
तुलसीपुर, कात्तिक १८ । लुम्बी प्रदेशका पूर्व मुख्य मन्त्री शंकर पोखरेलले माधवकुमार नेपाल र पुष्पकमल दाहालहरुसंग तत्लका पार्टी एकता संभव नरहेको बताएका छन् ।
बिहीबार बिहान प्रेस चौतारी नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले पुष्कमल दाहाल (प्रचण्ड) र नेकपा (समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले जनादेश बिपरित कम्युनिष्टको सरकार ढाल्न भुमिका खेलेको हुँदा उनीहरुलाई अब कम्युनिष्ट मान्न नसकिने बताए ।
प्रचण्ड र नेपालले आफ्नो नेताका रुपमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मानेको हुँदा उनीहरुलाई कम्युनिष्ट भनिरहनु गलत हुने नेता पोखरेलको आरोप थियो ।
नेकपा (समाजबादी) संगपनि तत्काल पार्टी एकता संभव नभएको नेता पोखरेलले बताए । माधव नेपाल, प्रचण्डहरुलाई नेकपा एमालेले एउटा जनादेशबाट उनीहरुको हैसियत महसुश गराएपछि भने त्यतिबेला एकताको संभावना आउन सक्ने नेता पोखरेलले तर्क गरे ।
यतिखेर अल्पमतले बहुमतलाई शासन गरि रहेको परिस्थिति रहेको भन्दै अहिलेको सरकार बिकाश बिरोधी भएको पोखरेलको आरोप थियो । केन्द्रमा केपी शर्मा ओली र प्रदेशमा आफुहरुले गर्न थालेका बिकास निर्माणका कामहरुमा अहिलेको सरकारले बजेट धमाधम कटौति गरिएको भन्दै नेता पोखरेलले रोष प्रकट गरे ।
त्यस्तै उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको मात्रै राजीनामा माग्नु गलत भएको बताए । नेता पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणासहित पाँच वटै न्यायाधीश मतियार रहेको भन्दै सबैले राजीनामा दिनुपर्ने दाबी गरे ।
सबैको निर्णयबाट फैसला आएको हुँदा प्रधानन्यायाधीशको मात्रै राजीनामा माग्नु गलत हुने उनले बताए । नेता पोखरेलले संसद, कार्यपालिका र न्यायपालिका माथिको जनविश्वास गुमी सकेको हुँदा यतिखेर सबै जनताको कठघरामा उभिन जरुरी रहेको बताए ।
जनादेशको बिकल्प नरहेको भन्दै नेता पोखरेलले जति सक्यो चाँडो निर्वाचन हुनु जरुरी रहेको बताए । तपाँईले पार्टीको आगामी १०औं महाधिबेशनमा महासचिवमा पदमा उम्मेदवारी दिने चर्चा छ नी ? भन्ने पत्रकारको प्रश्नमा – नेता पोखरेलले प्रतिनिधिहरु संग सल्लाह गरेर त्यसैका आधारमा उम्मेदवारी घोषणा गर्ने बताए ।
उनले उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने जानकारी दिए । त्यस्तै तुलसीपुर–घोराही फोर लेन सडक बिस्तारमा आफ्नो कुनै संलग्नता नरहेको र काम नगर्ने ठेकेदारलाई आफुले कहिलै संरक्षण पनि नगरेको उनले बताए ।