
दाङ, मंसिर २१ । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटनाका घाइते मध्य चार जनालाई मंगलबार हेलिकप्टर मार्फत काठमाडौं र कोहलपुर थप उपचारका लागि पठाइएको छ ।
मंगलबार दिउँसो दुई वटा हेलिकप्टर मार्फत तीन जनालाई कोहलपुर र एक जनालाई काठमाडौं थप उपचारका लागि पठाइएको छ ।
मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा सोमबार भएको दुर्घटनाका घाइते मध्य मुसिकोट नगरपालिका १ का ३५ बर्षीय विकाश भण्डारी, सोही ठाउँका ७६ बर्षीय कालिबहादुर खत्री र २२ बर्षीय दिनेश केसीलाई बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पठाइएको छ ।
सोही ठाँउका ४८ बर्षीय टेकबहादुर बस्नेतलाई भने थप उपचारका लागि काठमाडौं लगिएको छ । त्यस्तै दुर्घटनाका अन्य गम्भीर घाइतेहरु मुसिकोट नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष बिरबल केसी, सोही वडाका सशील थापा, नवराज खड्कालाई सोमबार राति नै एम्बुलेन्स बाहिरी जिल्ला रेफर गरेको थियो ।
जिल्लाको बाफीकोट गाउँपालिका २ पिपलबाट जन्ती लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ गइरहेको रा १ ख २१०९ बस बेलुका साढे सात बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जानकारी दिएको छ ।
गम्भीर घाइते १० मध्य मुसिकोट नगरपालिका १ घिमानेका ६७ बर्षीय बुधुराम खड्काको उपचारका लागि एम्बुलेन्स मार्फत कोहलपुर तर्फ लैजादै गर्दा बाटोमा हिजो मृत्यु भएको थियो ।