२०८१ चैत्र ३ गते आइतवार

न्याय क्षेत्रमा सुधार संगै प्रबिधिको प्रयोग आवश्यक छ ः महान्यायाधिवक्ता खाती

साढे ३ करोड बढी लागतमा बन्यो सरकारी वकिल कार्यालय

घोराही, फागुन १० । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्याय क्षेत्रमा देखिने सेवाग्राहीको गुनासो समाधानका लागि सरकारी वकिलहरुले कार्यक्षमता, योग्यता र क्षमतालाई वृद्धि गर्नुपर्ने बताएका छन् ।
मंगलवार घेराहीमा नवनिर्मित जिल्ला सरकारी वकिलको कार्यालय उद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले न्यायक्षेत्रमा देखिएको जनताको गुनासो हटाउनुपर्ने बताए ।

समस्या समाधानका लागि जनशक्तिको थप जरुरी रहेको उनले बताए । अपराध र मुद्दाको संख्या बढिरहेका बेला सरकारी वकिलहरुको संख्या अत्यन्तै कमी रहेको हुँदा न्याय सेवालाई प्रभावकारी बनाउन जनशक्तिको आवश्यकता रहेको उनको तर्क छ ।

जनशक्तिको अभावमा सरकारी वकिलहरुलाई अध्ययन,अनुसन्धान र अभियोजन तयार गर्नमै समस्या भैरहेको उनले बताए ।
अहिले देशभर २० हजार बढी प्राइभेट लयरहरु छन । १३ हजार बढी कानुन व्यवसायी रहेका छन् । महान्यायाधिवक्ता खातीले भने,‘यस्तो बेलामा १३ हजार बढी कानुन व्यवसायीसँग ५ सय सरकारी वकिलले बहस गर्नु परेको छ । यो जटिल परिस्थीतिको अन्त्य हुनुपर्छ ।’

अहिलेको जटिल परिस्थीति अन्त्यका लागि आफुले राज्यले के गर्न सक्छ त्यसका लागि पोलिसी लेवलमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारी वकिलहरुले उमेर हदबन्दी मात्रै नभएर संविधानले व्यवस्था गरेर अनुसार सेवा सुविधा समेत प्राप्त गर्न नसकेको गुनासो गरे ।
सरकारी वकिल क्षेत्रमा वृति विकाससँगै पीडितलाई न्याय सेवा प्रदान गर्न न्याय सेवामा आधुनिकतालाई अवलम्वन गर्नुपर्ने उनले जोड दिए । न्याय सेवालाई छिठो र छरितो बनाउनका लागि पूर्वाधारयुक्त, प्रविधिमैत्री सँगै कर्मचारीको दक्षता अभिवृद्धिमा ध्यानदिन आवश्यक रहेको बताए ।

देशमा विधिको शासन कायम गर्न समय काल परिवेश अनुसार सेवा प्रवाहलाई थप व्यवस्थित बनाउदै लैजान मातहतका निकायलाई निर्देशन दिए ।

पछिल्लो समयमा घटनाक्रम र अपराधका शैली अकल्पनीय र अस्वाभाविक रुपमा विकास हुँदै गएकाले घटनाको सबुद प्रमाण जुटाउदै अभियोजन अघि बढाउन थप गम्भीर बन्नु सरकारी वकिल कार्यालयको प्रमुख कार्यभार रहेको उनले बताए । तर, त्यसका लागि प्रविधिमा जोड दिन आग्रह गरे ।

नायव महान्यायाधिवक्ता विश्वराज कोईरालाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षित, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला बार एकाई दाङका अध्यक्ष शिवप्रसाद घिमिरेलगायतले मनतब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सरकारी वकिल कार्यालय दाङका प्रमुख टेकबहादुर थापा र सघन शहरी विकास तथा भवन डिभिजन कार्यालयका खड्गबहादुर चौधरीले भवन निर्माणको बारेमा जानकारी गराएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालयका तीन तले २५ कोठे भवन खड्का कृष्ण÷ तिरुपाते÷ बंगलामुखी जेभीले भ्याट बाहेक तीन करोड ५९ लाख ९४ हजार ४४ रुपैयामा निर्माण गरेको हो ।
नयाँ भवन निर्माणसँगै सरकारी वकिल कार्यालयलाई कार्यसम्पादनसँगै पीडितहरुलाई समेत कार्यालयमा सेवा लिदा सहजता भएको सरकारी वकिल कार्यालय दाङका प्रमुख टेकबहादुर थापाले बताएका थिए ।

कार्यक्रममा समयमै भवन निर्माण गर्ने खड्का कृष्ण÷ तिरुपाते÷ बंगलामुखी जेभीका निर्माण व्यवसायी प्रविणकुमार भण्डारीलाई सम्मान गरिएको थियो । उच्च अदालत तुलसीपुरका निमित्त सहन्यायाधिवक्ता राजेश्वर अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहन्यायाधिवक्ता शिवराज पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *