तुलसीपुर,असोज २४ । राज्यबाटै आफूहरूलाई अपहेलना गरिएको अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन ।
तुलसीपुरमा आयोजना गरिएको दशैं शुभकामना र अपाङ्गता अधिकार कार्यान्वयनमा सरोकारवाला निकायको भूमिका विषयक अन्तर संवाद कार्यक्रम बक्ताहरुले त्यस्तो गुनासो गरेका हुन ।
राष्ट्रिय अपाङ्ग महासघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोग एबम् नगरस्तरिय अपाङ्गता सञ्जाल,राप्ती बहिरा संघ,अपाङ्गता सेवा केन्द्र,अपाङ्ग समाज सुधार केन्द्र र अपाङ्ग सेवा केन्द्रको सह–आयोजनामा तुलसीपुरमा गरिएको विजया दशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका बक्ताहरुले त्यस्तो गुनासो गरेका हुन ।
राज्यले अपाङ्गता भएका व्यक्तिलाई दिने भनेको सेवा र सहुलियत कुनै पक्षबाट पनि कार्यान्वयन नभएको दृष्टिबिहिन रामबहादुर योगीले बताए ।
‘ अपाङ्गता भएका व्यक्तिहरूलाई प्रकृतिले नै ठगेको हुन्छ,’ उनले भने– ‘तर अझ बढी हामी दृष्टिबिहिनहरुलाई राज्यले ठगेको छ ।’
आँफूहरु जस्ता ब्यक्तिलाई पढन, लेख्न लोकसेवा आयोगमा लड्न पाउने अधिकार ब्यबहारमा कार्यान्वयन नभएको उनले बताए ।
‘हामीलाई रोडमा हिँड्दा होस वा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा निकै समस्या छ,’ उनले भने ‘ हाम्रो लागि सीट छुट्याएको भएपनि हामीलाई सकभर यातायात ब्यबसायीले आफ्नो साधनमा चढाउन मान्दैनन् । बाहाना बनाउने गर्छन ।’
उनले सवारीसाधनमा दिने भनिएको छुटदेखि स्थानीय तहले दिने सेवा सुविधासम्ममा अन्याय गर्दै आएको बताए ।
त्यस्तै दिवागर पाण्डेले अपाङगता भएका व्यक्तिहरुलाई जहां गयो त्यही अपहेलित गर्ने ब्यबहार सच्चिन नसकेको बताए ।
उनले अपाङ्गता भएका ब्यक्तिहरुको जिविको पार्जनका लागि स्थानीय तहले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिदिनुपर्ने बताए ।
राष्ट्रिय अपाङ्ग महासघ दाङका अध्यक्ष देबा डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुरका मेयर घनश्याम पाण्डेले उपमहानगरपालिकाले नागरिकका कामहरुलाई समावेशी ढंगले कामहरू अघि बढाएको दाबी गरे ।
उनले स्थानिय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै यसका लागि अपागंता व्यक्तीहरुको सघं संगठनहरुले कार्ययोजना बनाएर उपमहानगरपालिकामा ल्याउनुपर्ने तर्क गरे ।
सो अवसरमा तुलसीपुर वडा नं ५ की वडा सदस्य सावित्रा गुरुङ, कांग्रेस तुलसीपुर नगर कोषाध्यक्ष प्रितम श्रेष्ठ, उपमहानगरपालिकाकी महिला बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठ, अधिकारकर्मी सुष्मा गिरी, अपाङ्ग सेवा केन्द्रका अध्यक्ष देवा शर्मा,जेष्ठ नागरिक समाजका खुमानन्द अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नगर स्तरीय अपाङ्गता सञ्जालका अध्यक्ष दोलख खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सञ्जालका सचिव सुरेश विकले गरेका थिए ।