दाङ,जेठ १४ । लमही बसपार्क नजिक, मुल सडक छेउमा एउटा टेन्ट टाँगिएको छ । त्यो टेन्टमुनी दुई जना युवा अनशनमा बसेका छन ।
खालि सिलिन्डरको आडैमा बसेका युवाको छातिमा मुल्य वृद्धि फिर्ता गर्नबारे माग राखिएको प्ले कार्ड टाँसिएको छ ।
सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरेको मूल्य वृद्धीको विरोधमा स्वतन्त्र युवाहरुले विरोध स्वरुप अनशन बसेका छन ।
लमही नगरपालिका–५ निवासी डिल्लीराज खनाल र लमही नगरपालिका–४ निवासी बाबु रोका मगर दुई जना मुल्य वृद्धीको विरोधमा अनशन बसेका हुन् ।
‘न हामीले सडक चक्काजाम गर्छौं । न टायर बाल्छौं । सरकारले गरेको नराम्रो कामको विरोध आवाजबाट र अनशनबाट गर्न थालेका हौं’ अनशनरत युवा डिल्लीराज खनालले भने– ‘यो अनशन कहिले टुंगोमा पुग्छ थाहा छैन । सरकारले जहिले मूल्य वृद्धी फिर्ता गर्छ । त्यतिबेला सम्म हाम्रो आन्दोलन चलिरहन्छ ।’
सरकारको बिरोध गर्न सार्वजनिक सम्पत्तिको क्षति गर्ने, नारा जुलुस लगाउने, सडक चक्काजाम गर्ने, डायर बाल्ने जस्ता कार्य गर्ने परिपाटी बसेको छ । तर, लमहीका दुई युवाले सरकारको ध्यानाकर्षणको लागि सडकमा अनशन बसेर शान्तिपूर्ण आन्दोलन गरिरहेका हुन् ।