
दाङ, असोज ३० । रुकुम पश्चिममा युवाको आक्रमणमा परि एक प्रहरी सहायक निरिक्षकसहित सात प्रहरी घाइते भएका छन् ।
मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई युवाको समुहले ढंगामुढा गरेको थियो ।
युवाको ढुंगा प्रहारबाट प्रहरी सहायक निरिक्षक कोमलराज बोहरा,हवल्दार कालिबहादुर बोहरा र प्रहरी जवान लक्षमण गुरुङ घाइते भएका छन् ।
यी बाहेक अन्य अन्य चार जना प्रहरी जवान समान्ने घाइते भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक कपिलजंग शाहले जानकारी दिए ।
घाइते बोहरालाई शुक्रबार राति नै रुकुम पश्चिममा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिलक कलेजमा उपचारमा लगिएको थियो ।
त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारका लागि शनिबार प्लेन मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी प्रबक्ता शाहले बताए ।
युवाहरुको ढुँगा आक्रमणबाट बोहराको टाउकोमा गहिरो चोट लागेको छ । त्यस्तै तल पट्टीको तीन वटा दाँत झरेको तथा माथि पट्टीको एउटा दाँत हल्लिएको शाहले बताए ।
युवाको आक्रमणबाट प्रहरी हवल्दार कालिबहादुर बोहराको दाहिने हातको बुढी औलामा, ढाडमा र प्रहरी जवान लक्षमण गुरुङलाई टाउकोमा सामान्ने चोट लागेको शाहले जानकारी दिए ।
प्रहरीमाथि आक्रमण र ढुँगामुडा गरेको अभियोगमा ६ युवालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ५ का २० बर्षीय नरेश पुन मगर, वडा नं. १ खानेपानी टोलका १८ बर्षीय राजनप्रकाश गिरी, सोही ठाउँका २० बर्षीय आकाश परियार, रुकुम पूर्वी जिल्लाको भूमे गाउँपालिका घर भइ हाल रुकुम पश्चिको मुसिकोट नगरपालिका ५ बस्दै आएका २३ बर्षीय मर्कुश पुन मगर, मुसिकोट १० का २४ बर्षीय खडानन्द केसी र मुसिकोट १ का २५ बर्षीय हरिबहादुर घर्ती पक्राउ परेका छन् ।
घटनामा संलग्न मध्य धनिराम नेपाली र स्वयल बिक भने फरार रहेको जिल्ला प्रहरी प्रबक्ता शाहले जानकारी दिए ।
शुक्रबार राति ८ ः ४० बजेतिर मुसिकोट १ बागबजार नजिकै छेउमा पार्किङ गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकका सिसाहरु मदिराले मातेका युवाहरुले फुटाएका थिए ।
बियर खादै आएको युवाहरुको समुहले प्रहरीकै सामुन्ने बियरको बोतल प्रहार गरि ट्रकको अगाडिका सिसा फुटाइ दिएका थिए ।
त्यतिखेर उक्त स्थानमा दूई जना प्रहरी मात्रै डिउटीमा थिए ।
उनीहरुले जिल्लामा घटना बारे खबर गरे ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र स्थानीय अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोली ती युवाको पिछा गर्दै गएको थियो ।
सबै युवाहरु एउटा घरको कोठामा प्रबेश गरेपछि बल्ल प्रहरीले उनीहरुलाई नियन्त्रणको प्रयास गरेको थियो ।
ती युवालाई नियन्त्रणमा लिन खोज्दा बाहिर निस्किएर प्रहरीमाथि एकाएक ढुंगा मुढा गरेपछि मुठभेडको अवस्था सृजना भएको प्रहरीले जानकारी दिएको छ ।
फरार दूई जनाको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।