२०८१ बैशाख ११ गते मङ्गलवार

दाङमा पायल्स र फिस्टुलाका बिरामीको सस्तोमा उपचार

दाङका पत्रकार खेमराज रिजालले मध्यपश्चिम क्षेत्रीय आयुर्वेद अस्पताल तुलसीपुर दाङमा आफ्नो पायल्सको उपचार सित्तैमा गराए । डेढ हप्ता अस्पतालमै भर्ना भएर पायल्सको अप्रेशन गराउँदा उनको सबै खर्च दुई हजार रुपैंया पनि खर्च भएन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का ६८ वर्षीय डिल्लीबहादुर चौधरी र तुलसीपुर १३ फूलवारी निावसी ५ बर्षीय सिधान्त डाँगीले पनि पायल्सको सोही आयुर्वेद अस्पताल बिजौरीमा हप्ता दश दिन भएर भएर उपचार गर्दा उनीहरुको पनि जम्मा खर्च १५ सयदेखि २५ सय सम्म भएको बताए ।

जवकि त्यही पायल्सको सफल उपचार र अप्रेशन गरिदिने वाहानामा धेरै ठकहरुले ३५ देखि ६० हजार सम्म असुल्दै आएका छन् । स्थानीय रेडियो तथा पत्रपत्रिकामा पायल्स, फिसर र फिस्टुलाको ज्ञारेन्टिका साथ उपचार गरिदिने विज्ञापन गरेर लुट्न पल्केकाहरुले सर्वसाधारणलाई ठग्दै आएका छन् । मध्यपश्चिम क्षेत्रीय आयुर्वेद अस्पताल विजौरी दाङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. रामकामेश्वर ठाकुरले चर्कौ विज्ञापन गरेर सर्वसाधारणहरुलाई त्यस्ता ठगहरुले लुटिरहेको दाबी गरे । ज्ञारेन्टिका साथ उपचार गरिदिन्छौं भन्ने विज्ञापन गरेर त्यहाँ गएका पिडित विरामिलाई पायल्सबारे डर त्रास देखाएर ठगहरुले चर्कौ रकम असुल्दै आएको ठाकुरले बताए ।‘कि आफैले मात्रै त्यसको उपचार जानेको कि भने पायल्सको उपचार गर्न भारतको मुम्बै वा काठमान्डौं जानुपर्छ भन्ने भ्रम फैलाएर लुट्नु लुटेका छन् ।’ डा. ठाकुरले भने । मध्यपश्चिम क्षेत्रीय आयुर्वेद अस्पताल तुलसीपुर दाङमा पायल्स र फिस्टुलाका बिरामिको लागि विश्वमै सस्तोमा उपचार हुँदै आएको निमित्त मेसु डा. ठाकुरले दाबी गरे । सुरुवाती चरणमा छ भने डेढदेखि ३ महिना सम्मको औषधीको खुराक जम्मा २० रुपैंयामा अस्पतालले उपलब्ध गराउँदै आएको ठाकुरले बताए । त्यस्तै उनले कतिपय औषधीहरु निशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताए । ‘हामी विरामीको आर्थिक अवस्था हेरी निशुल्क उपचार समेत गर्दै आएका छौं,’– डा. ठाकुरले भने ‘पायल्स र फिस्टुलाका बिरामिहरुको विश्वमै सस्तोमा दाङमा मात्रै उपचार हुँदै आएको छ ।’

सामान्यतया पायल्स रोग मलद्धारमा जम्मा हुने मासुको थुप्रो नै भएको उनले बताए । मानिसहरुको जीवनशैली र खानपानले गर्दा पछिल्लो समय धेरैलाई पायल्स रोग देखापर्ने गरेको भएपनि त्यो समयमै उपचार गर्दा निको हुने डा. ठाकुरले जानकारी दिए ।

‘लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन ।’ ठाकुरले भने । दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने जस्ता लक्षण देखा परेमा त्यो पायल्स रोग नै भएको हुन सक्ने ठाकुरले बताए । पायल्सका विरामीले दशैंमा माछा, मासु, धेरै चिल्लो र पिरो भएका खान नहुने सल्लाह दिए ।

त्यस्तै उनले पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स रोग हुने गरेको डा. ठाकुरले जानकारी दिए ।

गत वैशाख महिनादेखि मध्यपश्चिम क्षेत्रीय आयुर्वेद अस्पताल तुलसीपुरले पायल्सको उपचार सुरु गरेको र हालसम्म पुरुष भन्दा धेरै महिलाहरु उपचारका लागि आउने गरेको डा. ठाकुरले बताए । ‘रोगलाई पालेर राख्नु हुन्न त्यो समयमै फाल्नु पर्छ । हाम्रा दिदी बहिनी अझैं दुःख पिडा सहेर बसिरहेका छन् । त्यो गलत हो ।’ डा. ठाकुरले भने । आयुर्वेद अस्पतालमा पहिलादेखि नै जेष्ठ नागरिक, गरिब तथा विपन्नहरुको निःशुल्क रुपमा उपचार हुँदै आएको मेसु रामकामेश्वर ठाकुरले बताए । थोरै भए पनि औषधी किन्न सक्ने देखियो भने ३ वटा औषधीहरु निशुल्क दिने तथा अन्य औषधीहरु खरीद गर्न लगाउने गरेको ठाकुरले बताए । औषधी नै किन्न नसक्ने जस्ता विरामीलाई सम्पूर्ण औषधीहरु निशुल्क दिने गरेको मेसु ठाकुरले जानकारी दिए ।

यो आर्थिक वर्षको अशोज १५ सम्ममा पायल्सका झन्डै ३ सय जनाको निशुल्क उपचार गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । आयुर्वेदिक पद्धतिअनुसार पायल्स र फिसरको सफल उपचार भैरहेको हुँदा विरामीहरुको चाप बढेको ठाकुरले बताए । पायल्सको अप्रेसन डा. ठाकुर आफैले गर्दै आएका छन् । तर अस्पतालमा उपकरणहरु प्रशस्त मात्रामा भए पनि चलाउनको लागि प्राविधिकहरु नभएको मेसु ठाकुरले गुणासो गरे । साधा एक्सरे, रंगिन एक्सरे र भिडियो एक्सरे अहिले प्राविधिक नभएका कारण बन्द अवस्थामा रहेको उनले बताए । एक्सेर चलाउनको लागि करारमा घोराहीकी सम्झना डिसीलाई नियुक्त गरे पनि गएको असार देखि उनको करार थपिएको छैन । भिडियो एक्सरेको लागि महिला तथा प्रसूति रोग विशेषज्ञ अथवा रेडियोलोजिष्टको आवश्यक्ता पर्ने भए पनि मन्त्रालयबाट त्यसको व्यवस्था नगर्दा उपकरणहरुमा खिया लाग्दै जान थालेको उनले बताए ।

प्रकाशित मिति : २०७५ असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *