दाङ,जेठ २२ । चर्को खडेरीबीच उम्सो मौसममा मैले उनै टोप वहादुर जनैदारलाइ सम्झीरहेछु । दुइ बर्ष अघि सायद यस्तै उम्सो मौसममा एकाविहानै उनी घरछेउको वरपिपलको ठुटोलाइ तर्पण दिइरहेका थिए, घर ढलेको छ, फोक्सोको अक्सिजन रित्तिएको छ…।
संयुक्त राष्ट्रसंघको आह्वानमा आज(आइतवार) विश्वभर विश्व वातावरण दिवस मनाइदै छ, सायद । ‘ब्रम्हान्डमा अरबौं आकाश गंगाहरु छन्, आकाशगंगामा अरबौं ग्रहहरु छन्, बचाऔं केवल एउटा पृथ्वी’ यहि नारा दिएको छ संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य मुलुकहरुलाइ ।
यहि विश्व वातारण दिवस मनाइरहंदा मैले फोर्टिनाइन चोक मनीकापुर कर्नरका उनै टोप वहादुरलाइ सम्झें । चारलेन सडक विस्तार गर्ने नाममा घोराही—तुलसीपुर सडक खण्डका हजारौं वरपिपलका रुखहरु काटिए । एक पटक पनि यसको वातावरणिय प्रभावका विषयमा कतैबाट पनि आवाज उठेन । एक हजार बर्ष उमेर सम्मका रुखहरु पनि काटिए ।
अहिले सडक उजाड छ । बटुलाहरुले ती पिपलको रुखमनी बस कुरीरहेका हुन्थे, ज्येष्ठ नागरीकहरु तीनै पिपल चौतारामा भलाकुसारी गरेर दिवा सेवाकेन्द्र जस्तै रमाइरहेका हुन्थे, भरीयाहरु तीनै वरपिपल चौतारोमा भारीटे टेकाएर अपुग भएको अक्सिजनको व्यवस्थापन गर्थे । अर्थात टोप वहादुर जनैदारको पनि आधाआधि समय विताउने त्यहि पिपल चौतारो ।
‘मैले त्यो पिपललाइ मेसिन लगाएर अघिल्लो रात काटिरहंदा हेर्न समेत सकेको थिएन, अहिले बल्लतल्ल यहि पिपलको ठुटोमा आएर जल चढाउंदै छु’, भर्खरै काटिएको पिपलको ठुटोमा जसरी जमिनमुनीबाट रस आएको थियो, त्यसरीनै रसिला आंखामा टोप वहादुर उपस्थीत थिए, पिपलको किरियामा….।
उनी वहकिंदै थिए, मैले बुवाआमा जस्तै एउटा अभिभावक गुमाएको छु, यो पिपल मेरो पुस्तामा कहिल्यै हुर्किएर आउने छैन । उनी सरकारलाइ वातावरण प्रेमी नभएको भनिरहेका थिए, रुख काट्ने ठेकेदारलाइ हत्याराकै उपमा दिन्थे । सरकारलाइ वातावरण प्रति चिन्ता हुन्थ्यो भने यति हतारोमा सडक किनाराका सवै रुखहरु सखाप पार्ने थिएन, रुखको वल्लो पल्लोपट्टिबाट पनि त सडक विस्तार हुन सक्थ्यो ।
चारलेनको ठेक्कामा जोडिएको ग्रिन वेल्डलाइ उनी सरकारको दिवा सपना भनिरहेका थिए । यदि त्यसो भैहाले पनि ग्रिनवेल्टमा सिउडी र दुवो धुपी वाहेक यति ठुला वरपिपल हुने छैनन् । सितलता दिने छैनन् । यो विषयमा सरकार कत्तिपनि गम्भीर देखिएन, उनी वहकिंदै थिए । हो उनले दिनदिनै आश्रय लिने पिपलको रुख कार्टिदा दश दिन सम्म अलिनो बसेका थिए ।
वातावरण दिवसका अवसरमा केवल एउटा पृथ्वी बचाउ भनेर संयुक्त राष्ट्रसंघले आह्वान गरीरहंदा दाङको वगलाचुलिको महाभारत श्रृंखला घोराही सिमेन्टले चुनढुंगा उत्खनन् भरेर मैदान बनाउन थालीसकेको छ । सोनापुर सिमेन्टले दाङको उत्तरी सिमाना रोल्पाको रुण्टिगढिको डुम्रिङको चुनढुंगा एक तमासाले निकालीरहेको छ ।
रोल्पा सिमेन्टले कपुरकोट—तुलसीपुर सडकलाइ पनि क्षतविक्षत बनाउंदै रोल्पाका विशाल डाडाहरुलाइ उजाड बनाइरहेको छ । घनाबस्तीहरुबीच यी सिमेन्ट उद्योगहरुले विश्व वातावरण दिवसको नारालाइ गिज्याइरहेका छन् ।
यी त ठुला उद्योगका कुरा । मुलुकमा संघियता आएपछि स्थानिय सरकारलाइ चलाउने जनप्रतिनिधि होइनन्, सरकार चलाउने यीनै ठेकेदारहरु हुन्, जसले जताजता ढुंगा उतै सडक लगिदिन्छन्, जता ठुला रुख छन्, उतैउतै सडकका ट्र¥याक खोलिदिन्छन् । ‘किन चाहिएको छ, वगरपुरदेखि गंगटे सम्म १२ मिटर चौडा बाटो?’, स्थानिय सरकार वेखवर छन्, जिल्ला वनबाट स्वीकृति छैन, ठेकेदारले धमाधम बाटो बनाउने नाममा ढुंगा र भिमकाय रुखहरु कटान गरीरहेका छन्? के यसले पृथ्वी बचाउन सक्ला?
विसं २०७२ शालमा दाङ जिल्लामा ववइले वितण्डा बच्चाइरहंदा सयौं घरपरीवार विस्थापित भए । हजारौं हेक्टर खेतीयोग्य जमिन डुवानमा पर्यो । त्यसको केहि बर्षपछि भुक्षयको त्रास फैलियो, कपुरकोट खसेर तुलसीपुरलाइ डुवाउंदै छ । यी सवै त्रास स्वाभाविक बन्दै आएका छन् । किनकि सडकको ट्र¥याक तराइदेखि उच्च पहाड सम्म खोलिंदै छ । वातावरणिय प्रभाव मुल्यांकन वातावरणविदले होइन, ठेकेदारले गरीदिन्छन् ।
स्थानिय सरकारले सिफारीस दिएकै आधारमा खानी विभागले पानीमा मुहानमाथी चुनढुंगा उत्खनन्को लाइसेन्स दिइरहेको छ । सडक बनाउने डिजाइन इन्जिनियरले होइन, स्काभेटरको डाइवरको विवेकले भैरहेको छ । कति स्लोपमा सडकलाइ कता मोड्ने हो, सवै तजवीज स्काभेटर चालककै । स्थानिय सरकारकै प्रतिनिधिको संरक्षणमा खोलानालाहरुमा अनियन्त्रीत दोहन मात्र होइन, अतिक्रमण गरी निकै सांघुरा बनाइएको छ । यसले कुनैपनि वेला ठुलो खतरालाइ निम्तो दिइरहेको छ? तर वेखवर छ सरकार ।
दिनदिनै जलवायु परीवर्तनको असर विश्व समुदायले खेपीरहेको छ । नेपाल पनि त्यसमा अछुतो छैन । अघिल्लो साता घोराहीमा एक तमासले मुसलधारे बर्षात भैरहंदा सर्रादेखि पश्चिम घाम लागीरहेको थियो । त्यहि समयमा सामाजिक सन्जालहरुमा घोराही डुवेका तस्वीरहरु भाइरल भए । यो तितो यथार्थ हो, साच्चै घोराहीकोसहिदगेट क्षेत्रका सडकमा अटोरिक्साहरु आधा डुविरहंदा तुलसीपुर खडेरीको चपेटोमा थियो । ‘सायद घोराहीमा यति छोटो समयमा यतिधेरै बर्षात भएको मैले कहिल्यै थाहा पाएको छैन’, घोराही उपमहानगरपालिका—१५ ट्राफिकचौक निवासी गोविन्द वहादुर केकेले गोरक्षसंग भनेका थिए ।
वेमौसमी बर्षात, अतिबृष्टि, अनावृष्टि र खण्डबृष्टिले वातावरणीय सन्तुलन विगारीरहेको छ । हिमाल पग्लने समस्याले हिमश्रृंखलाहरु नांगिदै गएका छन् । बढ्दो तापमानका कारण हिमतालहरु फुट्ने खतरामा छन् । अघिल्लो साता घोराहीको बर्षात पनि यस्तै वेमौसमी बर्षात, अर्थात कतै अतिबृष्टि त कतै अनाबृष्टिकै कारण थियो ।
अनियन्त्रित र अप्राकृतिक अतिक्रमणका कारण तुलसीपुर उपमहानगरपालिकाको मुटुबाट वग्ने पातुखोलाका दुइ किनराहरु भेटिनै लागेका छन् । पातुखोला पातुकुला जस्तै भएको छ । पत्रे, जुर्गे, कटुवा र ववइमा पनि यसरीनै अतिक्रमण र अनियन्त्रित रुपमा नदिजन्य पदार्थको दोहन भैरहेको छ । खेतीयोग्य जमिनमा अव्यवस्थीत प्लटिङ भैरहेको छ ।
मुहान संरक्षणका कुनै दिर्घकालिन योजना स्थानिय सरकारले ल्याएका छैनन् । बर्षातको पानी त कम्तिमा सन्चय गर्न सकिन्थ्यो नी? तर स्थानिय सरकारका हाइड्यामका योजना सपनाजस्तै लाग्न थालेका छन् । पानी पर्ने दर पनि घटिरहनु र पानी संचिति गर्ने आधार पनि भत्कंदै जानुले के सुख्खा मरुभुमिकरणबाट बच्न सक्ला दाङ? जोगिएला पृथ्वी?