तुलसीपुर, भदौ २ । दांगिशरण गाउँपालिका वडा नं. २ स्थित तुइसोता पुल नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले बुधबार सिलन्यास गरेकी छन् ।
वलीले पुलको सिलन्यास गरेपछि नेपाली काँग्रेसका स्थानीय नेता तथा स्थानीय जनप्रतिनिधिले बिरोध जनाएका छन् ।
दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्काले पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले निर्वाचन नजिक आउँदै गर्दा पुल सिलन्यास गरेर राजनीतिक स्टन्ट मात्रै गरेको प्रतिक्रिया दिइन ।
‘एउटाले रोपेको बाली अर्कै आएर स्याहार्न मिल्छ,’ उपाध्यक्ष खड्काले प्रश्न गरिन ‘ कोमल वलीले यहाँ ठिक त्यस्तै गर्नु भयो । गाउँपालिकासंग समेत समन्वय नगरी काँग्रेसको पहलमा निर्मित पुल उद्घान गरेर भ्रम छर्ने काम भएको छ ।’
काँग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि एमाले नेतृ वलीले एमालेको पहलमा पुल निर्माण सुरु भयो भन्नु आँफैमा मजाग भएको बताए ।
‘स्थानीयको आँखामा छारो हाल्न र मतदाता आकर्षित गर्ने बाहेक अरु उदेश्य यसमा देखिएन,’ अध्यक्ष गिरीले भने ‘ कोमल वली र उनको पार्टीले तुही सोतामा पुल निर्माणका लागि कुनै पहल र योगदान नै गरेको होइन ।’
उनीहरुका अनुसार २०७० सालमा काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काको पहलमा तुही सोतामा पुल परेको थियो । यो पुल २०७१ साल असार २७ गते निर्माण ब्यबसायी भरत साहले निर्माण गर्ने भनेर संझौता भएको थियो । डिजाइन अनुसार पुल निर्माण प्रक्रिया अगाडि नबढेपछि डिजाइन परिवर्तन गर्नुको साथै ठकेदार शाह संग भएको पहिलो संझौता रद्द गरिएको थियो ।
त्यसपछि नयाँ डिजाइनको पुल निर्माण गर्नका लागि काँग्रेस केन्द्रीय सदस्य गिहेन्द्र गिरीको नेतृत्व पटक÷पटक स्थानीय डेलिगेशन गएर पुल सदर गराएका थिए । नयाँ डिजाइनका लागि मुद्दा समेत परेको थियो ।
अदालतको फैसला पछि फेरि नयाँ टेन्डर भइ पुल निर्माणको काम अगाडि बढेको थियो । काँग्रेस नेतृ तथा गाउँपालिका उपाध्यक्ष खड्काका अनुसार २०७१ मा तुही सोतामा पुल पुल पर्दै गर्दा कोमल वली गायन क्षेत्र र राप्रपामा आवद्ध रहेको हुँदा उनको त्यो पुल संग कुनै साइनो नभएको बताइन ।
‘स्थानीय सरकार र प्रमुखलाई थाहा नै नदिएर चुनाब लक्षित जस लिन अरुले गरेको काममा मनपर्दी गर्न लाज लाग्नु पर्ने हो,’ उनले भनिन ‘ यो बिशषमा हाम्रो गम्भीर बिमत्ति रहेको छ ।’ दंगीशरण–२ मा वडाध्यक्ष एमालेले जितेको छ । एमाले नेतृ वली उनैको उक्साहटमा लागेर आँफुहरु प्रशिक्षणका लागि काठमाडौं गएको अवसर छोपी सुटुक्क पुल उद्घाटन गरेर वलीले नाटक मञ्चन गरेको उपाध्यक्ष खड्काले आरोप लगाइन ।
११ करोड लागतमा निर्माण हुन थालेको उक्त पुल निर्माण पुरा भएमा गाउँपालिकाको वडा नं. १ र २ लाई जोड्ने छ । अहिले पुल निर्माणको जिम्मा निर्माण ब्यबसायी महेश सत्यबती जेभी प्रालीले पाएको छ ।