काठमाडौं,जेठ २९ । देशभर दुई महिनामा विपद्का ६४४ घटनामा ६० जनाको मृत्यु भएको छ । यसमध्ये पनि चट्याङबाट मृत्यु हुनेको संख्या सर्वाधिक रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकाअनुसार गत वैशाख १ देखि जेठ २८ गतेसम्म आगलागीका ४१४, हावाहुरीको ७२, चट्याङका ५९, जंगल आगलागीका ४९, जनावर आतंकका २९, पहिरोका १२, भारी वर्षाका ४, सर्पदंशका ४ तथा बाढीका एक घटना प्रकाशमा आएका छन् ।
यीमध्ये चट्याङ लागेर मृत्यु हुनेको संख्या सर्वाधिक अर्थात् २६ छ । यस्तै, आगलागीबाट मृत्यु हुनेको संख्या १४ छ भने जनावर आतंकबाट ८, हावाहुरीबाट ७, पहिरोबाट ३, सर्पदंशबाट २ जनाको मृत्यु भएको छ ।
ती घटनामा १४८ जना घाइते भएका छन् भने एक जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । ती सबै घटनामा ८३० परिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार गत शुक्रबार बिहान १० देखि शनिबार बिहान १० बजेसम्मको अवधिमा विपद्का घटनामा एक जनाको मृत्यु तथा दुई जना घाइते भएका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरे गाउँ बस्ने एक पुरुषको शव पहिरोले पुरेको अवस्थामा फेला परेको प्राधिकरणले जनाएको छ ।
यस्तै, भरतपुर महानगरपालिका–२३ बस्ने ४३ वर्षीय एक पुरुषलाई बाघले आक्रमण गरी घाइते बनाएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३, परेवाङस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा अलकत्रा तताउने गाडीमा वायरिङ सर्ट भई आगलागी हुँदा सो गाडी पूर्ण रुपमा जलेको छ भने २९ वर्षीय सहचालक घाइते भएको प्राधिकरणले जनाएको छ ।