका स्थानीयले आफ्नो जग्गा फिर्ता पाउन नसकेको गुनासो गरेका छन्।

यस विषयमा नगर विकास समितिका पूर्वअध्यक्ष ओमप्रकाश बुढाथोकीले आफ्नो कार्यकालमा सबै प्रक्रिया पूरा गरेर उपभोक्ताको जग्ग्गा फिर्ता गर्ने तयारी गरिरहँदा पनि कार्यकाल सकिएपछि सो काम गर्न नसकेको बताए ।

भालुवाङ नगर विकास समितिका अध्यक्ष प्रकाश विष्टले यस विषयमा जानकारी पाएकाले यथाशक्य छिटो उपभोक्ताको जग्गा फिर्ता गर्ने बताए ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *