तुलसीपुर, जेठ ३१ । अर्काको घरमा घुसेर महिला तथा बालिकामाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई घोराही लगिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुर अगाडि महिलाले राज्य मन्त्री वलीका बिरुद्ध पर्दशन गर्दै कारबाहीको माग गरेपछि मध्यान्ह १२ बजेपछि प्रहरीले राज्य मन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा लगेको हो ।
राज्यमन्त्री वलीले तुलसीपुर– ५ स्थित एकराज बस्नेतको घर भित्र पसेर मंगलबार बिहान मिना भण्डारी बस्नेत र उनकी अढाई बर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन ।
त्यसपछि वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनाहकमा अर्काको घरमा पसेर महिला तथा बालबालिकामाथि कुटपिट गर्ने राज्य मन्त्रीलाई काबारहीको माग गर्दै स्थानीय महिलाहरुले इप्रका अगाडि नाराबाजी र पर्दशन गरेका थिए ।
पर्दशनमा उत्रिएका महिलाहरुले राज्यमन्त्री वली मुर्दाबाद, दोषी राज्यमन्त्री वलीलाई कारबाही गर भन्ने जस्ता नाराबाजी गरेका थिए ।
इप्रकामा दुबै पक्षलाई राखेर छलफल गराउने प्रयास प्रहरीले गरेपनि त्यो संभव हुन नसकेपछि घोराही तर्फ लगिएको एक प्रहरी अधिकारीले बताए ।
राज्य मन्त्रीलाई के कस्तो कानुनी कारबाही हुने भन्ने कुरा माथिल्लो निकायको आदेश बमोजिम हुने एक प्रहरी अधिकारीले जानकारी दिए ।