२०८१ चैत्र ९ गते शनिवार

कोमल वलीलाई सिमेन्ट उद्योगले राजनीति सिध्याइदिने त्रास

राष्ट्रियसभाकी सदस्य कोमल वलीलाई सिमेन्ट उद्योगहरुले आफ्नो राजनीति सिध्याई दिने चिन्ता व्यक्त गरेकी छन् । आइतवार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आयोजना गरेको दशैं मिलन समारोहलाई सम्वोधन गर्दै उनले त्यस्तो चिन्ता जाहेर गरेकी हुन । दाङमा सिमेन्ट उद्योगहरुले गरेको वातावरणिय तथा प्राकृतिक क्षतिका बारेमा आफुले राष्ट्रियसभामा खुलेरै विरोधका साथ बोल्ने योजना बनाएको समयमा ३÷४ जना आफ्ना मित्रले त्यसो नगर्न सुझाएको नेकपाकी नेतृ समेत रहेकी वलीले बताइन । ‘मैले सिमेन्ट उद्योगको विरुद्धमा खुलेरै बोल्ने योजना बनाएको समयमा साथीहरुले तपाँईले त्यसरी बोले सिमेन्ट उद्योगले तपाँईको राजनीतिक भविस्य नै सिध्याई दिन्छन् भनेपनि म व्याक भएकी हुँ ।’ वलीले भनिन् । उनले बस्ति नजिकै सिमेन्ट उद्योग स्थापना गर्न दिनुको पछाडि ठूलै आर्थिक चलखेल रहेको आशंका व्यक्त गरिन ।  दाङमा स्थापना गरिएका सबै सिमेन्ट उद्योगहरु गाउँ बस्ती र विद्यालय नजिकै स्थापना गरिएको हुँदा त्यसले मानव स्वास्थ्यमा निकै नकारात्मक असर पुर्याउँदै आएको बताइन ।‘बस्तिको नजिक मानवस्वास्थ्यमा प्रतिकुल असर पार्नेगरि किन र कस्ले उद्योग स्थापना गर्ने अनुमति दिएको हो ? त्यसको छानविन हुनुपर्छ ।’ वलीले भनिन् । उनले सिमेन्ट उद्योग व्यवस्थित गर्नु पर्ने माग गरिन ।

त्यस्तै वलीले सिमेन्ट उद्योगहरुले गर्दै आएको चुन ढुङ्गा उत्खनन्ले दाङमा पानीको मुहान सुक्दै गएको हुँदा त्यो नरोकिए भविस्यमा दाङ मरुभूमि बन्ने खतरा औंल्याइन ।

भारतवाट क्लिङकर ल्याएर नेपालमा बेचिरहेको भन्दै राष्ट्रियसभा सदस्य वलीले सिमेन्ट फ्याक्ट्रिले देशलाई टाट पल्टाउन उद्यत रहेको तर्क गरिन । ‘सिमेन्ट उद्योगहरुले यहाँवाट खजाना मात्रै बाहिर पठाएका छैनन् हाम्रो सुन्दर गाउँबस्ती उजाड बनाइ रहेका छन् त्यो रोकिनुपर्छ ।’ राष्ट्रिसभा सदस्य वलीले दाङमा थप सिमेन्ट उद्योगहरु स्थापनाको लागि आउन लागेको हुँदा त्यो हुन नदिन स्थायीवासी अग्रसर हुनुपर्ने बताइन । ‘स्थानीय सरकार त छ, तर हाम्रो सेरोफेरो र हाम्रो जग्गामा निर्माण हुने उद्योगको अनुमति हामीसंग लिनुपर्छ कि पर्दैन?’ वलीले प्रश्न गरिन । कुनैपनि हालतमा थप सिमेन्ट उद्योगहरु दाङमा स्थापना गर्न दिन नहुने उनको धारणा थियो ।

सोही कार्यक्रमलाई सम्वोधन गर्दै संघीय संसदका सभामुख कृष्णबहादुर महराले भने उद्योगपनि आवश्यक पर्ने हुँदा बरु उद्योगहरु व्यवस्थित गर्न ध्यान दिनुपर्ने बताएका थिए । दाङमा थप ३÷४ वटा सिमेन्ट उद्योगको लागि आफुकहाँ व्यापारीहरु आएपनि जिल्लामा अब अरु उद्योग आवश्यक नरहेको भन्ने जवाफ दिएर फर्काएको महराले बताए । उनले दाङको उत्तरी पहाडी क्षेत्रमा बाँसहरु लगाएर हराभरा बनाउन सकेमा पानीको मुहान नसुक्ने तर्क गरे । त्यस्तै उनले जिल्लाका खहरे खोलाहरुमा हाईड्याम निर्माण गरि पानीको रिचार्ज गर्न सकिने जानकारी दिए । तेस्रो विकल्पको रुपमा बाहिरी जिल्लाहरु बाट नदी डाईभर्सन गरि दाङमा सिंचाई, बिजुली बत्तिको व्यवस्थापन गर्ने उपाएहरु खोज्नु पर्ने बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उपमहानगरपािलकाका मेयर घनश्याम पाण्डेले पानीको व्यवस्थापनको लागि स्थानीय सरकार सदैब खुल्ला रहेको बताए । त्यस्तै उनले संघीय सरकारले शिक्षकको लागि पठाएको तलव अपुग भएर तलव खुवाउनका लागि ५० लाख रुपैंया आफुले ऋण खोजेको गुणासो गरेका थिए ।

तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वलीले खोला जन्य बस्तु र चुन ढुङ्गाको उत्खनन् यही गतिमा कायमै रहे दाङ केही बर्षमै उजाड हुने चिन्ता जाहेर गरेका थिए । कार्यक्रमलाई प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य उत्तरकुमार वली लगाएतका बक्ताहरुले मनतव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *