घोराही, वैशाख १५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रबक्ता कृष्णबहादुर महरा र कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले संविधानको रक्षा गर्न र प्रतिगमनलाई पराष्ट गर्न वर्तमान गठबन्धनलाई अझ वलियो बनाएर लैजानुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले विहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सभामुख महराले २०७२ सालको संविधान उल्टाउने प्रयास भएकोले अहिले नयाँ परिस्थिति आएको र यो लडाई प्रतिगमन र अग्रगमनवीच भएको बताए ।
नेता महराले केपी ओली २०७२ को संविधान निर्माणको समयमा नै गणतन्त्र र संघियताको पक्षमा नभएको आरोप लगाउँदै त्यो वेला कांग्रेस र माओवादीकै अडान र समझदारीका कारण संघीय गणतान्त्रिक संविधान बनेको दावी गरे ।
त्यस्तै काँग्रेस केन्द्रीय सदस्य गिरीले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई अटुट र वलियो बनाउनुपर्नेमा जोड दिए । नेता गिरीले शान्ति प्रक्रियामा आएपछि विगतका द्वन्द्वकालीन कुरा विर्सनुपर्ने बताए ।
कांग्रेसको घोषणापत्रप्रति एमाले अध्यक्षले गरेको टिप्पणीप्रति खेद व्यक्त गर्दै मानसिक उपचार गर्न सुझाव दिए । नेता गिरीले हिजो स्मार्ट सिटीका कुरा गर्नेहरु आज दुलोभित्र पसेको बताउदै उपमहानगरपालिकाको विद्युत लाइन काटिएको, चारलेन सडक अस्तव्यस्त पारिएको भन्दै रोष प्रकट गरे ।
कार्यक्रम प्रेस यूनियनका कार्यबहाक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको थियो भने सहजीकरण प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माले गरेका हुन ।