२०८१ साउन ९ गते बुधवार

पशुपति माविले पाएको अनुमतिमा ११ र १२ कक्षा किन चलाई रहेको छ,मेट्रो कलेज ?


तुलसीपुर, साउन २६ । २०७८ सालको साउन १७ गते तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले सामुदायिक विद्यालय पशुपति माविलाई कक्षा ११ ÷१२ सञ्चालनको अनुमति दियो ।

तर, ती कक्षाहरु यतिखेर तुलसीपुर – १२ रझेनीस्थित उपमहानगरपालिकाले नै चलाएको बुहप्राबिधिक शिक्षालय (मेट्रो कलेज) ले नै सञ्चालन गर्दै आएको छ । मेट्रो कलेजको भवन लगाएत अन्य शैक्षिक सामाग्री, ल्याब प्रयोग गरे बाफत तीनै वटा संकाय लाग्ने खर्च कटौती गरि प्राप्त आम्दानीको ५० प्रतिसत पशुपति माविलाई उपलब्ध गराउने सर्तमा उस्ले कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

‘ सामुदायिक विद्यालयलाई १२ कक्षासम्म सञ्चालनको अनुमति आएको हो भने किन मेट्रो कलेजलाई ठेक्कामा दिइएको हो,’ स्थानीय लालबहादुर रावतले प्रश्न गरे ‘ यो भन्दा चरम मनोमानी अरु के हुन सक्छ ? के यसरी ठेक्कामा कक्षा सञ्चालन गर्न दिन मिल्छ ?’

पशुपति माविका बिद्यार्थीले राम्रो सौचालय प्रयोग गर्न नपाउने, तर, मेट्रो कलेजका प्रमुख वशन्त आचार्यको सुविधाको लागि ५५ लाखको कार खरिद गरिनु चरम सत्ता दुरुपयोग भएको रावतले आरोप लगाए ।

उनले मावि पशुपतिले पाएको अनुमति अनुसार कक्षा १२ सम्म उसैले कक्षाहरु सञ्चालन गर्नु न्यायोचित हुने दाबी प्रस्तुत गरे । ‘ अनुमति एउटाले पाउने अनि कक्षा अर्कौले सञ्चालन गर्ने,’ उनले थपे ‘ यो त कही नभएको जात्रा हाँडी गाउँ भनेको जस्तो भएन र ?’

यसबारे बुझ्न खोज्दा मेट्रो कलेज प्रमुख आचार्यले पशुपति माविकै आग्रहमा आँफुले १२ कक्षा सञ्चालन गरेको जानकारी दिए ।

‘बिद्यालयले हामीलाई के सहयोग गर्नु हुन्छ भनेपछि हामीले कक्षा ११ र १२ कक्षा सञ्चालन गर्दिछौं भनेका हौं,’ उनले थप प्रष्ट्याउँदै भने ‘ तपाँईलाई थाहाँ नै छ नि, ठूला प्रतिपष्र्धा छ र बिद्यार्थीपनि निकै कम छन् । घाटामा चलिरहेको छ ।’

११ र १२ कक्षा सञ्चालन चलाउँदा पशुपति मावि घाटामा जाने अवस्था देखिएपछि बिद्यालयका प्रधानाध्यापक रुद्रबहादुर डाँगीलाई बिद्यालय सञ्चालक समितिले आर्थिक, प्रशासनिक र शैक्षिक जिम्मेवारी प्रत्यायोजन गरेपछि मेट्रो कलेजले कक्षा कोठा र ल्याबहरु मात्रै प्रयोग गरेको हुँदा आधिकारिक प्रमुख प्रअ डाँगी नै भएको मेट्रो प्रमुख आचार्यले स्पष्ट पार्न खोजे ।

‘हाम्रो इन्ट्रेष्ट प्लस टु चलाउने नै हैन, हामीले ठाउँ मात्रै उपलब्ध गराइ दिएको हो,’ उनले भने ‘ तपाँईलाई थाँहै छ नि बजारमा कत्तिको प्रतिष्र्धा छ, यसवाट हामीलाई केही फाइदा छैन ।’

मेट्रोलाई आफ्नो भवन दिएर वडा कार्यालय भाडामा

मेट्रो कलेजले प्रयोग गरि रहेको कार्यालय भवन उस्को आफ्नै भवन हैन । तुलसीपुर वडा नं. १२ को भवन हो । वडा कार्यालयले छुट्टै ठाउँमा भाडाको घरमा बसेर आफ्नो भवन मेट्रो कलेजलाई प्रयोग गर्न दिएको छ ।

‘यहाँ नेरपनि ब्यापक अनियमितताको आशंका छ,’ रावतले प्रश्न गरे ‘डाडु पुन्य आफ्नो हातमा छ भनेर यस्तो मनपर्दी गर्नु संस्थागत भ्रष्टचार हो कि हैन ?’

स्थानीयको नजरमा समस्याको कारण

हाल मेट्रो कलेज आफ्नो कार्यालय प्रयोजनको लागि प्रयोग गरिरहेको जग्गा पनि वडा कार्यालय कार्यालयले आफ्नो कार्यालय सञ्चालनार्थ प्रयोजनका लागि भनेर पशुपति माबिसंग मागेको थियो ।

२०७४ माघ २ गते वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणको लागि विद्यालयलाई पत्रचार गर्दै ३ कठ्ठा क्षेत्रफलको जग्गा मागेको थियो ।

वडा कार्यालयले जुन प्रयोजनका लागि बिद्यालय संग जग्गा माग गरेको भएपनि संरचना निर्माण पछि मेट्रो कलेज सञ्चालनको नाममा प्रदान गरिनुले राम्रो सन्देश प्रवाह नभएको भन्दै रावतले वडा कार्यालय आफ्नै भवनवाट सञ्चालन हुनुपर्ने बताए ।

रावत बिगत पाँच बर्षदेखि निरन्तर पशुपति माविले मेट्रो कलेजलाई आफ्नो जग्गा उपलब्ध गराएदेखि नै त्यसको बिरोध गर्दै आएका मध्य एक ब्यक्ति हुन ।

साबिक टरिगाउँ ३ (ख) कित्ता नम्बर १०९ अन्तरगत पर्ने २० बिगाहा १९ कठ्ठा ७ धुर जग्गा मध्यको तुलसीपुर अमेलिया सडक खण्डको पूर्वतर्फको अन्दाजी ८ बिगाहा १० कठ्ठा क्षेत्रफलको पशुपति माविको जग्गा हो ।

जुन जग्गा बिद्यालयमा बसेको सर्वदलिय बैठकले मेट्रो कलेजलाई दिने निर्णय गरेको थियो । तर, रावतको दाबी अनुसार त्यो जग्गा उपलब्ध गराइदिन बारे मेट्रो कलेजले लिखित रुपमा मागसमेत गरेको प्रमाण उपलब्ध नभएको हुँदा हचुवाको भरमा जग्गा प्रदान गरिएको भन्दै रोष प्रकट गर्दै आएका छन् ।

सोही बारे रावतले सूचनाको हक प्रयोग गरि लिखित रुपमा पशुपति मावि र मेट्रो कलेजको बीचमा भएको संझौताको बुदा मागेको भएपनि नपाएको गुनासो गर्दै आएका छन् ।

मेट्रोका प्रमुख आचार्यले भने उक्त सम्झौंता आँफु र मेट्रो कलेजले नभइ प्रमुख प्रशासकीय अधिकृतले उपलब्ध गराउने कुरा भएको हुँदा आँफुले उपमहानगरपालिकामा पठाइ दिएको जानकारी दिए ।

तर, तुलसीपुर उपमहानगरपालिकाले त्यस्तै पत्र मेट्रो कलेजलाई लेख्दै रावतले मागेको सूचना उपलब्ध गराउन पत्राचार गरेको तथ्य फेला परेको छ ।

सोही बिषमा बुधबार पशुपति माविले बैठक बोलाएको र त्यसमा आँफुपनि गएर कलेज सञ्चालन सम्बन्धि केही प्रशासनिक कागजात देखाएको आचार्यले जानकारी दिए ।
‘पशुपति माविले शिक्षालय सञ्चालन गर्न दिने र आफ्ना चार ÷ पाँच जना बिद्यार्थी पढाउनु पर्ने सम्झौंता शिक्षालय संग गरेको छ,’ आचार्यले थप भने ‘ शिक्षालय सञ्चालन हुन नसक्ने अवस्थामा सबै सम्पत्ति उस्लाई हस्तान्तरण गर्ने सम्झौंता छ ।’

त्यस्तै बिद्यालयको जग्गा हडपेर बसेकाहरुलाई उपमहानगरपालिकाले ब्यबस्थापन गर्ने भन्ने संझौंताको पालना गर्दै काम भइरहेको उनले बताए ।

स्थानी सरकार संचालन ऐनमा मावि तहसम्मको जग्गाको ब्यबस्थापन, स्वामित्व र संरक्षण स्थानीय तहको हुने भएको हुँदा त्यही अनुसार काम भएको आचार्यले बताउँछन् ।
निवेदक रावत भने यहाँ नेर बदमासी भएको दाबी गर्दै आइरहेका छन् ।

‘कतैबाट पनि जग्गा उपलब्ध गराइदिन बारे लिखित रुपमा माग नभइ हचुवाको भरमा पशुपति माविको जग्गा मेट्रो कलेजलाई उपलब्ध गराउनु बदनियत पूर्ण छ,’ रावतले भने ‘अहिले मेट्रो कलेजले वरिपरी ठूलो पर्खाल लगाएर करोडौंका आफ्नो संरचना बनाउनु आपत्ति जनक बिषय हो ।’

मेट्रो कलेजको लागि भौतिक संरचना निर्माण गर्न एमाले महासचिव शंकर पोखरेल रहँदा करोडौं बजेट प्रदान गरिएको थियो ।

उक्त जग्गामा बसोबास गर्दै आएका १७÷१८ घर परिवारलाई उपमहानगरले अर्कै ठाउँको सार्वजनिक जग्गामा स्थान्तरण गर्ने क्रम करिब अन्तिम चरणमा पुगेको स्रोतले जानकारी दिएको छ ।

स्थानीय तहको निर्वाचन पछि २०७४ साल असोज १० गतेको विद्यालय ब्यबस्थापन समिति र स्थानीय राजनीतिक दलहरुको संयुक्त बैठकले मेट्रो कलेजलाई जग्गा उपब्ध गराउने निर्णय गरेको थियो ।

जतिखेर तुलसीपुरको मेयर नेकपा एमालेका घनश्याम पाण्डे र तुलसीपुर १२ का अध्यक्ष एमालेकै नेता सूर्य डाँगी (श्याम) थिए ।

मेयरको प्रेस सल्लाहाकार वशन्त आचार्य थिए । आफ्नो अन्तिम कार्यकाल तिर तत्कालिन मेयर पाण्डेले कार्यापालिकाबाट आचार्यको सुविधाको लागि गाडी खरिद गर्ने निर्णय गराएका थिए ।

तत्कालिन समय एमाले र नेकपा माओबादी केन्द्र एकता भएको हुँदा नेकपाको अस्तित्वमा थियो । बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षपनि नेकपाकै मानिस थिए । अहिले पनि उनै अध्यक्ष दोहरिएका छन् ।

त्यसैले उनीहरुले पशुपति माविको हित
विपरित र मेट्रो कलेजको नाममा जवरजस्त जग्गा उपलब्ध गराउन दबाब मुलुक निर्णय गरेको रावत दाबी गर्छन । ‘त्यहाँ ठूलो स्वार्थ थियो र छ ,’ उनले थपे ‘ मेट्रो कलेज कार्यकर्ता भर्तिकेन्द्र जस्तै बनाइएको छ ।

क्याम्पस प्रमुखदेखि अधिकाँस कर्मचारी एमाले निकट छन् र त्यो पनि विना प्रतिष्र्धा गोप्य रुपमा नियुक्त गरिएका हुन ।’

कर्मचारी नियुक्त गर्दा गुपचुपमा गरिएको भन्दै त्यसबारे पटक÷ पटक आलोचनापनि हुँदै आएको छ ।

‘केही पत्रकार र पत्रकारका श्रीमतिलाई जागिर खुवाउने काम भएको छ,’ एक स्थानीयले प्रश्न गरे ‘यो सरकारले चलाएको मेट्रो कलेज हो कि एमालेको भर्ति केन्द्र हो ?’

उनले सरकारी रकमवाट क्याम्पस प्रमुखको सुविधाको लागि ५५ लाखको गाडी किन्नुले संस्थागत अनियमितता छताछुल्ल भएको दाबी गरे ।

‘ हाम्रो पशुपति माविका बिद्यार्थीका लागि कुनै राम्रो सेवा सुविधा छैन । राम्रो सौचालय छैन,’ उनले भने ‘ तर, क्याम्पस प्रमुखको लागि कार चाहिने ? यो त आँफु सुख सयलमा रमाउने र गरिबमाथि अत्याचार कायम राख्ने प्रबृति भन्दा अरु देखिएन हैन र?’

मेट्रो कलेज प्रशासन भने रावत लगाएतका केही ब्यक्तिहरु निरन्तर बिरोधमा उत्रनुको प्रमुख कारण अर्कै रहेको दाबी गर्छन ।

‘उहाँले राजनीति गर्न खोज्नु भएको छ,’ एकजनाले भने ‘ नत्र आफ्नै ठाउँमा प्राबिधिक शिक्षालय सञ्चालन गर्दा, छोरा छोरीले राम्रो गरि रहँदा बिरोध गर्नुको तुक के हो ?’

शिक्षामा स्थानीयको सहयोग अपरिहार्य रहेको भन्दै उनले स्थानीयको भावना अनुसार नै कलेज सञ्चालन गरिएको बताए ।

आँफुले पनि गर्न नसक्ने र अरुले गरेको पनि डाहा गर्ने हो भने समाजको विकाश कहिलै नहुने उनले तर्क गरे ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *