तुलसीपुर,जेठ ११ । दाङ तुलसीपुर उपमहानगरपालिकाको मेयरमा श्रीमान टीकाराम खड्का निर्वाचित भएपछि बिजयी उत्सवमा पुगेकी मेयर खड्काकी पत्नि झुमा खड्काले आफ्ना श्रीमानलाई जनताले दिएको मतको कदर गर्दै इमान पूर्वक काम गर्न सल्लाह दिएकी छन ।
श्रीमति झुमालाई देखाउँदै मेयर खड्काले झुमाकै मेहनत र परिश्रमले गर्दा नै आँफु राजनीतिमा सक्रिय हुन पाएको र त्यसैको प्रतिफल मेयरसम्म हुन सफल भएको बताएका थिए ।
‘मलाई पाल्ने झुमा भाउजु यही हो,’ मेयर खड्काले भनेका थिए ‘ उसैले दुःख मेहनत र संघर्ष गरेर आज यहाँसम्म मलाई सफल गराउने ब्यक्ति झुमा वली खड्का नै हुन ।’
झुमाले नै दुई छोरालाई पढाउनेदेखि आँफुलाई राजनीतिमा स्थापित गराउने ठूलो योगदान गरेको मेयर खड्काले श्रीमतिका अगाडि बताए ।
त्यो सुनेर संगै रहेकी श्रीमति झुमाले मेयरमा श्रीमान टीकारामले जित्दा धेरै खुसी भएको प्रतिक्रिया दिइन । जनताले अहिलेसम्मको टिकारामको लगानीलाई सम्मान गरेको उनले बताइन ।
‘ कतिपय जनताले पैंशा छैन, टीकारामले के चुनाब जित्ला भन्दै हुनुहुन्थ्यो,’ झुमाले अगाडि भनिन् ‘ पैंशाले होइन उहाँले इमान र जमानले भोट पाएर जित्नु भयो ।’ त्यस्तै उनले भोटको सही कदर गर्नपनि आग्रह गर्दै शुभकामना दिएकी थिइन ।
झुमा पेशाले शिक्षिका हुन । उनले तुलसीपुर – १८ कै एक प्राबिमा पढाउने गर्छिन । मेयरमा निर्वाचित खड्काले आफ्नो र परिवारको नाममा कतै एक टुक्रापनि जग्गा जमिन नरहेको भन्दै श्रीमति झुमाकै तलब बाट परिवारको खर्च ब्यबस्थापन हुने गरेको बताएका थिए ।