अर्घाखाँची,साउन ३० । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएको विषयलाई पार्टीले स्वागत र विरोध केही पनि नगरेको बताएका छन ।
संविधानले दिएको अधिकार राष्ट्रपतिले प्रयोग गरेको भन्दै त्यसमा एमालेले कुनै टिप्पणी नगर्ने उनको भनाइ छ ।
प्रेस चौतारी अर्घाखाँचीले आज सोमवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तव्य राख्दै नेता नेम्वाङले पार्टीले आउँदो चुनावका लागि तयारी पूरा गरिसकेको र एक्लै अगाडि बढ्ने दाबी गरे ।
आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबाट फेरि एमाले सरकारमा आउने उनले दाबी गरे । एमालेले जनप्रिय काम गरेकाले फेरि सरकारमा आउने उनको भनाइ थियो ।
आउँदो चुनावमा आफूहरूका लागि चुनौती रहे पनि मिल्न सक्ने दलहरूसँग संवाद पनि भइरहेको उनले बताए ।
गएको पालिका चुनावमा एमालेलाई जनताले लोकप्रिय मत दिएकाले अबको चुनावमा समेत एमाले पहिलो पार्टी बन्ने नेता नेम्वाङले जिकिर गरे ।
पार्टीभित्रको आन्तरिक समस्याले पालिका चुनावमा सोचेअनुसार परिणाम आउन नसकेको भन्दै उनले मङ्सिर ४ गते हुने चुनावमा कमजोरीलाई सच्चाएर अगाडि बढ्ने बताए ।
एमालेले देशैभर सञ्चालन गरेको पार्टी प्रशिक्षण कार्यक्रमअन्तर्गत अर्घाखाँची आएका उपाध्यक्ष नेम्वाङले ११ सय जना नेता, कार्यकर्तालाई प्रशिक्षित गरेका थिए ।