२०८२ चैत्र ३ गते मङ्गलवार

गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डौ,कात्तिक २४ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी निष्ठाको राजनीति गर्ने व्यक्तिका रुपमा परिचित थिए । जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।

१९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका उनको २०५४ साल असोज २ गते निधन भएको थियो । काठमाण्डौको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनी लगायत नेतालाई तत्कालीन सरकारले जेल हालेको थियो । २००७ साल अघि नै जेल फोडेर भागेका गणेशमान सिंहले भारतमा अर्का नेता वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकास गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले वीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे । २०१५ सालमा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

२०२५ सालमा वीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । २०३३ सालमा वीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहे ।

तत्कालीन पञ्चायती सरकारले वीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । वीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे ।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्त्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह त्यो आन्दोलनका सर्वोच्च कमाण्डर भइ सबैको प्रिय बनेका हुन । नेता सिंहलाई २०१७ साल पुस १ गतेको ‘कु’ पछि २०२५ सालसम्म वीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।

२०२५ सालमा जेलमुक्त भएपछि वीपीसँगै भारत निर्वासनमा गएका नेताहरुलाई २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रो पटक थुनियो । २०६१ साल भदौ २४ गते बन्दीगृहलाई वीपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *